• २० असोज २०८१, आइतबार

फिफा अध्यक्षलाई खुला पत्र

श्रमिकलाई क्षतिपूर्ति दिलाउन आग्रह

blog

काठमाडौँ, पुस २ गते । आप्रवासन श्रमिकका क्षेत्रमा कार्यरत सङ्घसंस्थाले आप्रवासी श्रमिकको पीडालाई बेवास्ता गर्न नहुने भन्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई खुला पत्र लेखेका छन् । 

कतारमा रङ्गशाला बनाउने काममा नेपाली श्रमिकले भोगेको दुव्र्यवहारको क्षतिपूर्ति दिलाउन पर्ने भन्दै अहिले हजारौँ दर्शक रमाइरहेको ठाउँमा श्रमिकले भोगेको पीडालाई बेवास्ता गर्न नहुने भन्दै ती नेपाली सङ्घसंस्थाले खुला पत्र लेखेका हुन् । 

आप्रवासी श्रमिकलाई क्षतिपूर्ति दिन भनेर कतारले सन् २०१८ मा छुट्टै कोष स्थापना गरेको थियो तर स्वदेश फर्किएका श्रमिकले आफ्नो बाँकी तलब र क्षतिपूर्ति नपाएको र कोषमा श्रमिकको पहुँच पनि नभएको मानव अधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था एम्नेस्टीको ठहर छ । यस्तै काम गर्दागर्दै ज्यान गुमाएका श्रमिकका परिवारले पनि क्षतिपूर्ति पाउन नसकेको भन्दै पत्रमार्फत ध्यानाकर्षण गराइएको छ । 

खुला पत्रमा भनिएको छ, “श्रमिकहरूको अधिकारको सम्मान गर्न र दुव्र्यवहारमा परेका श्रमिक र आफन्त गुमाएका परिवारलाई क्षतिपूर्ति दिन सहमत भएको फिफालाई ती वाचा पूरा गर्न जियानी इन्फान्टिनोलाई आह्वान गर्न हामी एकसाथ आएका छौँ ।” 

सन् २०२२ फिफा विश्वकप आयोजना गर्न आवश्यक पर्ने विशाल पूर्वाधार परियोजना निर्माणलगायत कतारका विभिन्न क्षेत्रमा नेपालका करिब चार लाख श्रमिक कार्यरत छन् ।

एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक नीराजन थपलियाले विश्वकपको अन्तिम सिट्ठी बज्दै गर्दा ठूलो सङ्ख्याका आप्रवासी श्रमिकको योगदान र बलिदानलाई कतै बिर्सिइने त होइन, उनीहरूको न्याय र क्षतिपूर्तिको मागलाई बेवास्ता गरिने त होइन भन्ने खतरा रहेको बताउनुुभयो ।