• १२ मंसिर २०८१, बुधबार

उत्कृष्ट काम गरेको भन्दै गोरखापत्र शाखालाई सम्मान

blog

काठमाडौँ, पुस ३ गते । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले गोरखापत्र प्रतिष्ठान शाखालाई सम्मानित गरेको छ । प्रतिष्ठान शाखाहरूमध्ये सबैभन्दा क्रियाशील शाखाको रूपमा काम गरेको तथा श्रमजीवी पत्रकारको हकहित तथा पत्रकारको व्यावसायिक क्षमता अभिवृद्धिको क्षेत्रमा योगदान पुर्याएको भन्दै प्रतिष्ठान प्रदेशले सम्मान गरेको हो । 

गोरखापत्र शाखाका अध्यक्ष सरोज ढुङ्गेललाई गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले ढुङ्गेललाई सम्मान गर्नुभयो । प्रतिष्ठान प्रदेशले गोरखापत्रसहित नेपाल टेलिभिजन, नयाँ पत्रिका , इमेज टेलिभिजन र सीआइएन रेडियो प्रतिष्ठानलाई सम्मान गरेको हो । 

साधारण सभामा पूर्व राष्ट्रपति डा‍. रामवरण यादवले पत्रकारहरूले गर्ने पत्रकारिताले समाज परिवर्तन गर्न सक्ने बताउनुभयो । उहाँले पत्रकारहरूको क्षमता अभिवृद्धिमा जोड दिँदै पत्रकार सबल भए मात्र नागरिकलाई सुसूचित बनाउन सक्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकार महासङ्घ पत्रकारहरूको हकहितमा लाग्ने बताउनुभयो । महासङ्घ सधैँ श्रमजीवी पत्रकारहरूको पक्षमा रहेको उहाँको भनाई छ । 

कार्यक्रममा पत्रकार महासङ्घका महासचिव रोशन पुरी, केन्द्रीय सदस्यहरू रामकृष्ण अधिकारी, मणि दाहालले प्रतिष्ठान प्रदेशमा श्रमजीवी पत्रकारहरू हुने भएकोले उनीहरूको क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिष्ठान प्रदेश समितिको साधारण सभाले श्रमजीवी पत्रकारको हकहितमा जोड दिँदै सातबुँदे घोषणापत्र पारित गरेको छ । साधारण सभाले सरकारी तथा निजी सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल गर्ने, सुत्केरी पत्रकारलाई कम्तीमा ९८ दिन बिदाको व्यवस्था गरिनुपर्ने लगायतका बुँदा साधारण सभाले पारित गरेको छ ।