• २४ असार २०८१, सोमबार

तनहुँ जलविद्युत प्रसारण लाइनका लागि २८ टावर तयार

blog

अमरराज नहर्की

तनहुँ, पुस ६ गते । निर्माणाधीन यहाँस्थित तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि २८ वटा टावर तयार भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत सो सङ्ख्यामा टावर र ४७ वटा फाउण्डेशन (जग हाल्ने) कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।

प्रसारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँतर्फको भूभाग प्राप्ति गर्न मुआब्जा वितरण कार्य अन्तिम चरणमा पुगेको छ । चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको आयोजनाका वरिष्ठ सहायक उद्धव पौडेलले जानकारी दिनुभयो । जग्गा अधिग्रहणका लागि समिति गठन गरी सोको प्रतिवेदनको आधारमा मुआब्जा दिने काम भइरहेको उहाँले जानकारी दिनुभयो । 

तनहुँ तर्फको ५४ जनामध्ये ४८ जनाले मुआब्जा रकम लिइसकेको पौडेलले बताउनुभयो । तनहुँ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत २२० केभीको डवल सर्किटबाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपुरस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताइएको छ ।

प्रसारण लाइन निर्माणका लागि कूल ९४ टावर निर्माण गरिनेछन् । प्रसारण लाइन निर्माण गर्न कामको जिम्मा भारतीय कम्पनी केइसीले पाएको छ । प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता ९२३ रोपनी पाँच आना जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार तनहुँतर्फ व्यास नगरपालिका –१३ र १४, बन्दीपुर गाउँपालिका –६, आँबुखैरेनी गाउँपालिका –६, देवघाट गाउँपालिका –४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ । 

आयोजनाको लागि ५० करोड ५० लाख अमेरिकी डलरको लागि एसियाली विकास बैङ्क ( एडिबी) ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले ८ करोड ५० लाख र नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । तनहुँमा निर्माणाधीन यस जलविद्युत आयोजना १४० मेगावाट क्षमताको रहेको छ ।

आयोजनाबाट विद्युत उत्पादनको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ करोड ७७ लाख, त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । 

वि.सं. २०६२ सालमा पहिचान भएको र वर्षैभरि १४० मेगावाट विद्युत उत्पादन हुने नेपालकै यो दोस्रो जलाशययुक्त आयोजना हो । आयोजनाको क्षेत्रभित्र ऋषिङ गाउँपालिका १, ६ र ७ गरी तीन वटा वडा, म्याग्दे गाउँपालिकाको १, २, ३, ४, र ५ गरी पाँच वटा वडा, व्यास नगरपालिकाको वडा नम्बर ५, भिमाद नगरपालिकाको ५ र ६ पर्दछ ।