काठमाडौँ, पुस ३ गते । मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्ने तथा पानी चुहावट हुने समस्या न्यूनीकरणका लागि आवश्यक नियन्त्रण प्रणाली अझै निर्माण हुन सकेको छैन। दुई कम्पनीले प्रणाली निर्माणको जिम्मा पाएका थिए र उनीहरूको म्याद गत महिना नै सकिएको थियो। प्रणाली निर्माण हुन नसक्दा हालै काठमाडाैँको लैनचौर र तीनकुनेमा पाइप फुट्दा सडक जलमग्न भएको थियो।
सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा) प्रणालीको निर्माण गर्न दुई वर्षअघि फ्रान्सेली कम्पनी भीसीजीपी डब्लुएमआई (वाटर म्यानेजमेन्ट इन्टरनेसनल) र नेपाली कम्पनी कालिका कन्स्ट्रक्सन (जेभी)ले जिम्मा पाएको थियो। मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार निर्माण अवधि सकिँदा अहिलेसम्म आयोजनाको काम एक चौथाइमात्र पूरा भएको छ। यस आयोजनाको कुल लागत एक अर्ब रुपियाँ छ।
आयोजनाका कार्यकारी निर्देशक राजेन्द्र सापकोटाले कोभिड–१९ को महामारीका कारण आयोजनाको काम निर्धारित समयमा सम्पन्न हुन नसकेको बताउँदै आयोजनाको निर्धारित समय पूरा भइसकेकाले म्याद थप प्रक्रिया अगाडि बढाइएको बताउनुभयो। अहिले डिजाइनको काम सम्पन्न भई विभिन्न स्थानमा च्याम्बर राख्ने काम भइरहेको छ। विदेशबाट आएका उपकरण जडानको काम पनि सँगसँगै भइरहेको छ। सहज र सुरक्षित खानेपानी वितरणका लागि संसारभरि नै अपनाइएको यो अत्याधुनिक कम्प्युटराइज स्वचालित प्रणाली हो। उहाँका अनुसार यो प्रणाली जडानसँगै एउटा कोठामा बसेर कम्प्युटरको माध्यमबाट पानी प्रशोधन केन्द्रको सञ्चालन, अनुगमनका साथै पाइपलाइनभित्रको पानी प्रवाहको गति अनुगमन तथा नियन्त्रण गर्न सकिनेछ। सुन्दरीजलस्थित आयोजनाको केन्द्रीय नियन्त्रण भवनबाट यस प्रणालीको सञ्चालन गरिनेछ। उहाँले भन्नुभयो, “यस प्रविधिले काठमाडौँको १० स्थानमा निर्माण गरिएको पानी भण्डारण केन्द्रबाट प्रसारण हुने मुख्य पाइपलाइनको भल्भलाई नियन्त्रण गर्छ।”
त्यसैगरी यस प्रणालीको जडानले सुन्दरीजलस्थित प्रशोधन केन्द्रका साथै उपत्यकामा रहेका पानी भण्डारण केन्द्रमा पानीको अवस्थाबारे सहजै थाहा पाउन सकिने उहाँले बताउनुभयो।
यो प्रणाली सञ्चालनमा आएपछि पानी वितरण, नियन्त्रण तथा अनुगमनका लागि अहिलेको सङ्ख्यामा जनशक्ति आवश्यक नहुने निर्देशक सापकोटाको भनाइ छ। उहाँका अनुसार पानी वितरण प्रणाली नियन्त्रण गर्न चिप्स तथा सेन्सर जडान गरिएको हुन्छ। यो प्रणालीको माध्यमबाट पानीको भण्डारण केन्द्र तथा पानी वितरण प्रणालीको अवस्था सूक्ष्म रूपमा अवलोकन गर्नुका साथै नियन्त्रण गर्न सकिन्छ।