• २० असोज २०८१, आइतबार

कालीगण्डकी कोरिडोरमा सुविधासम्पन्न होटल

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी (बेनी), पुस २ गते । कालीगण्डकी कोरिडोरमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा करिब ३५ करोड रुपियाँको लगानीमा होटल नेचुरल स्प्रिङ सञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण पदमार्ग र जोमसोम भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर युवा व्यवसायी राजु हमालले यस क्षेत्रकै ठूलो होटल सञ्चालनमा ल्याउनुभएको हो । हमालले यसअघि सदरमुकाम बेनीमा व्यापार गर्दै आउनुभएको थियो ।

यो होटल सञ्चालनमा आएपछि मुस्ताङ, घोरेपानी, पुनहिललगायतका पर्यटकीय स्थलको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सुविधा पुगेको छ । म्याग्दी र मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई उच्चस्तरको सेवा दिन आफूले ठूलो लगानी गरेर होटल सञ्चालनमा ल्याएको सञ्चालक हमालले बताउनुभयो । 

होटलमा रोयल, डिलक्स र साधारण गरी तीन स्तरका सुविधासहितको ५७ वटा कोठा छन् । होटल सञ्चालनमा आएसँगै पर्यटकले अग्रिम रूपमा कोठा बुकिङ गर्न थालेका छन् । 

करिब आठ रोपनी क्षेत्रफलको जग्गा व्यवस्थापनसहित तीन वर्षको अवधिमा होटललाई आवश्यक पर्ने छ तलाको भवन निर्माण गरेको उहाँले बताउनुभयो । 

होटलमा एक दिनमा करिब दुई सय जनालाई राख्न सकिने क्षमता रहेको छ । म्याग्दी र मुस्ताङको पर्यटन क्षेत्रमा नयाँ उत्साह थप्नका लागि होटल सञ्चालनमा ल्याएको सञ्चालक हमालले बताउनुभयो । 

 लगानीअनुसारकै स्तरीय सेवासुविधा ग्राहकलाई उपलब्ध गराएको सञ्चालक हमालले बताउनुभयो । पार्किङसहित दृश्यावलोकनका लागि कृत्रिम झरनालगायतका आकर्षक भौतिक संरचना निर्माण गरिएको छ । 

होटलमा १५० जना क्षमताको सेमिनार हलको व्यवस्था छ । होटल परिसरमै मसाज, क्याफे र लोकलमार्ट सञ्चालन गरिएको छ । होटलका सबै कोठाबाट कालीगण्डकी नदी र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकनसमेत गर्न सकिने सुविधा रहेको छ । 

लगानी, पूर्वाधार निर्माण र क्षमताको हिसाबले यस होटललाई धौलागिरि क्षेत्रकै ठूलो क्षमताको मानिएको तातोपानी टोल सुधार समितिका सचिव एवं पर्यटन व्यवसायी अमृतमान शेरचनले बताउनुभयो । ठूलो होटल खुलेपछि तातोपानीका पर्यटन व्यवसायी उत्साहित बनेको उहाँले बताउनुभयो । 

“म्याग्दी हुँदै मुस्ताङ आवतजावत गर्ने पर्यटकका लागि यो होटलले निकै ठूलो सुविधा लिएर आएको छ । बेनी–जोमसोम सडकखण्डको म्याग्दी क्षेत्रमा पर्यटकलाई आरामदायी सुविधासहितको होटल सञ्चालनमा आएपछि यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित बनेका छन्,” शेरचनले भन्नुभयो ।

होटल सञ्चालनमा आएसँगै भुरुङ तातोपानी बजारमा साना ठूला होटलमा गरी एक रातमा करिब एक हजार जनालाई राख्न सक्ने क्षमता विस्तार भएको छ । 

पोखरादेखि कुस्मा, बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङ जाने एक मात्रै सडक बेनी–जोमसोम–कोरला सडकमा पर्ने यस होटलका कारण प्राकृतिक तातोपानीको कुण्डमा आउने पर्यटकहरूको चाप बढ्ने र पर्यटकहरूको बसाइ व्यवस्थापन र भ्रमण अवधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको पर्यटन व्यवसायी शेरचनले बताउनुभयो । म्याग्दीको पर्यटन विकासमा टेवा पु-याउने उद्देश्यले करोडौँ लगानी गरेर आफूले होटल सञ्चालन गरेको सञ्चालक हमालले बताउनुभयो । होटलमा ६० जनालाई रोजगारीसमेत दिएको उहाँले बताउनुभयो ।