• ११ मंसिर २०८१, मङ्गलबार

माहुरी चराउन तराईतिर

blog

गोकर्ण दयाल 

बैतडी, पुस ६ गते । बैतडीका किसान माहुरी चराउन तराई झरेका छन् । हिउँदयाममा पहाडमा माहुरीका लागि पर्याप्त आहारा नहुँदा भोकमरी भएपछि माहुरीपालक किसान घार लिएर तराई झरेका हुन् । 

दशरथचन्द नगरपालिका–५, पोटा, बैतडीका सुदर्शन लेखक १२५ घार माहुरी लिएर कैलालीको फूलबारी पुग्नुभएको छ । तराईमा तोरी फुलेकाले सेरेना जातको माहुरी चराउन उहाँ पहिलो पटक बैतडीबाट तराई झर्नुभएको हो । 

माहुरीपालन व्यवसायबाट वार्षिक १० लाख रुपियाँ आम्दानी गर्दै आइरहनुभएका लेखकले यस वर्ष पहाडमा अधिक बर्सात हुँदा माहुरीका लागि चरन क्षेत्र अभाव भएको बताउनुभयो । “अघिल्ला वर्ष १५ क्विन्टलसम्म मह उत्पादन हुन्थ्यो,” उहाँले भन्नुभयो, “यस वर्ष असोजमा भारी बर्सात हुँदा माहुरीको चरन क्षेत्र अभाव भयो । मह उत्पादन पनि जम्मा चार क्विन्टल मात्रै भयो ।” पहाडमा माहुरीको चरन क्षेत्र अभाव हुँदा बैतडीका माहुरी पालक किसान समस्यामा परेको उहाँले बताउनुभयो । स्थानीय तह र कृषि ज्ञान केन्द्रले सहयोग नगरेपछि आफैँले ६० हजार रुपियाँ खर्च गरेर घार लिएर तराई झर्नुपरेको उहाँले बाध्यता सुनाउनुभयो । 

कृषि ज्ञान केन्द्रले दुई सय माहुरीका घार किन्ने भनेपछि बैङ्कबाट १० लाख रुपियाँ ऋण निकालेर माहुरीको घार निर्माण र माहुरी उत्पादन गरे पनि अन्तिम अवस्थामा माहुरी नलगेपछि समस्यामा परेको उहाँले बताउनुभयो । नागार्जुन माहुरीपालन उद्योग सञ्चालन गरेर मह उत्पादनमा लाग्नुभएका लेखकले तराई झरेको एक महिनामै मह काढ्न थालेको बताउनुभयो । पहाडको जस्तो महको स्वाद नभए पनि प्रतिकिलो एक हजार तीन सय रुपियाँमा मह बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो । 

माहुरीपालन गरेर लेखकले दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । माहुरीको रेखदेख गर्न, छुट्टिएर भाग्ने, घार चोरी हुन सक्ने तथा अरिङ्गालले खाने समस्या हुने भएकाले माहुरीको रेखदेखका लागि दुई जनालार्ई मासिक तलब दिने गरी रोजगारी दिएको उहाँले बताउनुभयो । 

लेखक मात्र होइन माहुरीपालन व्यवसायमा बैतडीका अन्य किसान पनि लागेका छन् । केही वर्षअघि घरको भित्ता र मुढेघारमा एक–दुई घार मौरी पाल्ने बैतडीका किसान पछिल्लो समय व्यावसायिक माहुरी पालनमा आकर्षित हुन थालेका छन् । यस वर्ष बैतडीमा चरन क्षेत्र अभावका कारण माहुरीमा भोकमरी हुँदा मह उत्पादन घट्दा किसान निराश भएको बैतडीका अगुवा माहुरी पालक किसान वासुदेव भट्टले बताउनुभयो । “चरन क्षेत्र आभाव हुँदा केही किसान माहुरी चराउन तराई झरे पनि सबै किसानले आफ्नो खर्चमा माहुरी चराउन लैजान सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “यस्तो बेलामा स्थानीय सरकार र कृषि ज्ञानकेन्द्रले यातायात खर्च बेहोर्न चासो नदिँदा किसान समस्यामा छन् ।”

माहुरी चरेको ठाउँमा कृषि उत्पादन पनि बढ्छ । माहुरीले फूलको पराग र रस चुस्दा एकअर्को बोटमा राम्रो परागशेचन भएर कृषि उत्पादनसमेत बढ्ने भएकाले स्थानीय सरकारले यस्ता कुरामा ध्यान दिनुपर्ने किसानको सुझाव छ ।