• २९ वैशाख २०८२, सोमबार

निर्माणाधीन बुद्ध मूर्तिमा मन्त्र प्रतिस्थापन

blog

मनहरी गाउँपालिका –८ स्थित टासी फुन्चोक गुम्बा निर्माणाधीन अवस्थामा । तस्बिरः शिवकुमार रिजाल ‘काशी’

शिवकुमार रिजाल ‘काशी’

मनहरी हेटौँडा, वैशाख २९ गते । मकवानपुरको मनहरी गाउँपालिका –८ स्थित टासी फुन्चोक गुम्बा परिसरमा निर्माणाधीन ६५ फिट अग्लो बुद्धको मूर्तिमा सुङ (मन्त्र) प्रतिस्थापन गरिएको छ ।  

२५६९ औँ बुद्ध जयन्तीका अबसरमा बुद्ध मूर्तिमा बौद्ध विधिअनुसार सुङ भर्ने कार्य गरिएको हो । मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीसहित बौद्ध धर्म गुरुहरुको उपस्थितिमा सुङ भर्ने कार्य सम्पन्न गरिएको हो । 

झण्डै २ करोड रुपियाँ लगानीमा निर्माणाधीन बुद्धको मूर्ति र गुम्बा परिसर पार्क निर्माणले बौद्ध धर्मावलम्वी तथा आन्तरिक पर्यटनका लागि नयाँ गन्तब्य हुने अपेक्षा गरिएको छ । 

बुद्धको मूर्तिमा सुङ भर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले जतिसक्दो छिटो बुद्ध मूर्ति तथा पार्क निर्माणको कामलाई सफल पार्न स्थानीय, प्रदेश र संघीय सरकार समेतको सहभागिताका लागि अनुरोध भइरहेको बताउनुभयो । 

गत ४ बर्षअघि टासी फुन्छोक गुम्बा परिसरमा सरकारी तथा व्यक्तिगत सहयोगमा समेत मूर्ति निर्माणको काम थालिएको थियो । चालु आर्थिक बर्षमा पनि कूल ४२ लाख ६९ हजार १०२ रुपियाँ लगानी गरी मूर्तिको काम भइरहेको मनहरी गाउँपालिका – ८ वडाध्यक्ष नारायण उप्रेतीले बताउनुभयो ।

बुद्ध मूर्तिमा सुङ भर्ने कार्यअघि मनहरी गाउँपालिका –७ स्थित बुद्धशान्ति हरितपार्कबाट निकालिएको ¥याली मनहरी –८ टासी फुन्चोक गुम्बामा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।