• ९ जेठ २०८१, बुधबार

मर्स्याङ्दीको उत्पादन घट्यो

blog

अमरराज नहर्की

तनहुँ, पुस ६ गते ।  नदीमा बहाव कम भएसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा कमी आएको छ । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले चिसो मौसममा घामको तापक्रम घट्ने हुँदा हिमाल कम पग्लने र जाडोयाममा वर्षा पनि कम हुने भएकाले उत्पादन घटेको केन्द्रका इन्जिनियर जगदीश ढुङ्गानाले जानकारी दिनुभयो । 

चैत अन्तिमसम्म उत्पादन घट्दै जाने र त्यसपछि वायुमण्डलको तापक्रम बढेर हिमाल धेरै पग्लिने हुँदा पानीको बहाव बढी विद्युत् उत्पादन वृद्धि हुने गर्छ । वैशाखपछि घामको तापक्रम बढ्ने हुँदा हिउँ धेरै पग्लने र बर्सात हुन थाल्ने भएकाले उत्पादन बढ्ने इन्जिनियर ढुङ्गाना बताउनुहुन्छ । उहाँका अनुसार हाल पानी कम हुँदा ६९ मेगावाट क्षमताको केन्द्रबाट घटेर दिउँसो ४० 

मेगावाटको हाराहारीमा विद्युत् उत्पादन भएको छ । “नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोहीअनुसार घटेको छ,” उहाँले भन्नुभयो । 

सुक्खा मौसममा विद्युत् उत्पादन कम हुँदा भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता छ । साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कीमा जम्मा गरेर लैजाने गरिएको र साँझबिहान भने पूर्ण क्षमतामै उत्पादन हुने गरेको केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिनुभयो । 

विद्युत्को माग साँझ ५ बजेदेखि १० बजेसम्म र बिहान ५ बजेदेखि १० बजे बढी हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर पूरा क्षमता अर्थात् ६९ मेगावाट नै उत्पादन गरिएको उहाँले बताउनुभयो । “विद्युत्को माग धेरै भएको समयमा तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमताअनुरूपको ६९ मेगावाट विद्युत् उत्पादन गर्छौं,” उहाँले भन्नुभयो । 

चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घढेसँगै विद्युत् उत्पादन पनि घट्ने गरेको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।