• ११ मंसिर २०८१, मङ्गलबार

जेसिबी दुर्घटना : मृतकका परिवारले पाए राहत

blog

गत मङ्सिर २४ मा कर्णाली नदीमा जेसिबी दुर्घटनामा बेपत्ता भएकाको गोताखोरद्वारा खोजी गर्दै प्रहरी । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, पुस ७ गते ।
कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका– १ अँधेरीखोलामा मङ्सिर २४ गते भएको जेसिबी दुर्घटनाका परी मृत्यु भएका परिवारले राहत पाएका छन् । जिल्ला प्रशासन कार्यालय कालीकोटमा भएको छलफलपछि मृतकका परिवारले किरिया खर्च बापत ५० हजारसहित ११ लाख राहत दिने सहमति भएको थियो । तर जिल्ला प्रशासन कार्यालय कालीकोटले नेपाल सरकारको नियम अनुसार मृतकको परिवारलाई राहत दिने सहमति भएको जनाएको छ ।

सरकारी नियम अनुसार मृतकका प्रति परिवारले पाँच लाख पाउनेछन् भने बाँकी क्षतिपूर्तिका विषयमा ठेकेदार कम्पनीसँगको आन्तरिक सहमतिमा हुने बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले नियम अनुसार राहत पाउने सहमति भएको र केही रकम पनि प्राप्त गरिसकेको बताउनुभयो ।

उता मृतकका परिवारले आफूहरुको कुरा प्रशासनले सुनेर माग अनुसारको राहत नभए पनि प्रति परिवार ११ लाखका दरले राहत दिने ठेकेदार कम्पनीसँग सहमति भएको बताएका छन् । शव भेटिएका परिवारले किरिया खर्च पनि पाएका छन् भने बेपत्ता भएको एक जनाका परिवारले राहत वापत ११ लाख मात्र पाएका छन् भने किरिया खर्च पाएका छैनन् ।

मृतक युवराज बुढाका भिनाजु चित्र थापाले किरिया खर्च वापत ५० हजार र अन्य क्षतिपूर्ति वापत ११ लाख दिने सहमति अनुसार विभिन्न मितिको चेक बुझेको बताउनुभयो । कालीकोटका प्रहरी प्रमुख जयेश्वर रिमालले सवारी धनीले अहिले क्षतिपूर्ति वापतको राहत रकम भुक्तानी गर्ने र पछि बीमा भएको खण्डमा सवारी धनीले बीमा कम्पनीबाट असुल गर्ने गरी सहमति भएर समस्याको समाधान गरेको बताउनुभयो ।

उहाँले ठेकेदार कम्पनी, सवारी धनीसँग के सहमति हुन्छ त्यो कुरा आफूलाई खासै चासो नहुने भन्दै कानुन अनुसार पीडित परिवारले पाँच लाख राहत उपलब्ध गराउने कुरामा आफूहरुले सहजीकरण गरेको सुनाउनुभयो ।

मान्छेको मूल्य त अथाह हुन्छ । रुपियाँले केही हुँदैन, तर सरकारले कानुन बनाएकाले कानुन अनुसारको राहत उपलब्ध गराउनु राज्यको दायित्व भएको बताउनुभयो । गत मङ्सिर २४ गते फुकोट कर्णाली हाइड्राेपावरको सुरुङ हेर्न गएका बेला प्रदेश ३–०१–००३ (क) ६७७४ नम्वरको जेसिबी दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् । तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जनाको चार दिनपछि सशस्त्र प्रहरीको गोताखोरले नदीबाट शव निकालेको थियो । दुर्घटनामा परी अन्य दुई जना घाइते भएका थिए । शनिबारका दिन जेसिबी चालकसहित आठ जना हाइड्राेपावरको सुरुङमा पानी जमेको छ छैन भनी हेर्न आएका थिए ।