• ११ मंसिर २०८१, मङ्गलबार

लोप हुने अवस्थामा रैथाने बाली काउँनो

blog

लोपहुन लागेको स्थानीय रैथाने बाली काउँनो । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, पुस ७ गते । जिल्लाका स्थानीय भेकमा स्थानीय रैथाने बाली उत्पादनमा बिस्तारै कमी हुन थालेको छ । गाउँमा सडक सञ्जाल बिस्तार भएसँगै सिधै बजारको चामल गाउँ पुग्न थालेपछि स्थानीय उत्पादनमा कमी देखिन थालेको हो ।

मुगुमा सडक सञ्जालमा जोडिनुभन्दा अघि जिल्लाको छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका, सोरु गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकाको–९ का समुदायले सहजै  चामल पाउने अवस्था थिएन । 

गाउँमा खच्चरले चामल ढुवानी गर्दा प्रतिकिलो एकसय ४० रुपियाँसम्म महँगो मूल्य तिरेर चामल किन्न नसक्दा गाउँमा चिनो र काउँनोको भात खाने गरेका स्थानीय अहिले आयातित चामलको भर पर्न थालेको स्थानीय हस्तबहादुर मल्लले बताउनुभयो । खाद्यान्न संस्थानबाट ल्याएको चामल जोगाएर दशैं–तिहारजस्ता पर्वमा मात्र सेतो भात खानेगरेको उहाँले स्मरण गर्नुभयो ।

मुगुमा सडक सञ्जाल जोडिनुभन्दा अघि जिल्लाको खाद्यबाट उपलब्ध हुने चामल खरिदका लागि पनि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा मासिक पाँच देखि १० किलोसम्म मात्र किन्न पाइने व्यवस्था थियो । खाद्यमा पर्याप्त मात्रामा चामल नहुँदा स्थानीयले भात खानका लागि काउँनो र चिनो उत्पादन गर्नेगरेका थिए ।

छायाँनाथ रारा नगरपालिका १० का कालीबहादुर बुढाले जिल्लामा सडक जोडिएसँगै बजारमा चामल पाउन थालेपछि स्थानीय उत्पादन कम हुन थालेको बताउनुभयो । उत्पादन कम भएसँगै पछिल्लो समय रैथाने बाली लोपोन्मुख हुँदैगएको छ ।

यता, कृषि विकास कार्यालयले रैथाने बाली संरक्षण र बजार प्रवर्धनमा प्रदेश सरकारको आर्थिक अनुदानमा काम गर्दैआएको भए पनि वास्तविकता कृषकसम्म पुग्न नसक्दा रैथाने बाली प्रभावकारी हुन नसकेको स्थानीय कलबहादुर बोहराले गुनासो गर्नुभयो ।

कृषि विकास कार्यालयका निमित्त प्रमुख हिक्मतराज गिरीले रैथाने बाली हेर्ने कर्मचारी नभएकाले यसमा समस्या देखिएको बताउनुभयो । रैथाने बाली संरक्षणबारे वार्षिक चार लाखदेखि पाँच लाखसम्म मन्त्रालयबाट अनुदान आउनेगरेको उहाँको भनाइ छ । 

जिल्ला नागरिक समाजका संयोजक रूपबहादुर मल्लले भूमि तथा कृषि सहकारी मन्त्रालयले २०७६ मा कृषकको हकहितका लागि कार्यविधि जारी गरिए पनि सम्बन्धित निकायले  बजारीकरण, व्यवसायीकरण र दिगो विकासमा ध्यान नदिएको गुनासो गर्नुभयो ।