• ५ जेठ २०८१, शनिबार

वाणिज्य बैङ्कको प्राथमिकतामा नगद लाभांश

blog

काठमाडौँ, पुस ७ गते । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २५ वाणिज्य बैङ्कमध्ये १८ वटाले सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । आव २०७८/७९ को मुनाफाबाट वितरण हुने यो लाभांश अधिकांश बैङ्कले यस पटक नगदमै दिने भएका छन् । 

लाभांश वितरणको प्रस्ताव गर्ने वाणिज्य बैङ्कमध्ये अहिलेसम्म सर्वाधिक लाभांश दिनेमा नबिल बैङ्क रहेको छ भने सबैभन्दा कम दिनेमा सेन्चुरी बैङ्क रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, सिटिजन्स बैङ्क, कुमारी बैङ्क, एनएमबी बैङ्कले त नगद लाभांश मात्रै प्रस्ताव गरेका छन् । 

सात वाणिज्य बैङ्कले भने लाभांश घोषणा गर्न बाँकी छ । लाभांश घोषणा गर्न बाँकी रहेका बैङ्कमा माछापुच्छे«, एनआईसी एसिया, कृषि विकास, हिमालयन, लक्ष्मी, सनराइज र सिभिल बैङ्क रहेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क भने नेप्सेमा सूचीकृत छैन ।

ग्लोबल आईएमई, बैङ्क अफ काठमाण्डू, सिटिजन्स बैङ्क, एनसीसी, कुमारी बैङ्क र सानिमा बैङ्कले साधारण सभा सम्पन्न गरेरै लाभांश वितरणको प्रस्ताव पनि पारित गरिसकेका छन् ।

सर्वाधिक लाभांश दिनेमा नबिल

आव २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई सर्वाधिक लाभांश दिनेमा नबिल बैङ्क रहेको छ । गत आइतबार बसेको बैङ्क सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैङ्कले १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

बैङ्कको यो प्रस्ताव नेपाल राष्ट्र बैङ्कले स्वीकृत गरेर बैङ्कको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । यो बैङ्कले अघिल्लो आर्थिक वर्ष ३८ प्रतिशत लाभांश दिएको थियो । 

सेन्चुरीको कम लाभांश

वाणिज्य बैङ्कमध्येको कान्छो सेन्चुरी कमर्सियल बैङ्कले आफ्ना सेयरधनीलाई सबैभन्दा कम ५ प्रतिशत मात्रै लाभांश दिने भएको छ ।

बैङ्क सञ्चालक समितिको ३७२औँ बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पास गरेको हो । बैङ्कको २०७९ असार मसान्तमा कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय बैङ्कले गरेको छ ।

घोषित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति भई बैङ्कको आगामी १२औँ वार्षिक साधारण सभाबाट पारित भएपश्चात् वितरण हुनेछ । सेन्चुरी बैङ्क र प्रभु बैङ्क लिमिटेडबीच मर्जरसम्बन्धी सम्झौता भएर आगामी पुस मसान्तभित्रै एकीकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडि बढिसकेको छ ।

नेपाल बैङ्कको नगद धेरै

सरकारी स्वामित्वको नेपाल बैङ्कले आव २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयरभन्दा नगद नै धेरै दिन लागेको छ । बैङ्कले गत आर्थिक वर्षको नाफाबाट २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद (करसहित) गरी १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

नेपाल बैङ्कको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैङ्कले स्वीकृत गर्न बाँकी छ भने बैङ्कको आगामी वार्षिक साधारण सभाले पनि पारित गर्नुपर्ने हुन्छ । 

ग्लोबलको १३.६ र बीओकेको २०.९५ प्रतिशत

ग्लोबल आईएमई बैङ्कले आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरिसकेको छ । बैङ्कको मङ्सिर २३ गते बसेको १६औँ वार्षिक साधारण सभाले आव २०७८÷७९ को कुल मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।

यस्तै ग्लोबल आईएमई बैङ्कसँग मर्जर हुन लागेको बैङ्क अफ काठमाण्डूले आफ्ना सेयरधनीलाई २०.९५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । बैङ्कको मङ्सिर २३ गते सम्पन्न २८औँ वार्षिक साधारण सभाले आव २०७८÷७९ सम्मको सञ्चित मुनाफाबाट २०७९ आषाढ मसान्तसम्ममा बैङ्कको कायम भएको चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।

अधिकांशको नगद मात्रै

प्राइम कमर्सियल बैङ्क लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैङ्कले हाल कायम चुक्ता पुँजीको ८.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो, जसमध्ये ४ प्रतिशत बोनस सेयर रहेको छ भने ४.९५ प्रतिशत नगद लाभांश रहेको छ । सिद्धार्थ बैङ्कले आव २०७८÷७९ वर्षको मुनाफाबाट १३.१६ लाभांश दिने भएको छ । बैङ्क सञ्चालक समितिको बैठकले १२.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ नगद गरी कुल १३.१६ लाभांश दिने निर्णय गरेको हो ।

एभरेस्ट बैङ्कले १३ प्रतिशत बोनस र ७.६८ प्रतिशत नगद गरी २०.६८ प्रतिशत लाभांश, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले नगद लाभांश मात्रै १६.५१ प्रतिशत, सिद्धार्थ बैङ्कले १२.५० प्रतिशत बोनस र ०.६६ प्रतिशत नगद गरी १३.१६ प्रतिशत, कुमारी बैङ्कले १२.५० प्रतिशत नगद लाभांश मात्रै, एनसीसी बैङ्कले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद गरी ११ प्रतिशत लाभांश, सानिमा बैङ्कले १० प्रतिशत बोनस र ०.९८ प्रतिशत नगद गरी १०.९८ प्रतिशत लाभांश, नेपाल एसबीआई बैङ्कले ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश, सिटिजन्स बैङ्कले ९ प्रतिशत नगद लाभांश मात्र दिने भएको छ ।

यस्तै एनएमबी बैङ्कले पनि ८.२५ प्रतिशत नगद लाभांश मात्र, प्रभु बैङ्कले ६.५० प्रतिशत बोनस र १.५० प्रतिशत नगद गरी ८ प्रतिशत लाभांश, मेगा बैङ्कले ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद गरी ७.८३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।