• २३ असार २०८१, आइतबार

नेलेका आगलागी पीडितलाई प्रतिघर पचास हजार रूपियाँ दिने

blog

सोलुखुम्बुको नेले बजारमा भएको आगलागी । तस्बिर – सन्तोष राउत

सन्तोष राउत

सोलुखुम्बु, पुस ७ गते । सोलुखुम्बुको नेले बजारमा भएको आगलागीको पीडित परिवारलाई थुलुङ दूधकोशी गाउँपालिकाले राहत प्रदान गर्ने भएको छ ।

आगलागीबाट घर पूर्ण क्षति भएकालाई प्रतिपरिवार ५० हजार रुपियाँ नगद राहत प्रदान गर्ने अध्यक्षस्तरीय निर्णय गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आंशिक क्षति हुने प्रति परिवारलाई २५ हजार रुपियाँ दिइनेछ ।

मङ्गलबार साँझ वडा नं. १ को साप्ताहिक हाट नेले बजारमा आगलागी हुँदा चार घर पूर्णरुपमा नष्ट भएका थिए । दुई घर आंशिक रुपमा नष्ट भएका छन् भने अन्य विभिन्न पसलमा समेत क्षति हुँदा करोडौंको नोक्सान भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ । उक्त घटनामा थप क्षति हुन नदिन खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सोलुदूधकुण्ड नगरपालिका प्रहरी, थुलुङ दूधकोशी गाउँप्रहरी, सोलुदूधकुण्ड नगरपालिका, रेडक्रसकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दालगायत सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, नेपाली कांग्रेस प्रदेश सभा ‘ख’ का सभापति कर्मा शेर्पाले नेलेका अग्निपीडित परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ । सभापति शेर्पाले आगलागीबाट घरसहित सम्पूर्ण धनमाल गुमाएका चार परिवारलाई घटनास्थल पुगेर प्रतिपरिवार नगद १० हजार रुपियाँका दरले सहयोग गर्नुभएको हो ।

सहयोग प्राप्त गर्ने अग्निपीडितहरुमा थुलुङ दूधकोशी गाउँपालिका १ नेलेका बुद्धिबहादुर बस्नेत, कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेत छन् । आफूले देश तथा विदेशमा रहेकाहरुसँग सहयोगको पहल गर्ने उहाँको भनाइ छ ।