• २३ असार २०८१, आइतबार

उदयपुरगढीको पुनर्संरचना असी प्रतिशत काम सम्पन्न

blog

गाईघाट समाचारदाता 

गाईघाट, पुस ६ गते । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढी गाउँपालिका–५ स्थित पुरातात्त्विक महत्त्व बोकेको ऐतिहासिक उदयपुरगढीको पुनर्संरचनाले पुरानो आकार लिँदै गएको छ। विगत तीन वर्षदेखि पुनर्संरचना गर्न सुरु गरिएको गढीको निर्माण कार्य हालसम्म झन्डै ८० प्रतिशत पूरा भएपछि सो ऐतिहासिक स्थलले वास्तविक आकार लिन थालेको हो।  

पुरानो गढी क्षेत्र गाउँपालिका केन्द्र उदयपुरगढीदेखि एक किलोमिटर उत्तरमा रहेको छ। दुई सय ५० वर्षभन्दा अघिको ध्वस्त गढीको भग्नावशेषलाई पुनर्जीवन दिँदै गढी पुनर्संरचना कार्य थालिएको र गढीमा तत्कालीन सैनिक बङ्कर, कोत खाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त संरचनालाई पुनर्संरचना गरिँदै आएको उदयपुरगढी गाउँपालिकाले जनाएको छ।  

पृथ्वीनारायण शाहको फौजी कारबाही कालको इतिहास झल्काउँदै पर्यटन विकास गर्ने उदेश्यले गाउँपालिकाले विगत तीन वर्षदेखि त्यहाँ पुरानो गढीको पुननिर्माण योजना अघि सारेको हो। गाउँपालिका र पर्यटन मन्त्रालयको संयुक्त लगानीमा सुरु भएको गढी पुनर्संरचना कार्यका लागि गत आर्थिक वर्षमा सङ्घीय सरकारले दुई करोड ७५ लाख रकम विनियोजन गरेको थियो। सो रकमले अपुग भए थप बजेट सुनिश्चित गर्ने भनिएपछि गाउँपालिकाले पुनर्संरचना गर्ने कार्य गरिरहेको उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताउनुभयो।

उहाँका अनुसार चालू आर्थिक वर्षभित्र गढी पुननिर्माण कार्य सक्ने गरी धमाधम निर्माणको काम भइरहेको छ। दुई करोड १८ लाखमा एडी/सिद्धगढी/निसान जेबी काठमाडौँले कामको जिम्मा लिएको र अब निर्माणको काम अन्तिम चरणमा पुगेको अध्यक्ष केप्छाकी मगर बताउनुहुन्छ। पुरानो गढीको वरिपरि १३० मिटर गोलो बङ्करले अन्तिम रूप लिइसकेको छ।

बङ्करको बीचमा पाँच सय मिटर व्याससहितको गोलाकार अग्लो भागमा आठ त्रिभुज (अष्टकोण) आकारको गढी निर्माण कार्य पनि अन्तिम अवस्थामा पुगेको छ। बङ्कर नाघेर गढी (अष्टकोण) क्षेत्र प्रवेश गर्न फलामे पुल निर्माण भइसकेको छ भने गढीभित्र कोत खाना भवन र इनारको निर्माण कार्य पनि सकिन लागेको उदयपुरगढी गाउँपालिकाका इन्जिनियर सन्तोष राय थारूले बताउनुभयो।

 गढीको वरिपरि बाहिरपट्टि छ फिट र भित्रपट्टि १४ फिट उचाइको गारो लगाएर बङ्कर पुननिर्माण गरिएको छ। कोत खाना, इनारसँगै त्यहाँ बगैँचा पनि बनाइने योजना रहेको गाउँपालिका प्राविधिक शाखाले जनाएको छ। सब इन्जिनियर गौतम पराजुलीका अनुसार गढी परिसरमा सार्वजनिक शौचालय, कार्यक्रम स्थल (मञ्च), फलामे दर्शन टुप्पोको निर्माण भइसकेको छ। प्राचीन गढी झल्काउने गरी काँचो ढुङ्गा चिल्लो र निश्चित आयाताकारमा ढालेर कलात्मक बनाएर जडान गरिएको, निर्माण कम्पनीले आधुनिक मेसिन उपकरणको सहयोगमा ढुङ्गा मठारेर कलात्मक बनाई प्रयोगमा ल्याएको छ। चार वर्षअघि उदयपुरगढीलाई नेपाल सरकारले देशका एक सय पर्यटकीय गन्तव्य मध्येमा पारेको थियो। सरकारले ‘पर्यटन वर्ष भिजिट २०२०’ घोषणा गर्दै सय गन्तव्यभित्र पारेपछि गाउँपालिकाले उदयपुरगढीलाई पर्यटकीय विकास गर्ने उदेश्यसहित पुरानो गढी पुनर्संंरचनाको योजना अघि सारेको थियो। 

 २५० वर्षअघि बाइसे चौबीसे राज्यमध्ये एउटा राज्य रहेको उदयपुरगढी र चौदण्डीगढीलाई शाह वंशीय राजा पृथ्वीनारायण शाहका सेनाले कब्जा गरेका थिए। पूर्वबाट किराँत वंशका वल्लो किराँत, पल्लो किराँत र माझ किराँत कब्जा गर्दै आएका पृथ्वीनारायण शाहका सेनाले राज्य एकीकरणको क्रममा विजयपुरगढी, हतुवागढी, चौदण्डीगढी कब्जा गर्ने क्रममा उदयपुरगढीमा युद्धपोत स्थापना गरेर लडाई गरेको उदयपुर जिल्लाको इतिहास लेखक कौशल चेम्जोङले बताउनुभयो।