• २४ असार २०८१, सोमबार

होटेल छन् ग्राहक छैनन्

blog

अधिकांश होटेल रहेको चरिकोट बजार । तस्बिर: बाबुराम शर्मा

बाबुराम शर्मा 

चरिकोट, पुस ७ गते । धार्मिक पर्यटन गन्तव्यसमेत रहेको दोलखाको सदरमुकाम चरीकोट बजारका हाेटेल र चिया पसलमा केही चहलपहल बढे पनि पर्यटक आगमन शून्य जस्तै भएपछि यति बेला सुनसान बनेको छ । 

गत दुई वर्ष लगातारको कोराेनाले थलिएको चरिकोट अहिले पनि पुरानै लयमा आउन नसकेपछि सुनसान बनेको बताइएको छ । राजधानी काठमाडौँबाट १३३ किलोमिटर दूरीमा रहेको सदरमुकाम चरिकोट विशेष गरी दोलखा भीमेश्वर, कालिन्चोक, चरिघ्याङ गुम्बा, सैलुङ, जिरी, हनुमन्तेडाँडा लगायत मुख्य धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण मानिन्छ । 

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई जल पर्यटनका रूपमा लिएर केही वर्ष अघिसम्म ती गन्तव्य घुम्न आउने पर्यटकको घुइँचो यहाँ थेगिनसक्नु हुन्थ्यो । यही घुइँचोले सदरमुकाम चरिकोटसहित आसपासमा थुप्रै सुविधा सम्पन्न होटेल निर्माण भए । अझ यहाँ बनेका अधिकांश नयाँ घरलाई होटेलका रूपमा पनि प्रयोग गरियो । विशेष गरेर आन्तरिक पर्यटकहरूको रोजाइमा पर्ने दोलखामा पछिल्लो समय पर्यटक चहलपहल घटेको छ । अहिले पर्यटक हत्तपत्त चरिकोट बस्न नरुचाउने गरेको पाइएको छ । 

सुविधासम्पन्न होटेलको महसुस गरी चरिकोटमा एक वर्षअघि दुई तारे होटेल एम्ब्रोसियाका सञ्चालनमा पनि आयो । सञ्चालक दिनेश बस्नेतले गुनासो गर्दै भन्नुभयो, सुविधा सम्पन्न होटेल हुँदाहुँदै पर्यटकको चरिकोट बसाइ पातलो हुँदै गएको छ । कतिपय पर्यटक काठमाडौँबाट बिहानै दोलखा भीमेश्वर मन्दिर दर्शन गरी बेलुका फर्कने र कालिन्चोक मन्दिर जाने उतै बस्ने गरेका छन् ।

पछिल्लो समय अरु होटेलभन्दा सुविधा सम्पन्न होटेल खोज्नेको रोजाइमा बस्नेतको होटेल एम्ब्रोसिया पर्न थालेको छ यहाँ पहिलो पटक दुईचारे स्तरको होटेल सञ्चालनमा आएपछि पनि केही पर्यटक बास बस्न थालेको व्यवसायीहरूको भनाइ छ ।

होटेल सङ्गम प्यालेसका सञ्चालक सुदर्शन कार्कीले पहिलाको दाँजोमा होटेलहरू सुस्ताएको बताउनुभयो । उहाँले भन्नुभयो, पर्यटक आगमन मात्र नभई मुख्य त आर्थिक मन्दी हो । प्रचारप्रसारको कमी र सडकको दुरवस्थाले पनि असर पारेको छ । विभिन्न सङ्घसंस्थाले गर्ने कार्यक्रम पनि घटेका छन् । विशेषगरी स्थानीय तह केन्द्रित भएपछि सङ्घसंस्था पनि सदरमुकाम आउन छाडेका छन् । 

होटेल सङ्घ दोलखाका अध्यक्ष रञ्जित पाठकले कोभिड १९ महामारीको प्रभाव दोलखाका होटेलमा अहिले पनि परिरहेको जानकारी दिँदै भन्नुभयो, आर्थिक मन्दी मुख्य कारक बनेको छ । हिलाम्मे र धुलोले पनि आयातमा असर परेको छ । 

उहाँले भन्नुभयो, दोलखामा १६० भन्दा बढी होटेलमध्ये सङ्घमा १०५  होटेल दर्ता भएका छन् ।  एउटा सामान्य होटेलमा समेत ४५ लाख रुपियाँभन्दा बढी लगानी भएको छ भने समग्र जग्गा र होटेलसहित करिब एक अर्ब रुपियाँभन्दा बढी लगानी भएको छ । 

लगानीका हिसाबले होटेलमा ठूलो रकम खर्च भए पनि पर्यटक आगमन कम हुँदा जोखिम बढ्दै गएको छ । होटेल सङ्घका अध्यक्ष पाठकले पछिल्लो समय चरिकोटका केही होटेल बन्दसमेत भएका अध्यक्ष पाठकले बताउनुभयो । 

सञ्चालनमा रहेका होटेलमा पनि कर्मचारी अभाव छ । भएका कर्मचारी पनि अन्य क्षेत्रमा गइसकेका कारण हाल सञ्चालनमा रहेका होटेल घरका परिवारले नै चलाइरहेको एक व्यवसायीले जानकारी दिए ।

होटेलमा कर्मचारी अभाव मात्र होइन, बैङ्कले समेत ब्याज र किस्तामा कडाइ गर्न थालेको छ । यही अवस्था रहँदै गए अबको केही महिनाभित्र यहाँका धेरै होटेलमा ताला लाग्न सक्ने अवस्था आउने अर्का एक व्यवसायीले बताए । 

बैङ्कहरूले पनि सुरु–सुरुमा सस्तो ब्याजमा अन्धाधुन्ध घरजग्गामा लगानी बढाएको र अहिले ब्याज बढाएपछि व्यवसायी थप मर्कामा परेका छन् । ब्याज र किस्ता तिर्न सक्ने अवस्था अहिले नरहेकाले धेरै होटेल लिलामीमा जान सक्ने बताइन्छ ।