• ७ वैशाख २०८१, शुक्रबार

टाइब्रेकरमा ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

blog

ब्राजिललाई हराएपछि क्रोएसियाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मंसिर २३ गते । साविक उपविजेता क्रोएसिया कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । एजुकेशन सिटी स्टेडियममा शुक्रबार राति भएको रोचक खेलमा ब्राजिललाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै  क्रोएसिया सेमिफाइनलमा पुगेको हो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट गोल रहित बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त समयमा १-१ गोलको बराबरीमा सकिएको खेलको निर्णय टाइब्रेकरबाट भएको हो । अतिरिक्त समयमा अन्तिम तीन मिनेट सम्हालिन नसकेको ब्राजिल टाइब्रेकरमा पुगेर स्तब्ध बन्यो । 

खेलमा सुरुवाती अग्रता ब्राजिलले लिएको थियो । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले उत्कृष्ट गोल गर्दै ब्राजिललाई अग्रता दिलाउनुभयो ।


डिबक्स भित्र क्रोएसियाका रक्षकलाई छल्दै नेयमारले गोल गर्नुभएको थियो । नेयमारको यो ब्राजिलका लागि ७७औं गोल हो । यस गोलसँगै नेयमारले ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेको ७७ गोलको कीर्तिमानसँग बराबरी गर्नुभएको छ ।

तर, ब्राजिलको उत्साहलाई क्रोएसियाले एक सय १७औं मिनेटमा निरास बनायो । क्रोएसियाका ब्रुनी पेट्कोभिचले ब्राजिलका रक्षकको गल्तीमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

त्यसपछि पेनाल्टीमा क्रोएसिया भाग्यमानी बन्यो । सर्वाधिक पाँच पकटको विजेता ब्राजिलको यात्रा अन्तिम आठमै सकियो । टाइब्रेकरमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गर्नुभयो ।

ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गर्नुभयो ।  रोड्रिगो र मार्किन्होस चुक्नुभएको थियो । रोड्रिगोको प्रहारलाई क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाउनुभयो ।

मार्किन्होसको प्रहार पोलमा लागेर बाहिरिएको थियो । यस जितसँगै क्रोएसिया जारी विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । एजेन्सी