• १२ मंसिर २०८१, बुधबार

तराईका जिल्लामा हुस्सुसँगै चिसो बढ्यो

blog

लक्ष्मण पौडेल

भैरहवा, पुस ३ गते । रुपन्देहीलगायत लुम्बिनी प्रदेशका तराईका जिल्लामा एक सातादेखि बिहान बाक्लो हुस्सु लागेको छ । अन्य समयभन्दा तुलनात्मक रूपमा दिउँसोमा घाम मधुरो भएको छ । यसले चिसो ह्वात्तै बढेको छ । पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लाहरूमा पनि चिसोका बिरामी बढ्न थालेका छन् । 

अहिले पहाडमा कुहिरो र तराईका जिल्लामा हुस्सु लाग्न थालेको छ । चिसो बढेपछि सर्वसाधारणका दैनिक कामकाज प्रभावित भएका छन् । यससँगै विभिन्न रोगको जोखिम बढेको छ । 

चिकित्सकका अनुसार अहिले श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । अहिले जिल्लाका अस्पतालमा चिसोका कारण विभिन्न समस्या देखिएका बिरामी आउन थालेका छन् ।

बिरामीको सङ्ख्या बढेपछि चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा. सुदर्शन थापाले अधिकांशमा श्वासप्रश्वासको समस्या पाइएको बताउनुभयो ।

उहाँका अनुसार अस्पतालमा आउने बिरामीमध्ये ६० प्रतिशतमा श्वासप्रश्वास, रुघाखोकी र फोक्सोको समस्या देखिने गरेको बताउनुभयो । चिसो ह्वात्तै बढेकाले मर्निङ वाक गर्ने ज्येष्ठ नागरिकका साथै बालबालिकालाई घाम लागेपछि हिँड्न, न्यानो लुगा लगाउन, तातो खानेकुरा खान उहाँले आग्रह गर्नुभयो ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जाडो याममा अन्य रोगका बिरामीभन्दा दम, ज्वरो, खोकीका अधिकांश बिरामी आउने र भर्ना भएर उपचार गर्नुपर्ने स्थिति आएको बताउनुभयो ।