• ११ वैशाख २०८१, मङ्गलबार

फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन

blog

पेनाल्टीमा गोल गरेपछि लियोनल मेस्सी । तस्बिर : एएफपी

काठमाडौं, पुस ३ गते । २२औं फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । छिनमै जित, छिनमै हार जस्तो सनसनीपूर्ण फाइनल खेलमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

अर्जेन्टिनाको यो तेस्रो विश्वकप उपाधि हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो । निर्धारित ९० मिनेटमा खेल २-२ र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेर सकिएको थियो । टाइब्रेकरमा अर्जेन्टिनाले चार गोल गर्दा फ्रान्सले दुईवटा मात्र गोल गर्न सक्यो । फ्रान्सका दुईवटा प्रहार विफल बनेको थियो । 

निर्धारित समयमा अर्जेन्टिनाका लागि लियाेनल मेस्सीले दुई तथा एन्जल डि मारियाले गोल गर्नुभयो । फ्रान्सका लागि केलिएन एमबाप्पेले ह्याट्रिक गर्नुभयो । रोचक खेलमा मेस्सीले २३औं मिनेटमा पेनाल्टीमा गोल गर्नुभएको थियो ।

डिबक्सभित्र फ्रान्सका औसमाने डेम्बेलेले डि मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । जसलाई मेस्सीले सही सदुपयोग गर्नुभयो ।

त्यसपछि डि मारियाले ३६औं मिनेटमा काउन्टर प्रहारमा उत्कृष्ट गोल गर्दै पहिलो हाफमा अर्जेन्टिनाको अग्रता दोब्बर बनाउनुभयोे । उहाँले म्याक एलिस्टरको पासमा गोल गर्नुभएको हो ।

पहिलो हाफमा अर्जेन्टिनाको तुलनामा फितलो देखिएको फ्रान्सले पहिलो हाफमा गोल गर्न लायक अवसर बनाउन सकेको थिएन ।

निर्धारत समयको १० मिनेट बाँकी छँदा खेलमा फर्किएको फ्रान्सका लागि एमबाप्पेले दुई मिनेटमो अन्तरमा दुई गोल गर्नुभयो । एमबाप्पेले ८०औं मिनेटमा पेनाल्टी र ८१औं मिनेटमा अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । 

त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा मेस्सीले एक सय आठौं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाउनुभयो । तर, एक सय १८औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा ह्याट्रिक पूरा गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । 

पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले गोल गर्नुभयो । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गर्नुभयो । किन्सले कोम्यान र अरुलिन चुवामेनी चुक्नुभएको थियो । एजेन्सी