• १३ जेठ २०८१, आइतबार

अर्जेन्टिना उपाधिबाट दुई खेल टाढा

blog

लुसैल (कतार), मङ्सिर २५ गते । कतार विश्वकप फुटबल प्रतियोगितामा लियोनेल मेसीको टिम अर्जेन्टिना शनिबार बिहान नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ४–३ ले हराएर सेमिफाइनलमा पुगेको छ। निर्धारित र थप ३० मिनेटको खेल २–२ ले बराबरीमा सकिएपछि टाइब्रेकरमा हारजितको छिनोफानो भएको हो।

विश्वको सर्वश्रेष्ठ फुटबलर मेसीलाई अहिलेसम्म विश्वकप उपाधिले लोभ्याइरहेको छ। अब मेसी र अर्जेन्टिना विश्वकप उपाधिबाट मात्र दुई खेल टाढा भएको छ। अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाविरुद्ध खेल्नेछ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा मेसी ‘म्यान अफ दी म्याच’ बन्नुभयो। खेलको ३५औँ मिनेटमा मेसीको अविश्वसनीय पासमा नाहुयल मोलिनाले गोल गरी अर्जेन्टिनालाई अगाडि पार्नुभएको थियो। मेसीको सो पास कलात्मक र दूर दृष्टिले भरिपूर्ण थियो। मैदानको बीचमै बल प्राप्त गरेपछि मेसीले बल अगाडि बढाउँदै पहिले नेदरल्यान्ड्सका डिफेन्डरलाई असन्तुलित बनाउनुभयो। त्यसपछि नहेरिकनै उहाँले रिभर्स पास दिनुभएको थियो। सोही पासमा मोलिनाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गर्नुभयो। खेलको ७३औँ मिनेटमा मेसीले पेनाल्टीमा गोल गर्नुभयो। डेन्जेल डम्फ्रिजले मार्कस अकुनालाई डिबक्समा लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको हो। चालू विश्वकपमा चार गोल गरेर मेसी गोल्डेन बुटको होडमा पनि हुनुहुन्छ। यसैगरी उहाँको विश्वकपमा कुल गोलसङ्ख्या दस पुगेको छ। मेसीले अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने गाब्रियल बाटिस्टुटाको कीर्तिमानसँग बराबर गर्नुभएको छ। मेसीले १६९ अन्तर्राष्ट्रिय खेलमा ९४ गोल गर्नुभएको छ।

नेदरल्यान्ड्सको पुनरागमन

नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो टिम दुई गोलले पछाडि परेपछि अग्ला स्टाइकरद्वय वाउट वेगहस्र्ट र लुक डि योङलाई मैदानमा छिराउनुभयो। सेन्टर ब्याक भर्जिल भान डिकलाई पनि अगाडि आएर खेल्न भन्नुभयो। त्यसपछि अचानक नेदरल्यान्ड्स फरक टिमको रूपमा प्रस्तुत भयो। खेलको ७८औँ मिनेटमा दायाँ भागबाट आएको क्रस हेडमार्फत गोल गरी वेगहस्र्टले नेदरल्यान्ड्सलाई खेलमा फर्काउनुभयो। त्यसपछि इन्जुरी समयको एघारौँ मिनेटमा उहाँले टिउन कुपमाइनर्सले डिबकसबाहिर प्राप्त फ्रिकिकमा दिएको चलाखीपूर्ण पासमा वेगहस्र्टले गोल गरी खेल बराबर गर्नुभयो र खेल अतिरिक्त समयमा धकेलियो। थप ३० मिनेटमा पनि स्कोर २–२ नै रह्यो।

पेनाल्टी विशेषज्ञ मार्टिनेज

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज पुन नायक बन्नुभयो। मार्टिनेजले नेदरल्यान्ड्सको सुरुका दुई प्रहारमा भान डिक र स्टेफन बर्गिसको प्रहार विफल पारेपछि अर्जेन्टिनाको जितको ढोका खुलेको हो। विश्वकपमा मार्टिनेजले पेनाल्टी सुटआउटमा अर्जेन्टिनालाई जित दिलाएको पहिलो पटक हो। यद्यपि उहाँले गत कोपा अमेरिकाको सेमिफाइनलमा पनि कोलम्बियाविरुद्धको टाइब्रेकरमा तीन पेनाल्टी जोगाउनुभएको थियो। त्यसपछि अर्जेन्टिनाले घरेलु टिम ब्राजिललाई हराएर कोपा अमेरिकाको उपाधि नै जित्यो। अर्जेन्टिनाका लागि पेनाल्टी सुटआउटमा मेसीले पनि गोल गर्नुभयो। विजयी पेनाल्टी भने लाउटारो मार्टिनेजले प्रहार गर्नुभएको थियो।

सर्वाधिक कार्डको कीर्तिमान

अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलमा स्पेनी रेफ्री एन्टोनिया मोटियुले १७ पहेँलो कार्ड देखाउनुभयो। जुन विश्वकपमा कीर्तिमान हो। रेफ्रीले देखाएका कार्डमध्ये दुईवटा डम्फ्रिजविरुद्ध थियो र उहाँले मैदान पनि छोड्नु प¥यो। तनावपूर्ण खेलमा मेसीले पनि पहेँलो कार्ड पाउनुभयो। यसैगरी अर्जेन्टिनाका डिफेन्डर मार्कस अकुना र गान्जालो मोन्टियलका लागि भने पहेँलो कार्ड हानिकारक बनेको छ। यी दुवैले दोस्रो पहेँलो कार्ड बेहोरेपछि क्रोएसियाविरुद्धको सेमिफाइनल गुमाउने हुनुभएको छ। एपी