• १३ मंसिर २०८१, बिहिबार

संसदीय दलको नेताका लागि निर्वाचन समिति गठन

आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय

blog

बैठकपछि पत्रकारसँग कुरा गर्नुहुँदै नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत । तस्बिर : सागर बस्नेत

काठमाडौं, पुस ३ गते। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल निर्णय गरेको छ। 

बैठकपछि पत्रकारसँग कुरा गर्नुहुँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण मतले कांग्रेस नेतृत्वमा सरकार बनाउने निर्णय भएको जानकारी दिनुभएको हो। पार्टीमा संसदीय दलको नेता चयन सर्वसम्मत निर्णय हुनु स्वाभाविक हुने उहाँले बताउनुभयो। प्रवक्ता महतले पार्टी संसदीय दलको नेतामा स्वाभाविक रूपमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वसम्मत बनाउने पहल हुने गरिने जानकारी दिनुभयो। 

‘‘प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलमध्ये प्रतिनिधि सभा सदस्य पदमा सर्वाधिक सिट हासिल गरेको दलका हैसियतले नेपाली कांग्रेस पार्टीले नेपालको संविधानको व्यवस्था बमोजिम सरकारको नेतृत्वको दावी गर्नु स्वभाविक हुन्छ’’, प्रवक्ता महतले भन्नुभयो, ‘यसर्थ, नेपाली कांग्रेस पार्टीको नेतृत्वमा आगामी सरकारको गठन गर्नका लागि गठबन्धनमा रहेका दलहरु लगायतसँग आवश्यक संवाद, वार्ता र छलफल प्रक्रिया प्रारम्भ गर्ने यो बैठक निर्णय गर्दछ।’’

त्यसैगरी कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय संसदीय दल निर्वाचन समिति गठन गरेको छ। समिति सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही हुनुहुन्छ। 

बैठकले पार्टी विधान, नियमावली तथा नेपाली कांग्रेस प्रदेश संसदीय दलको विधानको व्यवस्था बमोजिम प्रदेश संसदीय दलको नेता एवं प्रदेश संसदीय दल कार्यसमितिको निर्वाचन सम्बन्धी प्रक्रिया प्रारम्भ गर्न सात वटै प्रदेश कार्यसमितिलाई निर्देश दिनेसमेत निर्णय गरेको छ।

प्रदेशमा पार्टीले सरकारको नेतृत्व गर्ने वा सरकारमा सहभागी हुने वा अन्य दललाई समर्थन गर्ने वा नगर्ने लगायतका विषयमा नेपाली कांग्रेसको विधानको धारा १३ (७) (ठ) बमोजिम केन्द्रसँग समन्वय गरेरआवश्यक प्रक्रिया प्रारम्भ गर्न प्रदेश कार्यसमितिलाई निर्देशन दिइएको छ।