• २० असोज २०८१, आइतबार

नवप्रवर्तनमा नेपाल कमजोर

blog

काठमाडौँ, पुस ३ गते । विश्वव्यापी नवप्रवर्तन सूचकमा नेपालले कुनै सुधार गर्न नसकेको पाइएको छ । विश्व बौद्धिक सम्पत्ति सङ्गठन (वाइपो)ले हालै सार्वजनिक गरेको ‘ग्लोबल इनोभेसन इन्डेक्स २०२२’ प्रतिवेदनमा नवप्रवर्तनमा नेपालको स्थिति कमजोर नै देखिएको हो । 

सूचकमा समेटिएका १३२ देशमध्ये नेपाल १११औँ स्थानमा रहेको छ । सन् २०२१ मा पनि नेपाल सूचकको सोही स्थानमा थियो ।  वाइपोले तयार गरेको प्रतिवेदनमा विभिन्न सातवटा विषयअन्तर्गत ८१ वटा सूचकलाई आधार मानिएको छ, जसअन्तर्गत व्यवसायको सहजता, बजारको सहजता, पूर्वाधार, मानव पुँजी तथा अनुसन्धान, सङ्गठन, रचनात्मक नतिजा, ज्ञान तथा प्रविधिसम्बन्धी आविष्कारलाई सूचकको मुख्य विषय मानिएको छ । 

व्यवसायको सहजताअन्तर्गत व्यवासयको अनुसन्धान र विकासमा भएको खर्च, खुद वैदेशिक लगानीजस्ता विषयलाई आधार मानिएको छ । बजारको सहजताअन्तर्गत अर्थतन्त्रको आकार, स्थानीय बजारको प्रतिस्पर्धाको अवस्था, पूर्वाधारअन्तर्गत सडक, अस्पताल, विद्यालय, निर्माण र ऊर्जालाई आधार मानिएको उल्लेख छ । 

मानव पुँजी र अनुसन्धानमा क्षमता विकास र वैज्ञानिक तथा अनुसन्धानमूलक संस्थामा सरकारको लगानीलाई आधार बनाइएको छ । त्यस्तै सङ्गठनहरूअन्तर्गत राजनीतिक स्थायित्व र सुरक्षा तथा व्यवसाय सञ्चालनको सहजता, रचनात्मक नतिजाअन्तर्गत मूल्यवान् ब्रान्ड, औद्योगिक डिजाइन र टे«डमार्कको आवेदनलाई सूचकका आधार मानिएको छ । ज्ञान र प्रविधिसम्बन्धी नतिजाअन्तर्गत पेटेन्ट आवेदन, श्रम उत्पादकत्वको वृद्धिदर र सफ्टवेयरमा भएको लगानीलाई हेरिएको छ ।   

बजारको सहजताबाहेक अधिकांश विषयमा नेपाल कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार बजारको सहजतामा नेपाल ५९औँ स्थानमा छ । 

यसबाहेक राजनीतिक स्थायित्वसमेत हेरिने सङ्गठन सूचकमा नेपालमा ११७औँ स्थानमा छ । त्यस्तै मानव पुँजी तथा अनुसन्धानमा १२३, पूर्वाधारमा १०८, व्यवसायको सहजतामा ९१, ज्ञान तथा प्रविधिसम्बन्धी आविष्कारमा १२२ र रचनात्मक नतिजामा १०१औँ स्थानमा छ ।  

नेपाल दक्षिण एसियाली समूहमा पनि सबैभन्दा कमजोर नै देखिएको छ । प्रतिवेदनमा समेटिएका दक्षिण एसियाका पाँच देशमध्ये नेपाल सबैभन्दा पछाडि छ । दक्षिण एसियामा छिमेकी मुलुक भारत सबैभन्दा अगाडि अर्थात् सूचकको ४०औँ स्थानमा छ । त्यसपछि श्रीलङ्का ८४, पाकिस्तान ८७ र बङ्गलादेश १०औँ स्थानमा छ । 

सूचकको पहिलो स्थानमा स्विट्जरल्यान्ड रहेको छ । त्यसपछि क्रमशः संयुक्त राज्य अमेरिका, स्विडेन, संयुक्त अधिराज्य, नेदरल्यान्ड्स, दक्षिण कोरिया, सिङ्गापुर, जर्मनी, फिनल्यान्ड र डेनमार्क दोस्रोदेखि दसौँ स्थानमा छन् । सूचकको सबैभन्दा पुछारमा गिनी छ ।