सिराज खान
नेपालगञ्ज, पुस ५ गते । बाँकेमा ठूलो सङ्ख्यामा बंगुर बिरामी परेर मर्न थालेका छन् । पालेका बङ्गुरमा अफ्रिकी स्वाइन फ्लु फैलिएकोले बंगुर मरिरहेको किसानले बताएका छन् ।
नेपालगन्ज २० बंगुरपालका किसान छविलाल भण्डारीले बङ्गुरमा फ्लु फैलिएपछि कम समयमा २८० बंगुर मरेको बताउनुभयो ।
करिब १५ लाख बराबर मूल्यको २८० वटा साना तथा ठूला बंगुर मरेको बताउँदै भन्नुभयो, ‘मैले पालेको बंगुर मध्ये रोगले २५० साना बंगुर र ३५ वटा माउ र वीर मध्ये अहिले अधिकांश मरिसकेको र ३–४ वटा मात्र जीवित बचेका छन् ।’
भण्डारीका छिमेकीले पालेका बङ्गुरहरू समेत धमाधम मरिरहेको जनाइएको छ । यसरी एक्कासि रोग लागेर निकै सानो समयमा एकै पटक सबै बंगुर मरेपछि आफ्ना हौसला मरेको जनाउँदै उहाँले बंगुर मरेको जानकारी सम्बन्धित कार्यालयमा दिए पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो ।
उता, पशु सेवा कार्यालय बाँकेमा सो बारेमा जानकारी माग्दा पशु सेवा कार्यालय बाँकेका प्रमुख कमला अधिकारीले बाँकेका किसानले पालेको बङ्गुरमा स्वाइन फ्लु फैलिएको पुष्टि गर्दै सो नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो ।
उहाँले जिल्लाको डुडुवा र नेपालगन्ज २० बाट बङ्गुरमा रोग फैलिएर मरिरहेको जानकारी आएकाले आफूहरूले अन्य किसानलाई सो रोगबाट सचेत पार्नुका साथै नियन्त्रणका सबै उपाय अपनाउन थालिसकेको बताउनुभयो ।
सरुवा रोग भएकाले उक्त रोगविरुद्ध भ्याक्सिन लगाउनेदेखि किसानलाई सचेत पार्ने कार्य भइरहेको पशु सेवा कार्यालय बाँकेले जनाएको छ ।