• ११ मंसिर २०८१, मङ्गलबार

एन्टिबायोटिकको दुरुपयोग

blog

विश्वमा करिब सात लाख मानिसको एन्टिबायोटिक रेजिस्टेन्सका कारण मृत्यु भइरहेको छ । नियन्त्रणका लागि ठोस कदम नचाले सन् २०५० सम्ममा मृत्यु हुनेको सङ्ख्या बर्सेनि एक करोड पुग्ने विश्व स्वास्थ्य सङ्गठनको आकलन छ । मानवीय क्षतिका साथै विश्वभर बर्सेनि करिब एक सय खर्ब अमेरिकी डलरबराबरको आर्थिक क्षति हुनेछ । प्रत्यक्ष असर नेपालजस्ता मुलुकमा बढी पर्नेछ । 

नेपालमा भएका विभिन्न खोजमा चिकित्सकको प्रेस्किप्सनबिना एन्टिबायोटिक बिक्रीदर ५० प्रतिशत छ तथा दुर्गममा ५०.४ प्रतिशत छ । हेल्थपोस्टमा ५२.२ प्रतिशत छ । स्वास्थ्यकर्मीको जानकारीबिना मनलाग्दी किनेर खाने ६७ देखि ९७ प्रतिशतसम्म तथा फार्मेसीले सिफारिसबिना दिने दर ५० प्रतिशत छ । ४० प्रतिशत बढीले बीचैमा खान छोड्छन् । 

रुघाखोकीजस्तो सामान्य रोगमा चिकित्सकले एन्टिबायोटिक नलेखिदिँदा ४८ प्रतिशतले चिकित्सक परिवर्तन गर्छन् । नेपाली बजारमा करिब ३६५ ब्रान्डका एन्टिबायोटिक उपलब्ध छन् । देशभित्रै पनि करिब ५० कम्पनीले एन्टिबायोटिक औषधि उत्पादन गर्छन् । हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह औपचारिकताका लागि मनाइन्छ ।

एन्टिबायोटिक

एन्टिबायोटिक जीवित वा मृत जीवाणुबाट बनाइएको त्यस्तो यौगिक हो; जसले जीवाणुलाई विकसित हुन रोक्छ, मार्छ । जीवाणुले एन्टिबायोटिकको असरबाट आफूलाई जोगाएर जीवित रहन तरिका पहिल्याउँछ । जति एन्टिबायोटिक प्रयोग गरिन्छ, जीवाणुले त्यति नै उक्त एन्टिबायोटिकप्रति प्रतिरोध विकसित गर्छन् ।  सन् १९२८ मा अलेक्जन्डर फ्लेमिङले फन्जाइबाट पहिलो एन्टिबायोटिक पेन्सिलिन उत्पादन गरेका थिए । जसले दोस्रो विश्वयुद्धमा थुप्रैको ज्यान जोगायो तर १९५० देखि प्रभावकारिता ह्वात्तै घट्यो । पत्ता लागेको सात दशकमा सात सय बढी एन्टिबायोटिक सात हजार बढी व्यापारिक नाममा बजारमा उपलब्ध छन् ।  सन् १९४० को दशकमा एन्टिबायोटिकको आविष्कार भएपछि नाटकीय रूपमा सङ्क्रमणबाट हुने रोग, त्यसका जटिलता र मृत्युमा कमी आएको छ । चिकित्सकीय स्याहारमा पनि कमी आएको छ । समुचित उपयोगको अभावमा उक्त एन्टिबायोटिक औषधिले ब्याक्टेरिया मार्न नसक्ने भएका छन् । भनिन्छ कुनै पनि औषधि खानु भनेको जोखिम उठाउनु हो । किनभने बनोट, काम, प्रकृति, शरीरमा पार्ने असर फरक फरक हुन्छन् । एउटा एन्टिबायोटिक विकास गर्न दशक लाग्छ र करिब ३० करोड अमेरिकी डलर खर्चिनुपर्छ । सन् १९८७ मा लिनेजोलिङ एन्टिबायोटिक अन्तिम पटक बनेको हो । त्यसपश्चात् एन्टिबायोटिक बनेको छैन ।

पाश्र्वप्रभाव

एन्टिबायोटिकले पेटमा गडबडी हुने, पखाला लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, स्नायु प्रणालीमा असर परी रिङ्गटा लाग्ने, टाउको दुख्ने, ग्यास्ट्रिक, थकान वा तनाव महसुस भई कमजोर बनाउँछ । श्रवणशक्ति कमजोर, मिर्गौला फेल, कलेजो, दिमागमा असर, एलर्जी, आँखा कमजोर, हड्डी कमजोर, पिसाबमा समस्या पनि निम्त्याउँछ । सुई दिएको स्थानमा सुजन हुन्छ । आन्द्रामा रहने भिटामीन ‘बी’ र ‘के’ उत्पादन र शोषण गर्न सघाउने ब्याक्टेरिया मर्छन् । अन्य रोगको पनि जन्म हुन्छ । टेट्रासाइक्लिन नवजातले सेवन गर्दा दाँत 

पहेँलो बनाउँछ । गर्भवतीमा एन्टिबायोटिकले गर्भपतन तथा बच्चामा असर पार्छ । रक्तश्राव, कलेजो, मिर्गौला, हाड कमजोर बनाउँछ । ड्रग रेजिस्टेन्स विकसित भई पुनः सङ्क्रमणमा काम नगर्ने र भविष्यमा रोग निको पार्न नसकिने हुन्छ । पेन्सिलिन सेवन गर्ने ५ देखि ७ प्रतिशतमा छाला चिलाउने, राता राता डाबर आउने, रक्तकोष फुटाई रक्तअल्पता, रक्तसञ्चार बन्द भई मृत्यु हुनसक्छ ।

दुरुपयोग

विश्व तथा नेपालमै पनि धेरै दुरुपयोग भएको औषधिमा प्रतिजैविक वा एन्टिबायोटिक पर्छ । ब्याक्टेरियाका लागि मात्र प्रयोग गरिने औषधि महìव नै नभएको विषाणु र एककोषीय जीवबाट हुने सङ्क्रमणमा र सङ्क्रमण नै नभएकोमा, समस्या तथा रोगमा पनि प्रयोग भइरहेका छन् । एक अध्ययनमा झाडापखालामा दिनुपर्ने जीवन जल २ प्रतिशतलाई तर झाडापखालामा सकारात्मक असर नपार्ने एन्टिबायोटिक औषधि ६८ प्रतिशतलाई दिइएको पाइन्छ । विषाणुबाट हुने रुघाखोकीमा ९० प्रतिशतसम्म प्रतिजैविक औषधि दिएको पाइन्छ । यसरी अनावश्यक प्रयोग हुँदा ब्याक्टेरियामा प्रतिरोधात्मक क्षमताको विकास हुने र नकारात्मक असर देखा पर्छ । त्यस्तै एन्टिबायोटिक पूरा मात्रा नखाई बीचैमा छोडिदिनाले ब्याक्टेरिया पूर्ण मात्रामा नष्ट हुन पाउँदैन । जीवित ब्याक्टेरिया शक्तिशाली भएर एन्टिबायोटिक नै पचाइदिने क्षमता वृद्धि हुन्छ । पुरानो एन्टिबायोटिकले काम नगर्ने हुन्छ । जाने एन्टिबायोटिक वरदान हो, नजाने विष हो ।

एन्टिबायोटिक औषधि प्रेस्क्राइब गर्नुअघि कुन ब्याक्टेरियाको कारणले रोग लागेको हो र कुन औषधिले उक्त ब्याक्टेरियालाई मार्छ, काम गर्छ भनी जान्न कल्चर र सेन्सिटिभिटी परीक्षण गर्नु महìवपूर्ण मानिन्छ । विकसित मुलुकमा परीक्षण गरेर मात्र प्रेस्क्राइब गरिनुपर्ने अनिवार्य नियम छ तर नेपालमा क्लिनिकल परीक्षण र अनुमानकै भरमा । एन्टिबायोटिक प्रतिरोधले सङ्क्रामक रोगको नियन्त्रणमा, उपलब्ध आधुनिक उपचार र प्रविधिमा असर पारी मृत्यु गराउँछ । एन्टिबायोटिक आविष्कार पहिलेको अवस्थामा पु¥याउँछ, स्वास्थ्य सेवा महँगो बनाउँछ । पर्यटन, व्यापार र अर्थशास्त्रमा नकारात्मक असर पार्छ । यसैका कारण आजकल औलो, क्षयरोग, एचआईभी, अस्पतालजन्य सङ्क्रमण नियन्त्रणमा कठिन भइरहेको छ । 

सुपर बग

कुनै पनि औषधिले मार्न नसक्ने जीवाणुलाई सुपर बग भनिन्छ वा कुनै रोगका जीवाणुले औषधि पचाउन सक्ने अवस्था आए त्यसलाई सुपर बग मानिन्छ । सुपर बग भएपछि कुनै पनि किसिमका एन्टिबायोटिक औषधिले समेत छुँदैन । कुनै पनि एन्टिबायोटिकले नमार्ने वा नछुने सुपर बग दक्षिण एसियाबाट सुरु भएको युरोपेली वैज्ञानिकले बताएका छन् । भारत र पाकिस्तानमा उपचार गरेर स्वदेश फर्केका एक स्विडेनीले सन् २०१० 

अगस्ट १४ मा अस्पतालमा ज्यान गुमाएपछि यस विषयले बढी चर्चा पाएको हो ।

कारण 

एन्टिबायोटिकको बढी सेवन वा धेरै प्रकारका एन्टिबायोटिक प्रयोग तथा पूरा समयसम्म नखानु वा विभिन्न किसिमका जीवाणुसँगै हुर्कंदा म्युटेसन परिवर्तन भई नयाँ ब्याक्टेरिया उत्पत्ति हुन्छ । यसरी उत्पन्न भएका जीवाणु पहिलेभन्दा बढी शक्तिशाली हुने हुनाले यसबाट लाग्ने रोगको पनि जुनसुकै औषधिले उपचार हुँदैन । छिटो प्रजनन गर्ने ब्याक्टेरियाले एक मिनेटमा २० पुस्तासम्म बनाउन सक्छ । 

हाल आएर धेरै मानिस आफू योग्य र सस्तो उपचारका लागि खासगरी कस्मेटिक शल्यक्रिया गर्न ठाउँ, सहर र देश देश घुम्ने बढ्दो चलनले गर्दा यो सुपर बग विश्वभर चाँडै फैलिन सक्ने डरले विश्व आतङ्कित बनेको छ । बेलायतका चिकित्सकले भारतमा प्लास्टिक सर्जरी गराएर स्वदेश फर्केका मानिसमार्फत सुपर बग बेलायतमा भित्रिएको बताएका छन् । 

हालसम्म भारतमा उपचार गरी फर्किएका ३७ जना बेलायतीमा यो जीवाणु भेटिएको छ । भारतमा भेटिएको जीवाणु भएकाले सुपर बगको नाम एनडीएम–१ अर्थात् न्यु दिल्ली मेटालो–बिटा– ल्याक्टामेज–१ राखिएको छ । जुन लान्सेट जर्नलमा प्रकाशित भएको छ । 

यसैगरी भारतमा उपचार गराएर फर्केका तीन जना अस्ट्रेलियन नागरिकमा समेत सुपर बग भेटिएको क्यान्बेरा अस्पतालले बताएका थिए । कार्डिफ विश्वविद्यालयका बेलायती विशेषज्ञ टोलीले भारतको नयाँदिल्लीकै पानीमा एन्टिबायोटिकले पनि असर नगर्ने सुपर बग रहेको पत्ता लगाएका थिए । तथापि यसो भनिँदा र किटाणुलाई एनडीएम–१ नामकरण गरिँदा भारतको संसद्मा हङ्गामा भई सरकारले कडा शब्दमा भत्र्सना गरेको थियो । 

अन्त्यमा नेपालमा हरेक एक हजार जनसङ्ख्यामा ०.१७ चिकित्सक उपलब्ध छन्, जब कि विश्व स्वास्थ्य सङ्गठनले हरेक एक हजार जनसङ्ख्यामा २.३ चिकित्सक हुनुपर्ने बताउँछ । प्यारामेडिक्सबाट दुर्गमका स्वास्थ्य सेवा सञ्चालित छन्; जसमा विरोधभन्दा उनीहरूको हातहातमा निर्देशिका पठाउन जरुरी छ । विश्व स्वास्थ्य सङ्गठनले भनेझैँ एक्सेस, वाच र रिजर्भ ग्रुप एन्टिबायोटिक क्रमशः चलाउन सिकाउनुपर्छ । एन्टिबायोटिक भटमास खाएजस्तै खाना वा नास्ताकै रूपमा बेचबिखन र प्रयोग भइरहेको छ । त्यसैले नेपालमा त झनै सुपर बग उत्पन्न हुन सक्ने सम्भावना अत्यधिक भएकाले भाग्य नभएको, बाँच्न नलेखेको भन्दै कतिले ज्यान गुमाइसकेका होलान् त कतिले गुमाउँदैछन् र गुमाइरहने नै छन् ।