• २४ असार २०८१, सोमबार

च्याउ खेतीमा रम्दै २० वर्षीय निखिल

blog

च्याउ फर्ममा निखिल खत्री । तस्बिर : गोरखापत्र

रमेश विश्वकर्मा

गुल्मी, पुस ६ गते । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्री २० वर्षको हुनुभयो । उहाँले डेढ वर्षदेखि सोही गाउँपालिकाको वडा नम्बर–५ ग्वाघाको धुवाँखर्कमा निखिल मल्टिपर्पोज एग्रो फर्म दर्ता गरी च्याउ खेतीमा निकै व्यस्त हुनुहुन्छ ।

उहाँले वार्षिक एक लाख रुपियाँ भाडा तिर्ने गरी १० रोपनी जग्गा लिजमा लिनुभएको छ । व्यक्तिगत २५ लाख रुपियाँ लगानीमा २० वटा टनेलबाट च्याउ उत्पादन सुरु गर्नुभएको छ । अझै ३० वटा टनेल थप गरेर ५० वटा टनेलमा च्याउ खेती विस्तार गर्ने योजना रहेको खत्रीले बताउनुभयो । 

उहाँ बिहानदेखि साँझ अबेरसम्म कामदारहरूसँग फर्ममा भेटिनुहुन्छ । फर्ममा ६ जनाले फर्मबाट प्रत्यक्ष रोजगारी पाएका छन् । “सिजनमा यहाँबाट १५ जनासम्मले रोजगार पाउने गरेका छन् ।” उहाँले भन्नुभयो, “अहिले खाने र बस्ने सुविधासहित मासिक १५ हजार रुपियाँ तलबमा ६ जना युवालाई रोजगारी दिएको छु ।” 

“च्याउ खेतीबाट मासिक दुई लाख आम्दानी गर्दै आएको छु ।” उहाँले भन्नुभयो, “गाउँमै स्वरोजगारीको सम्भावना देखेर म च्याउ खेतीमा लागेको हुँ ।” फर्ममा १२ हजार डल्लामा एकैपटक च्याउ फलाउन सकिन्छ । अहिले औसतमा दैनिक तीन क्विन्टल च्याउ उत्पादन हुन्छ । सिजनमा दैनिक सात÷आठ क्विन्टलसम्म च्याउ उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । 

“च्याउको बीउ पनि आफैँ उत्पादन गरेको छु । उहाँले भन्नुभयो,“यो वर्ष १५ क्विन्टल च्याउको बीउ बिक्री गरेर पाँच लाख बढी कमाई गरें । आम्दानी यहिँ लगानी गरेको छु । सरकारी अनुदानका लागि मात्रै च्याउ खेती गरेको होईन् ।” बजार र सडकको पहुँच सजिलो नभएको उहाँले बताउनुभयो । 

“अहिले आफै च्याउको ल्याबसमेत सञ्चालन गरेको छु । उहाँले भन्नुभयो, “च्याउका विभिन्न परिकार र विभिन्न किसिमका तरकारीका बिरुवाहरु समेत उत्पादन गरेर बिक्री गर्ने गरेको छु ।” हालसम्म कुनै पनि सरकारी निकायबाट अनुदान नलिएको उहाँले बताउनुभयो । 

चन्द्रकोट गाउँपालिकाकै वडा नम्बर–४ मा रहेको उदय माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म कृषि विषय अध्ययन गर्नुभएको थियो । त्यसपछि कृषि सम्बन्धि विभिन्न तालिमहरु लिनुभएका खत्रीले आफुले पढेको विषयलाई सहि सदुपयोग गरेको बताउनुभयो ।