• १३ असोज २०८१, आइतबार

रोनाल्डो र मेसीका उत्तराधिकारीको खोजी

blog

दोहा, मङ्सिर २६ गते । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी विश्वप फुटबलमा यस पुस्ताका दुई सर्वश्रेष्ठ फुटबलर हुनुहुन्छ । मेसी ३५ वर्ष पुगिसक्नुभयो । रोनाल्डो अझ मेसीभन्दा दुई वर्ष जेठा हुनुहुन्छ । चार वर्षपछि मेसी ३९ र रोनाल्डो ४१ वर्ष पुग्नुहुनेछ । यी दुई स्ट्राइकले अर्को विश्वकप खेले भने त्यो चमत्कार नै हुनेछ । यी दुवैले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने विश्वकपमा खेल्ने सम्भावना क्षीण छ । 

यी दुई फुटबलरले पछिल्ला १५ वर्ष विश्व फुटबलमा राज गरेका छन् । अझ रोनाल्डो र मेसीको प्रतिद्वन्द्विताले फृटबलको उचाइ माथि पुग्यो । यी दुईले मिलेर पछिल्ला १५ वर्षमा विश्वका सर्वश्रेष्ठ फुटबरलाई दिइने बालन डी ओर १२ पटक जितेका छन् । यस अवधिमा यी दुईको कुल च्याम्पियन्स लिगको उपाधि गणना गर्ने हो भने नौ हुन आउँछ ।

विश्वकैै महान् फुटबलरको सूचीमा परिसकेका यी दुई खेलाडी फुटबल जीवनको उत्तराद्र्धमा रहेको समयमा यिनका उत्तराधिकारीको खोजी हुन सुरु भइसकेको छ । कतार विश्वकप महान् फुटबलर चम्किने ठूलो मञ्च हो । त्यसैले पनि रोनाल्डो र मेसीको लोकप्रियताको नजिक पुग्ने खेलाडीको चर्चा पनि कतार विश्वकपमा भइरहेको छ ।

यस सूचीमा फ्रान्सका किलियन एमबापेको नाम सबभन्दा अगाडि आउँछ । २३ वर्षीय एमबापेले क्वाटरफाइनलअघि नै कतार विश्वकपमा ठूलो प्रभाव पारिसक्नुभएको छ । विश्व फुटबलका राजकुमारको उपमा पाएका एमबापेले चार खेलमा पाँच गोल गर्नुका साथै दुई एसिस्ट पनि गर्नुभएको छ । हालका लागि उहाँ गोल्डेन बुटका प्रमुख दाबेदार हुनुहुन्छ तर फ्रान्सका अर्का स्ट्राइकर ओलिभर जिरु भन्नुहुन्छ, “विश्वले किलियनको उत्कृष्ट प्रदर्शन अझ पनि देखेको छैन । उनी निकै प्रतिभाशाली छन् र अहिले युवा नै छन् । उनको खेलमा अझै सुधार आउनेछ; जुन विश्वका अन्य टिमका लागि ठूलो खतरा हो ।”

एमबापेले अहिलेसम्म बालन डी ओर र च्याम्पियन्स लिग भने जित्नुभएको छैन । तर एमबापेले १९ वर्षको उमेरमै विश्वकपको उपाधि जितिसक्नुभएको छ । चार वर्षअघि पनि उहाँले चार गोल गरेर फ्रान्स च्याम्पियन बन्नुमा महŒवपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो; जुन गौरव मेसी र रोनाल्डोले पनि हासिल गर्न सक्नुभएको छैन । अझ यस पटक एमबापे लगातार दोस्रो पटक विश्वविजेता बनेमा आश्चर्य हुनेछैन । एमबापेले अझ पनि दुई अथवा तीन विश्वकप खेल्ने अपेक्षा गरिएको छ । अहिले नै विश्वकपमा नौ गोल गरिसकेका एमबापेलाई विश्वकपमा सर्वाधिक गोकलर्ताको कीर्तिमान तोड्ने खेलाडीका रूपमा पनि हेरिएको छ । यो कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोज (१६ गोल)को नाममा छ ।

तेज गति र अद्भुत फुटवर्क अनि गोल गर्ने खुबीका कारण एमबापेलाई रोनाल्डो र मेसीको स्तरमा पुग्ने अपेक्षा गरिएको छ । अहिले एमबापेको स्तरलाई चुनौती दिने अन्य खेलाडी देखिएका छैनन्; जुन एमबापेका लागि पनि हानिकारक हुनसक्छ । रोनाल्डो र मेसीले एकअर्काको प्रतिद्वन्द्विताले नै अझ राम्रो खेलाडी बन्न प्रेरित गरेको प्रमाण विश्वसँग छ ।

एमबापेलाई चुनौती दिनसक्ने खेलाडीका रूपमा हाल म्यान्चेस्टर सिटीका गोलमेसिन इर्लिङ हाल्यान्ड रहनुभएको छ तर उहाँको टिम नर्वे यस पटक विश्वकपमा पनि चयन हुन सकेन । विश्वकप नभए पनि युरोपेली ट्रफी र गोल गर्ने पक्षमा हाल्यान्ड र एमबापेको प्रतिद्वन्द्विता हेर्नलायक हुनेछ ।

यस विश्वकपमा इङ्ग्ल्यान्डका १९ वर्षीय युड बेलिङ्घम स्टार खेलाडीका रूपमा चम्किनुभएको छ । उहाँको शानदार प्रदर्शनमा इङ्ग्ल्यान्ड कतार विश्वकपको अन्तिम आठमा पनि पुगिसकेको छ । अब क्वाटरफाइनलमा बेलिङ्घम र एमबापे एकअर्काको आमनेसामने खडा हुनुहुनेछ । नेदरल्यान्ड्सका फरवार्ड कोडी गाप्को पनि यस विश्वकपमा चम्किएका अर्का युवा खेलाडी हुनुहुन्छ । विश्वकपमा शानदार प्रदर्शनपछि उहाँलाई म्यान्चेस्टर युनाइटेडले आफ्नो टिममा भिœयाउने हल्ला चलिसकेको छ तर अहिले पीएसभी आइन्डहोभनबाट खेलिरहेका गाक्पोले ‘इलाइट’ खेलाडीको सूचीमा पर्न धेरै मेहनत गर्नुपर्नेछ । यद्यपि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गाल भन्नुुुहुन्छ, “कोडीसँग सुपरस्टार खेलाडी बन्ने क्षमता छ ।”

पोर्चुगलका योआवा फेलिक्सलाई पनि केही वर्षअघि रोनाल्डो र मेसीको स्थान लिन सक्ने खेलाडी मानिएको थियो । तर, एट्लेटिको म्याड्रिडमा आएपछि उहाँले आफ्नो क्षमताअनुसार खेल्न सक्नुभएन । पोर्चुगलबाट खेल्दा पनि उहाँ रोनाल्डोको छायामा पर्नुभयो ।

२२ वर्षीय भिन्सियस जुनियरलाई भने ब्राजिल मात्र होइन, विश्वकै अर्को आइकन बन्ने खेलाडीका रूपमा हेरिएको छ । रियल म्याड्रिडका जुनियरले अहिले विश्वकपमा आफूलाई साबित पनि गरिरहनुभएको छ । यसैगरी अर्जेन्टिनाका जुलियन अल्भारेज, जर्मनीका जमान मुसियला, स्पेनका गाभी र पेड्री पनि भविष्यका सुपरस्टार बन्न सक्नुहुनेछ । यी सबै खेलाडी मैदानमा पार्ने प्रभाव र स्टार अपिलमा एमबापेको नजिक भने छैनन् । एपी