• १२ मंसिर २०८१, बुधबार

अझै पनि वस्तु साटफेरबाटै कारोबार

blog

जयमान बुढामगर

रुकुमपूर्व, पुस १० गते । मुद्रा प्रचलनमा आउनुअघिसम्म वस्तु विनिमय हुन्थ्यो । आफूले उत्पादन गरेको वस्तु दिएर आफूलाई चाहिने सामान ल्याउने वस्तु साटफेरले त्यसबेला जीवनयापन सहज बनाएको थियो । 

अहिले वस्तु विनिमय नै गर्नुपर्ने बाध्यता छैन । आफूसँग भएको वस्तु रकम लिएर बेच्न सकिन्छ र रकम दिएर आवश्यक वस्तु किन्न सकिन्छ तर अझै पनि केही स्थानमा वस्तु साटफेर गर्नु नै सहज हुने गरेको छ । 

गाउँघरमा चल्दै आएको तथा धान्दै आएको मेलापात, आपसी सद्भाव, ऐँचोपैँचो, अर्मपर्म, साटफेरलगायतका चलन कायम छन् । यीमध्ये उत्पादित कृषिउपज साटफेर अर्थात् सट्टापट्टा चलन धेरै छ । वस्तु साटफेर भन्नाले जोसँग जे छ, त्यसैले आफूलाई चाहिएको अर्काे सामग्री ल्याउने । विशेष गरी कृषि उत्पादन र खाद्य सामग्रीमा अहिले पनि पैँचो र साटफेर काम गरिँदै आएको छ । यसलाई गाउँघरमा मात्र नभई पसल, व्यवसाय र सहकारी संस्थाले पनि गर्दै आएका छन् ।

रुकुमपूर्वको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकामा यस्तो चलन बढी रहेको छ । यो चलनले गाउँघरका बासिन्दालाई दैनिकी चलाउन सजिलो भएको भूमे–२, गाबाङका दिलमान बुढामगरले बताउनुभयो । “विशेष गरी चामल, नुन र तेल खरिदमा हामीलाई सजिलो भएको छ । पसल र सहकारी संस्थामा हाम्रो उत्पादन दिएर नगद पनि ल्याउन सक्छौँ, नगदको सट्टा वस्तु नै पनि लिन सक्छौँ,” बुढामगरले भन्नुभयो । 

जुुन ठाउँमा जे चलन छ, त्यहाँ चलनअनुसार चल्नुपर्छ भनेजस्तै पछिल्लो समय स्थानीय सहकारी संस्था पनि यसमा समावेश भएका छन् । भूमे–२, खाबाङ बगरमा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पनि यो चलनलाई आत्मसात् गरेको छ । “सहकारीले यहाँको चलनभन्दा फरक तरिकाले कारोबार गर्नुभएन । हामीले पनि वस्तु विनिमय अर्थात् सट्टापट्टामै कारोबार गरिरहेका छौँ,” सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले भन्नुभयो ।

मारिङ सहकारीले सहकारी बजार सञ्चालनसमेत गरेको छ । उक्त सहकारी बजारमार्फत वस्तु साटफेर गरिराखेको व्यवस्थापक अधिकारीले जानकारी दिनुभयो । मारिङ सहकारीले वस्तु साटफेर मात्र नभई नगदमा पनि वस्तु खरिद बिक्री गर्न चाहनेलाई सोहीअनुसार सामान दिइरहेको अधिकारीको भनाइ रहेको छ । 

सट्टापट्टाको दरभाउसमेत तोकिएको छ । तोकिएको दरभाउअनुसार वस्तु साटफेर भइरहेको अधिकारीले जानकारी दिनुभयो । यसबाट किसानलाई बजार खोज्नु नपर्ने अवस्था आएको छ । यी बजारभन्दा टाढाका बस्तीसम्म सडक पुगेको गाउँमा सहकारीले कृषि एम्बुलेन्समार्फत किसानको उत्पादन ल्याउने गरेको छ ।