• १३ मंसिर २०८१, बिहिबार

लोसपा गठबन्धनमा जान सहमत

blog

काठमाडौँ, मङ्सिर २८ गते ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पाँचदलीय सत्ता गठबन्धनको सरकारमा जाने विषयमा सहमत भएको छ । काठमाडौँमा मङ्गलबार बसेको लोसपाको केन्द्रीय शीर्ष नेतृत्वको बैठकले सरकारमा जान आफूहरू सहमत भएको लोसपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो । 

राजनीतिक स्थिरता र मुलुकको विकासका लागि गठबन्धनको आवश्यकता रहेकाले आफ्नो दलको शीर्ष नेतृत्वले गठबन्धनको सरकारमा सहभागी हुने साझा धारणा बनाएको उहाँले बताउनुभयो । लोसपा सत्तामा गए पनि नगए पनि गठबन्धन कायम होस् भन्ने पार्टीको सामूहिक भावना रहेको र शीर्ष नेतृत्वले सरकारमा जान आवश्यक रहेको सुझाव दिएको उहाँले बताउनुभयो । राजनीतिक अस्थिरताले विकासको काममा असर पार्ने भएकाले निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ भन्ने मान्यता पार्टीको रहेको उहाँले स्पष्ट पार्नुभयो । कोभिड–१९ महामारीपछिको समयमा जस्तोसुकै सरकार बने पनि 

राजनीतिक स्थिरता र मुलुकको समग्र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । लोसपाका वरिष्ठ नेता शरत्सिंह भण्डारीले सत्ता गठबन्धनमा सहभागी हुनेबारे पार्टीका शीर्ष नेताहरूको बैठकले निर्णय गरिसकेको बताउनुभयो । हिजो निर्वाचनमा पनि गठबन्धनमा गएको र निर्वाचनपछि पनि स्वाभाविक रूपमा सत्ता गठबन्धनमा रहने उहाँले जानकारी दिनुभयो । 

सत्ता गठबन्धनमा सहभागी हुनेबारे औपचारिक निर्णय गर्न लोसपाले पुसको पहिलो साता कार्यकारिणी समितिको बैठक बोलाउन लागेको छ । लोसपाले प्रतिनिधि सभामा चार सिटमा विजय हासिल गरे पनि तीन प्रतिशतको ‘थ्रेस होल्ड’ कटाउन नसक्दा राष्ट्रिय दल बन्न सकेन ।