वसन्त पराजुली / शान्ता अधिकारी
नारायणगढ, पुस ४ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सरकार वाम लोकतान्त्रिक गठबन्धनकै हुने गरी छलफल भइरहेको जानकारी दिनुभएको छ ।
प्रेस सेन्टर, नेपाल चितवनको आयोजनामा सोमबार भरतपुरमा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले शक्ति बाँडफाँट गरेर गठबन्धनको सरकार अघि बढ्ने बताउनुभयो ।
उहाँ पार्टीका पोलिटब्युरो सदस्य ईश्वरी भट्टराईकी धर्मपत्नी लीलादेवी भट्टराईको शोकसभाका लागि सोमबार बिहान चितवन आउनुभएको हो । “औपचारिक रूपमा गठबन्धनको बैठक बसेको छैन, प्रधानमन्त्री को बन्ने टुङ्गो लागिसकेको छैन । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख लगायतका पदहरूमा सहमति खोज्नु छ । शक्ति बाँडफाँटमा अहिले छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “राष्ट्रपतिले दिएको सीमा भित्रै नयाँ सरकार बनाएर बढ्नेछौँ ।”
नेकपा (एमाले)सँग मिलेर सरकार बनाउने कुरा बाहिर आए जस्तो कुनै सत्यता नभएको उहाँले स्पष्ट पार्नुहुँदै भन्नुभयो, “बाहिर आएजस्तै औपचारिक र आधिकारिक रूपमा कुराकानी भएको छैन । सरकार गठबन्धनबारेमा एमालेलगायतका दलहरूसँग छलफल भइरहेकै छ । कांग्रेस र एमालेबीच पनि कुराकानी भइरहेकै छ । स्वतन्त्र पार्टीसँग पनि मेरो कुरा भइरहेकै छ ।”
राष्ट्रपतिको लागि दल बाहिरका खोजी भइरहेको विषयको प्रश्नमा प्रचण्डले गठबन्धनबाट त्यस्तो खोजी नभएको तर बाहिर हल्ला हुनुलाई अस्वाभाविक भन्न नमिल्ने बताउनुभयो ।