• ११ मंसिर २०८१, मङ्गलबार

श्रम संस्कृतिको उदाहरणीय नमुना

blog

श्रम आफैँमा सर्वश्रेष्ठ दौलत हो। भनिन्छ श्रम गर्ने मान्छे भोको रहँदैन। बृहत् नेपाली शब्दकोशले श्रमलाई यसरी परिभाषित गरेको छ, “कुनै पनि वस्तुको उत्पादन तथा निर्माण वा जीवन निर्वाहका निम्ति शारीरिक वा बौद्धिक शक्ति लगाएर गरिने काम मेहनत ।” यसमा विम्बित अर्थअनुसार शारीरिक र बौद्धिक शक्ति लगाएर गरिने श्रम सबैले र सबैका हकमा औचित्यपूर्ण र आवश्यक छ । त्यसैले श्रम, धन, शक्ति र शारीरिक–बौद्धिक व्यायामसँग जोडिएको एउटा कर्म हो ।

श्रम संस्कृति पनि हो। संस्कृति मानवनिर्मित कार्य हो। संस्कृतिमा ज्ञान, विज्ञान, कला, धर्म, नैतिकता, कानुन र यस्तै अन्य गुण संलग्न हुन्छन्। जसलाई समुदायको सदस्यका हैसितले मानिसले आर्जन गर्छ । संस्कृतिलाई सङ्केत, कलानिर्मित वस्तु र मानवनिर्मित चलनका रूपमा पनि परिभाषित गरिन्छ । संस्कृति मानव जीवनको कार्यशैलीको सम्पूर्णता हो । संस्कृति सिकिने व्यवहार हो । संस्कृति हस्तान्तरित हुन्छ । संस्कृति प्रतीकात्मक र आदर्शात्मक मानिन्छ । संस्कृति परिवर्तनको संयन्त्र हुन्छ । संसारमा श्रम हुँदैनथ्यो र यसको संस्कृति निर्माण हुँदैनथ्यो भने संसार आजका रूपमा हुनसक्ने कुरा नै भएन ।

श्रमलाई एउटा नवीन संस्कृतिका रूपमा विकास गरेर सबैले श्रम गर्ने, श्रमको सम्मान गर्ने, श्रमको उचित मूल्य हुने र श्रम जीवन पद्धति बनाउने प्रणाली विकास गर्दै नेपाललाई आफ्नै बलबुता, स्वाभिमान, परिश्रम, पसिना र निष्ठाले विकास र समृद्धिको पथमा हिँडाउने कर्म गर्नु आजको पहिलो प्राथमिकता हुनुपर्छ । श्रमलाई राज्यको नीति निर्माण तहमा बसेका मान्छेको तहबाट आफैँले यो कर्म सुरु गरेर यसलाई संस्कृतिका रूपमा विकास गर्दै लैजानुपर्छ, यो तहका मान्छे संस्कृति परिवर्तनको संवाहक संयन्त्र हुन् ।

धरानका नगरपिताले निर्वाचित भएको भोलिपल्टदेखि नै आफैँ काम गर्ने, श्रममा जुट्ने संस्कृति थालनी गरेका छन्; जुन सराहनीय छ। जसको चर्चा–प्रशंसा देशभित्र र बाहिर नवीन संस्कृति निर्माणका पक्षधरले मुक्तकण्ठले गरिरहेका छन्। हर्कको कामको मात्र चर्चा भएको छैन, उहाँको अनुसरण पनि हुँदै गरेको छ। हर्कले प्रोपगन्डा गर्न र मिडियाबाजी गरेर चर्चा कमाउन मात्र सो नगरेको, त्यसको परिणाम निकाल्न गरेको कुरा उहाँले खानेपानीको एउटा प्रोजेक्ट व्यापक जनसहभागिता र श्रमदानमार्फत सफल पारेर अन्य परियोजना सफल पार्न खटेको कर्मले पुष्टि गरिरहेको छ। श्रमसँग मान्छेलाई जोड्ने र श्रमदानका माध्यमबाट काम गर्ने हर्कको शैलीको आलोचना गर्ने ठाउँ छैन। भलै उहाँको सार्वजनिक केही स्टाटस् र टिप्पणी गर्ने शैलीप्रति मान्छेको विमति छ तर उहाँले गरेको कर्म, बसाउन खोजेको श्रमदानको संस्कृति कसैले पनि तीखो आलोचना गर्ने विषय बनेको छैन। आज नेताहरू परिश्रम नगर्ने र परिश्रमी कार्यकर्ता उत्पादन नगर्ने भनेर आलोचित छन्। यस्तो बेला हर्कले धरानबाट प्रारम्भ गरेको संस्कृति ७५३ स्थानीय निकाय हुँदै प्रदेश र केन्द्रसम्मका सबै तह र तप्काका जनप्रतिनिधि र कर्मचारीको नेतृत्वमा देशव्यापी हुनु जरुरी देखिन्छ। 

अगुवा अनुकरणीय हुन्छन् 

आफ्ना अग्रज र आफूले आशा गरेका मान्छेले निर्माण गरेको आचरण शैली हाउभाउदेखि लवाइखवाई सबैमा आममान्छेका साथै समर्थकको सुरुचिपूर्ण नजर हुन्छ। उनीहरूको अनुकरण गर्न, उनीहरूजस्तै बन्न शुभेच्छुक, चेलाचेली, फ्यान फलोइङको रहर हुन्छ। त्यसैले समाजका अगुवा, शिक्षक, सेलिब्रेटी, राजनीतिक नेता, कलाकार, उच्चपदस्थ अधिकारी र समाजका बुद्धिजीवी आममान्छेको नजरमा उदाहरणयोग्य बन्न जरुरी छ। विशेषगरी राजनीतिक दलका नेता, सांसद, मन्त्री, सभामुख, प्रधानमन्त्री, राष्ट्रपतिलगायतका क्रियाकलाप र गतिविधि शीघ्रातिशीघ्र फैलने गर्छ।

नवसंस्कृति निर्माणका आधारस्तम्भ दल, नागरिक समाज, विश्वविद्यालय, प्राज्ञिक संस्था, धर्मावलम्बी र राजनीतिक नेताहरू बुद्धिजीवी, साहित्यकार र संस्कृतिकर्मी हुन्। हाम्रोजस्तो राजनीति धेरै गिजोलिएको र जता पनि राजनीतिको नाममा अराजनीतिक गतिविधि धेरै हुने स्थानमा नेताको प्रभाव छिटो पर्छ। यी व्यक्तित्वले जे गर्छन्, तिनको सिको तल–तलका नेता कार्यकर्तासम्मले गर्दै जान्छन् र देशमा एकै पटक नयाँ कुराको सुरुवात हुन्छ। सकारात्मक थालनी गरे त्यही प्रवाह हुन्छ, नकरात्मक गरे पनि धेर–थोर त्यो संस्कृति बनेर अनुसरण भइरहेको हुन्छ।

नेपाली नेतालगायत अन्यले सुरु 

गरेको अनेकानेक संस्कृति

कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको पान सौख र गिरिजाप्रसाद कोइरालाको सेतो दौरा–सुरुवाल अनि कांग्रेस नेताहरूले भारत निर्वासन बस्दा लाउने गरेको भारतीय समाजवादी नेता नेहरू ज्वारिकोट तत्कालीन कांग्रेसका शीर्ष नेताले अनुसरण गरेर तल–तल गाउँसम्म पु¥याए। जुन आज पर्यन्त कांग्रेसजनको ड्रेस भनेर समाजमा परिचित बनेको छ । त्यति मात्र होइन, २०५१ को मध्यावधि निर्वाचनमा कांग्रेसजनले सुरु गरेको अन्तर्घात र अन्तर्घातको जननी कांग्रेस भएको हुनाले त्यो संस्कृति बनेर आज नेपालभर फिँजिएको छ; जसको व्यापक चर्चा सङ्घीय र प्रदेश तहको निर्वाचनमा कांग्रेसलगायत अन्य पार्टीले व्यावहारिक प्रयोग गरेर देखाइरहेका छन्। नेतावाणीले पनि एउटा मानक निर्माण गरेको प्रमाण गणेशमान सिंहले नेपाली जनतालाई दिएको भेडाको सङ्ज्ञा आज सकारात्मक र नकारात्मक दुवै सन्दर्भ सङ्कथनमा प्रयुक्त हुने विम्ब बनेको छ। पहिलो पटक २०६३ असारमा बालुवाटारमा सार्वजनिक हुँदा प्रचण्ड र बाबुरामले पहिरेको खैरो सर्ट माओवादीको ड्रेसकोडजस्तै भएको थियो। एमाले नेता ओलीको उखान टुक्का जोडेर आफ्ना कुरा सम्प्रेषण गर्ने तरिकालाई आफ्नो बनाउने थुप्रै एमाले नेता निस्किएका छन्। प्रचण्डको जेल लगाएर माथितिर फर्काएको हेयर स्टायल तथा कुम हल्लाएर बोल्ने शैली र बाबुरामको क्याप पनि माओवादी ब्रान्ड बनेर गाउँगाउँ पुगेको थियो।

एमाले नेता (हाल एकीकृत समाजवादीका नेता) झलनाथ खनालको दर्जनौँ सुटको चर्चा पनि एमाले वृत्तमा कम्युनिस्ट शैलीभन्दा भिन्न ब्रान्ड बनेको हो। विवेकशील नेपालीका प्रवर्तक उज्ज्वल थापाले लगाएको कालो भादगाउँले टोपीमा क्रस खुकुरी र स्माइली फेसको लोगो थुप्रै विवेकशील नेपालीका सदस्यले प्रयोगमा ल्याएका थिए। ब्याङ्कर अनिलकेशरी शाहले पुनरावृत्ति गरेको राणाकालीन जुँगाको शैली पनि नेपाली युवा आकर्षण गर्न आएको दृष्टान्त छ। बालेन शाहको चस्मा नेपाली बजारमा गत स्थानीय चुनावपछि हाई डिमान्ड भएको समान थियो। हर्क साङपाङको भोट माग्ने शैली यो निर्वाचनमा धेरैले अवलम्बन गरेको पाइयो। रवि लामिछानेको हेयर स्टायल र नेपाली कपडा मात्र लाउने तरिका आज ब्रान्ड बनेर फैलिरहेको छ। 

यसर्थ नेताहरू जे गर्छन्, त्यो संस्कृति बनेर छिटो प्रसारित हुन्छ। कम्युनिस्ट नेताले गरेको भैँसी पूजा, बिहेको हाफ सेन्चुरी भन्दै मनाएको भव्य बिहेको पार्टी र धार्मिक कार्यकर्म अनि जन्मदिनमा केक काट्न हेलिकप्टर प्रयोग पनि नेताहरूले जन्माएका संस्कृति हुन्। विश्व संस्कृति र बजारबाट भित्रिएको हिप्पी संस्कृति, पुरुषले लामो कपाल पाल्ने चलन, फ्रेन्चकट दारी र लेनिनकट दारी पनि अनुसरण गरिएका संस्कृति हुन्। सबै संस्कृति, संस्कृति होइनन् केही संस्कृति अपसंस्कृति र विकृति पनि हुन्। 

सकारात्मक प्रभाव र तिनले नेपाली समाजमा ल्याएको परिवर्तन र सामान्य फेसन समाज विज्ञानको गति र नियमका उपज हुन् तर नकारात्मक प्रवृत्ति, गलत सन्देश प्रवाह गर्ने शैली त्याज्य र निन्दायोग्य छन्। तसर्थ नेताले आफ्नो गतिविधि यसको लामो समयसम्म पर्ने असर, समाजको मनोविज्ञान र समाजशास्त्रसम्म बुझेर सुरु गर्नुपर्छ। आजको मुख्य चर्चा हर्कले धरानबाट सुरु गरेको श्रमसंस्कृतिका बारेमा हो। परिश्रम कुनै कामका लागि गरिएको मानवीय चेष्टा हो। मानवीय चेष्टालाई समाजको बृहत्तर हितका लागि प्रयोग गर्नु र त्यसको नेतृत्व गर्दै श्रमदानको महìव र गरिमा देखाउनु दूरदर्शी नेताको गुण हो। जसको प्रदर्शन गरेर हर्क आज हाइहाइ बनिरहेका छन्। जनताको नेता कस्तो हुनुपर्छ, त्यसको उदाहरण प्रस्तुत गरिरहेका छन्।

मितव्ययी संस्कृति र समाजलाई श्रमसँग जोड्ने हर्कको प्रयास क्रमशः सार्थक बनिरहेको छ। हर्कले आफू निर्वाचित हुनासाथ अबिर जात्रा गरेर फूलमाला र खादा प्रदर्शन गरेर भोजभतेर गर्दै हिँडेनन् बरु सर्दु खोलातिर पानीको मुहान खोज्न हतारिए र धरानवासीलाई पानी खुवाउँछु भन्ने प्रतिबद्धता कार्यान्वयनमा लागे। फजुल खर्च ठानेर मेयरको गाडी चढेनन् । सो गाडी बेचेर डोजर किने । पाँच हजार बिरुवा रोप्ने घोषणा गरेका हर्क अहिले एक करोड बिरुवा रोपेर धरान हराभरा बनाएर प्राकृतिक पर्यावरण जोगाउने अभियानमा हुनुहुन्छ।

प्राकृतिक स्रोतको अनुचित दोहनले चिन्तित हर्कले नदीजन्य पदार्थको जथाभावी उत्खनन र बिक्री–वितरणमा रोक लगाउनुभयो। निर्वाचनअघि हर्कको प्रतिबद्धता जे थियो, सो पूरा गर्न उहाँ कम्मर कसेर लाग्नुभएको छ। हर्कले श्रमलाई निर्माण र विकाससँग जाड्नुभएको छ। श्रम राजनीति र समाजसँग पनि जोडिनुपर्छ। समाजका लागि काम गरौँ भन्ने संस्कृति हराएको बेला धरानबाट हर्कले श्रम संस्कृतिलाई पुनः प्रवद्र्धन गरेर देशभर श्रमसंस्कृतिको नवीकरण गर्नुभएको छ। 

श्रमदान संस्कृतिको ऐतिहासिक सन्दर्भ

रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक)को केन्द्रीय समितिले हप्ताको एक दिन शनिबार देशका लागि श्रमदान गर्ने निर्णय १ मे १९२० मा गरेर सत्ता र उपल्लो स्तरबाट श्रममा जोडिने संस्कृति निर्माण गरेको कुरा कम्युनिस्ट पार्टीको दस्ताबेजमा पढ्न पाइन्छ। माक्र्सवाद प्रयोग गरी विशाल सोभियत सङ्घमा समाजवादी सत्ता स्थापना गर्ने लेनिन मजदुरलाई असाध्यै माया गर्थे र तिनै मजदुरको बलमा रसियामा माक्र्सवाद प्रयोग गरेका थिए। तत्कालीन कम्युनिस्ट श्रमको उच्च सम्मान गर्थे र हरेक शनिबार श्रमदान गर्न शीर्ष नेता नै पहिलो पटक निर्णय कार्यान्वयन गर्न निस्किएको इतिहास छ। कम्युनिस्ट पार्टीका नेता लेनिन पूरै मजदुरको भेषमा श्रम गर्न निस्किएको त्यो संस्कृति सदा र जोसुकैका लागि अनुकरणीय छ। 

श्रम संस्कृतिको द्योतक हर्क 

श्रमदान संस्कृतिको ब्रान्ड एम्बेसडर बन्नुभएको छ हर्क। श्रम शारीरिक श्रमसँग मात्रै जोडिएको छैन, शारीरिक व्यायाम र मानसिक स्वास्थ्यसँग पनि अन्योन्याश्रित भएर रहेको छ । समाजमा हर्कजस्ता जुनकिरी छन् र समाजमा कहिल्यै अँध्यारो हुँदैन। समाज उज्यालो बनाउन हजारौँ हर्क जन्मे भने त्यो उज्यालोले नेपाल उज्यालिन समय लाग्दैन। हर्कले चलाएको ‘हर्क साम्पाङ ए रेभुलोसन’ पेजमा उहाँले आफ्ना दैनिक गतिविधि, निर्देशन, अपिल, फरमान, अनुरोध सूचना जारी गरेर आफ्नो नियमित कर्मबारे जानकारी गराइराख्नुभएको छ। रहस्यमय गतिविधि र चरित्रमा रहेका नेताहरूका अघि यो उहाँको सामाजिक र राजनीतिक जीवनको पारदर्शिता हो। पारदर्शिता सबैको सामाजिक जीवनको महत्वपूर्ण पक्ष हो। झन् नेताहरूले पारदर्शी संस्कृतिलाई टेवा पु¥याउनु समाज मर्यादित र सभ्य बनाउने परम्परा हो। गलत संस्कृतिको प्रतिस्थापन असल र नवसंस्कृतिले गर्नुपर्छ, हर्क त्यतै अभिमुख भएको देखिन्छ। 

राष्ट्रका लागि श्रम नारा र आदर्श बनाएर हरक्षेत्रबाट श्रमसँग मान्छे जोडिनुपर्छ। हर्कको उदाहरण सक्रियता र प्रेरणाले भर्खरै निर्वाचित प्रदेश र सङ्घीय सांसदहरू आआफ्नो क्षेत्रमा जान थालेको समस्या सुल्झाउन प्रयत्न गरेको समचार देशका विभिन्न भागबाट आइरहेका छन्। यो सुखद पक्ष हो। श्रमसँग नेताहरू जोडिनु उनीहरूकै व्यक्तिगत स्वास्थ्य, सामाजिक हित र राजनीतिक स्वास्थ्यका लागि फलदायी हुनेछ। श्रमकै अभावले नेताहरूमा अनेकथरी रोग लागेको छ। परिश्रम गर्ने बानी नहुनाले उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह, मुटु रोगजस्ता विभिन्न रोगबाट ग्रसित नेताहरूलाई श्रम गर्ने बानीले थुप्रै राजनीतिक स्वास्थ्यगत, आर्थिक–सामाजिक र सांस्कृतिक फाइदानजिक पु¥याउँछ।  जनतासँग नेताको सम्बन्ध स्थापित हुने माध्यम हो– श्रम संस्कृति। एउटा पब्लिक फिगरले रचनात्मक काममा निरन्तर प्रयत्नशील बन्दा नवसंस्कृति निर्माण हुन्छ। संस्कृति प्रसार हुन्छ र संस्कृति हस्तान्तरण हुन्छ। हर्कले पेस गरेको दृष्टान्त यही हो। सकारात्मक सुरुवातको अनुसरण सबैले गरून्। हर्कजस्ता श्रमप्रेमी जन्मिरहून्। राम्रो कामको जसको जहिले र जतासुकै अनुसरण भइरहोस्। आफ्नो ठाउँबाट धेरै रोल मोडेल बनून्।