• २२ वैशाख २०८१, शनिबार

मोबाइलका कारण दम्पतीको हत्या

blog

काठमाडौँ, पुस ३ गते । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, आहालेका ७४ वर्षीय विष्णुबहादुर आलेमगरले चलाउने भिभो कम्पनीको मोबाइल घरबाटै चोरी भयो। मोबाइल खोज्ने क्रममा गाउँकै १३ वर्षीय र १५ वर्षीय (नाबालक भएकाले दुवैको नाम नखुलाइएको) दुई जनाले चोरेको पत्ता लाग्यो। मोबाइलधनी मगरले चोरी गर्ने दुई बालकलाई खाजा खान भन्दै केही पैसा दिएर फकाउँदै उक्त मोबाइल फिर्ता लिनुभयो। मोबाइल चोर्ने व्यक्ति नाबालक भएको र मोबाइल पनि फिर्ता पाएको हुनाले त्यतिखेर सो घटना त्यत्तिकै सामसुम भयो। 

वडाध्यक्ष कमल थापाका अनुसार यो घटना मङ्सिर पहिलो साता भएको थियो। तर मोबाइल चोर्दा पनि कारबाही गर्नुको सट्टा उल्टै पैसा पाएपछि ती बालक झन् हौसिए र दोस्रो पटक पनि सोही मोबाइल चोर्न मङ्सिर २४ गते मगर दम्पतीको घर गए। त्यतिखेर भने उनीहरूले मोबाइलमात्रै चोरेनन्, मोबाइल प्रयोग गर्दै आएका विष्णुबहादुरसहित उहाँकी श्रीमती ६७ वर्षीय नीरमाया आलेको समेत बीभत्स हत्या गरे। सुन्दा पनि आङ जिरिङ्ग हुने यो घटनामा संलग्न भएको आरोपमा ती बालकलाई काठमाडौँबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा चार दिनपछि पक्राउ गरिएको छ। ब्युरोका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुरेश खत्रीका अनुसार नागरिकता नबनेका कारण चोरीमा संलग्न नाबालक भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएकाले उनीहरूको नाम गोप्य राखिएको छ। उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ। दुवै बालक स्थानीय स्कुलमा कक्षा ६ र ८ मा पढ्दै गरेका हुन्। 

यसरी भएको थियो घटना

उक्त घरमा आलेमगर दम्पतीमात्रै बस्नुहुन्थ्यो। वडाध्यक्ष थापाका अनुसार उनीहरूका छोराबुहारी काठमाडौँमा डेन्टल हाउस खोलेर बस्नुभएको छ। एकमात्र छोरीको विवाह भइसकेको छ। दम्पतीको हत्या २४ गते भए पनि २६ गते बिहानमात्रै स्थानीयले थाहा पाएका थिए। सँगै घाँसदाउरा गर्ने एक छिमेकी महिलाले २६ गते बिहान नीरमायाका श्रीमान् विष्णुबहादुरलाई घरबाहिरको खाटमा लडिरहेको अवस्थामा देख्नुभयो। विष्णुबहादुरको शव देखेपछि आत्तिँदै उहाँले गाउँलेलाई खबर गर्नुभयो। गाउँले आएर हेर्दा नीरमाया पनि घरभित्र लडिरहेकी थिइन्। यो घटना २४ गते बिहान करिब साढे सात बजेको थियो।

कारुणिक दृश्य देखेपछि गाउँलेले तत्कालै वडाध्यक्ष थापा र इलाका प्रहरी कार्यालय सल्यानटार तथा जिल्ला प्रहरी कार्यालयमा पनि खबर गरे। वडाध्यक्ष थापाले भन्नुभयो, “साढे आठ बजेतिर खबर आए पनि म एक घण्टापछि पुगेको थिएँ। विष्णुबहादुर बाहिर खाटमा र नीरमाया घरभित्र लडिरहेको देखेँ।”

बीभत्स हत्या देखेर आत्तिएका गाउँले छलफलमा जुट्दै गर्दा साँझसम्ममा जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय सल्यानटार र कुकुरसहित काठमाडौँबाट गएको केन्द्रीय प्रहरी ब्युरोको टोलीसमेत पुग्यो। तीन दिनसम्म निरन्तर अनुसन्धान गर्नेक्रममा प्रहरीको टोलीले मङ्सिरकै पहिलो साता पनि मोबाइल चोरी भएको घटनाको जानकारी पायो। सोही जानकारीका आधारमा ती दुईसहित शङ्कास्पद पाँच जनालाई पक्राउ ग¥यो। थप अनुसन्धान गर्दा पाँचमध्ये दुई बालकले दम्पतीको आफूहरूले हत्या गरेको र हत्यामा बन्चरो प्रयोग गरेको स्वीकारेका छन्।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार ती बालकमध्ये एकले २४ गते आफ्नै घरबाट बन्चरो लगेर साथीको सहयोगमा दम्पतीको हत्या गरेर घरभित्र रहेको सन्दुक (काठको बाकस)समेत फुटाएका थिए। सन्दुक फुटाए पनि उनीहरूले त्यहाँ रहेको पैसा र नीरमायाले प्रयोग गर्ने सामान्य किप्याडवाला मोबाइल भने त्यहीँ छाडेका थिए। वडाध्यक्ष थापाका अनुसार विष्णुबहादुरको मोबाइल लिएर उनीहरू दुवै जना आइतबार र सोमबार स्कुलसमेत गएका थिए। विष्णुमायाको छोराले आइतबार फोन गर्दा घन्टी पनि गएको थियो। 

“पटक–पटक फोन आएपछि त्यसको सिम फ्याँकेर उनीहरूले घरनजिकैको बाटोमा लुकाएका रहेछन्। दम्पतीलाई मार्न प्रयोग गरिएको बन्चरोको बिँड फ्याँकेर घरकै भुसको बोरामा लुकाएका रहेछन्,” प्रहरीसँगै अनुसन्धानमा खटिनुभएका थापाले भन्नुभयो, “सुन्दा पनि पत्याउनै नसकिने घटना घट्यो। एउटा मोबाइलका कारण वृद्ध दम्पतीले ज्यानै गुमाउनुप¥यो।” आलेमगर दम्पती घरमै बस्तुपालन तथा कृषिमा संलग्न हुनुहुन्थ्यो। हत्या आरोपित दुई बालक यसअघि पनि गाउँघरमा सरसामान चोरीमा संलग्न रहेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो।   

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।