• १३ मंसिर २०८१, बिहिबार

मन्त्री बन्नेतर्फ लाग्दिनँ : महामन्त्री शर्मा

blog

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा । फाइल तस्बिर

काठमाडौं, पुस ६ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्नेकुरामा आफू नरहेको स्पष्ट पार्नुभएको छ। 

बुधबार कांग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताउनुभएको हो। 

उहाँले भन्नुभयो, ‘‘महामन्त्री भएको वर्ष दिन पुग्दैछ। अझै धेरै कुरा गर्न बाँकी छन्। मलाई यिनै साथीभाइहरूले एक वर्षअघि मात्रै पार्टीको महामन्त्री बनाउनुभएको हो। मेरो काँधमा कति वटा काम गर्न नसकिराखिएको, गर्न नभ्याइरहेको र कामले मलाई पर्खिरहेको बेला छ।’’

उहाँले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो काम धेरै भएको बताउनुभयो। महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरूलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिविद्धताअनुसार काम गर्न आग्रह गर्नेकुरामा आफू लाग्ने पनि बताउनुभयो। 

‘‘विश्वप्रकाश शर्मा तुरुन्तै मन्त्री बन्नतिर लागेर हुन्छ ? यो उचित हुँदैन भनेर अहिले म मन्त्री बन्ने कुरामा छैन। अहिले सरकारमा जाने कुरामा साथीहरू जानुहुन्छ, जान चाहने साथीहरूलाई संयोजन गर्नु राम्रो हुनेछ,’’ महामन्त्री शर्माले भन्नुभयो, ‘‘सरकारमा जाने साथीलाई यो घोषणापत्र बोकेर काम गर्नुहोला है भनेर भन्नु राम्रो हुन्छ। तर अहिले मैले पार्टीको कार्यालयमा बसेर कार्य गर्नुपर्छ। त्यसकारण मन्त्री बन्नेकुरामा तत्कालै विश्वप्रकाश शर्मा लाग्नु हुँदैन।’’

महामन्त्री शर्माले सरकारमा जाने सांसदको संयोजन लगायतका काम अघि बढाउने कुरामा आफू लाग्ने बताउनुभयो।