• १२ मंसिर २०८१, बुधबार

रुकुमपूर्वमा पहिलो पटक बेमौसमी मकै उत्पादन

blog

फाइल तस्बिर

जयमान बुढा मगर

रुकुमपूर्व, पुस ७ गते । रुकुमपूर्वक हिमाली जिल्ला जहाँ वर्षमा दुई बाली मात्र उत्पादन हुन्छ । हिउँदे र बर्खे बाली । हिउँदमा गहुँ, जौ र बर्खे बालीमा मकै, आलुलाई यस जिल्लामा मुख्य बालीका रूपमा लिइन्छ । 

जिल्लाको माथिल्लो भेगमा त वर्षमा एक बाली नै उत्पादन हुनेगरेको छ । यस जिल्लामा पुर्खाले हिउँदे र बर्खे बालीको मात्र खेतीपाती गर्दै आउनुभएको थियो । अहिले पनि सो खेतीपाती नै गर्ने प्रणाली छ । 

जिल्लाको सिस्ने गाउँपालिका–६ ढकालबाराका एक कृषकले बर्खे बाली मकै, हिउँदयाममै राम्रो उत्पादन गर्नुभएको छ । सिस्ने –६ ढकालबाराका निशा शाही हमालले जिल्लामै पहिलो पटक तीन सय ५० वर्गमिटर क्षेत्रफल जग्गामा बेमौसमी मकै उत्पादन गर्नुभएको छ । बेमौसमी मकै उत्पादनका लागि जिल्लाको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको प्राविधिक सहयोग छ ।  

गत भदौको पहिलो सातामा रोपिएको मकै हाल पोलेर खाने बेला भएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख पीताम्बर बस्नेतले बताउनुभयो । “मौसमी खेतीपातीलाई बेमौसमी खेतीपाती गर्दा मेहनत धेरै चाहिन्छ” प्रमुख बस्नेतले भन्नुभयो –“बेमौसमी बाली उत्पादनका लागि कृषकले कृषि प्राविधिकको सल्लाह तथा कृषि प्रविधिमा ध्यान दिनुपर्छ ।” 

जसअनुसार रुकुमपूर्वकमा पहिलो पटक कार्यालयको प्राविधिक सहयोगमा कृषक शाहीले बेमौसमी मकै उत्पादन गर्न सफल हुनुभएको बस्नेतको भनाइ छ । “परीक्षणका लागि पहिलो पटक एक ठाउँमा मात्र बेमौसमी मकै लगाइएको हो” बस्नेतले भन्नुभयो, “उक्त परीक्षण सफल भएकाले अब जिल्लामा मौसमी खेतीपाती मात्र नभई कृषक बेमौसमी खेतीपातीमा आकर्षक हुने देखिएको छ ।”

हाल शाहीले लगाउनुभएको बेमौसमी मकै हेर्न दैनिक मान्छे यहाँ आउने गरेका छन् । “पहिले दाङ, काठमाडौंतिर जाँदा पुस, माघमा हरियो पोलेको मकै देख्दा कस्तो अचम्म लाग्थ्यो” सिस्ने –६ का वसन्तकुमार श्रेष्ठले भन्नुभयो, “तर आज जिल्लामै पहिलो पटक पुस महिनामै रुकुमकोटमा हरियो पोलेको मकै खान पाइयो ।” 

कृषक शाही र कृषि कार्यालयलाई धन्यवाद दिँदै उहाँले भन्नुभयो, “अब बिस्तारै तीन वटै  पालिकामा बेमौसमी खेतीपातीको आकर्षण पनि बढ्नेछ ।”