• २० मंसिर २०८१, बिहिबार

संघ, प्रदेश र स्थानीय तह निर्वाचन

यस्तो छ प्रमुख दलले प्राप्त गरेका तुलनात्मक मतभार

blog

काठमाडौं, मंसिर २३ गते । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत परिणाम सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार राजसंस्थाको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी राष्ट्रिय दलको रुपमा स्थापित भएका छन् । 

यसअघि राष्ट्रिय दलको रुपमा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले भने समानुपातिक निर्वाचनमा थ्रेसहोल्ड कटाउन सकेनन् ।  

प्रत्यक्षतर्फ कांग्रेस पहिलो 

प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७ र समानुपातिकतर्फ ३२ स्थानमा गरी जम्मा ८९ सिटसहित संसदको पहिलो दल बनेको छ । नेकपा (एमाले) ले प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ गरी जम्मा ७७ सिटसहित दोस्रो भएको छ । 

नेकपा (माओवादी केन्द्र) प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी ३२ सिट र जनता समाजवादी पार्टीले ७ र समानुपातिकमा ५ गरी १२ सिट प्राप्त गरेको छ । 

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेको छ ।  तर  समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सकेन । यस पटकको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी गरी ७ दल मात्र राष्ट्रिय दल बन्न सफल भए । 

राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४, रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरी २० सिट जितेको छ । जनमत पार्टीले प्रत्यक्षमा १ र समानुपातिकमा ५ गरी जम्मा ६ सिट प्राप्त गरेको छ । 

प्रतिनिधि सभा सदस्य प्रत्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चाले १, नेपाल मजदुर किसान पार्टीले १ र स्वतन्त्र उम्मेदवार ५ स्थानमा विजयी भएका छन् । प्रतिनिधि सभामा १२ राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । 

समानुपातिकतर्फ एमाले पहिलो 

निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फको मत गणनामा एमाले २८ लाख ४५ हजार ६४१ अर्थात् ३०.६९ प्रतिशतसहित पहिलो स्थानमा छ । कांग्रेसले २७ लाख १५ हजार २२५ अर्थात् २९.२९ प्रतिशत मतसहित दोस्रोमा चित्त बुझाएको छ । 

माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ अर्थात् १२.६८ प्रतिशत मतसहित तेस्रो बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ अर्थात् १२.१९ प्रतिशत मत, राप्रपाले पाँच लाख ८८ हजार ८४९ अर्थात् ६.३५ प्रतिशत मत, जसपाले चार लाख २१ हजार ३१४ अर्थात् ४.५४ प्रतिशत मत र जनमत पार्टीले तीन लाख ९४ हजार ६५५ अर्थात् ४.२६ प्रतिशत मत प्राप्त गरेको छ ।  

सत्ता साझेदार दल एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेकाले थ्रेसहोल्ड कटाउन सकेन । यसअघि राष्ट्रिय दलको रुपमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले पनि एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेको छ । यस पटक नयाँ दलको रुपमा निर्वाचन लडेको रास्वपासहित राप्रपा, जनमत पार्टी राष्ट्रिय दलको रुपमा आएको छ ।

समानुपातिक सिट सङ्ख्या निर्धारण 

प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७९’ को दफा ३३ मा भएको ‘सीटको बाँडफाँट गर्ने’ शीर्षक अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको मत गणना तालिका प्राप्त भएपछि निर्वाचन अधिकृतले दलले प्राप्त गरेको सदर मत जोडी त्यस्तो दलले प्राप्त गरेको कुल मत सङ्ख्या यकिन गर्नुपर्ने व्यवस्था छ ।

निर्वाचन आयोगका समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले दलहरुले प्राप्त गरेको निश्चित मतलाई बिजोर सङ्ख्याले भाग गरेर समानुपातिक सदस्य निर्वाचित हुने प्रणाली रहेको बताउनुभयो । गोरखापत्र अनलाइनसँग कुरा गर्दै उहाँले भन्नुभयो, “समानुपातिकमा ११० सदस्य निर्वाचित गर्नुपर्दा दलले पाएको निश्चित मतलाई १, ३, ५, ७, ९.....गर्दै १११ सम्मको बिजोर सङ्ख्याले भाग गर्नुपर्छ ।”

समानुपातिकतर्फ प्रदेश १ मा एमालेले १५, कांग्रेसले १२, राप्रपाले चार, माओवादी केन्द्रले चार, जसपाले एक र एकीकृत समाजवादीले एक सिट प्राप्त गरेको छ । 

सो निर्देशिकाको दफा ३४ मा उल्लेख भएबमोजिम मत परिणाम विभाजक सूत्र अन्तर्गत दलले प्राप्त गरेको मत परिणामलाई १ देखि १११ सम्मको बिजोर सङ्ख्या (कुल उम्मेदवारको सङ्ख्या अनुसार हुने) भाजकहरुले भाग गरिने र त्यसबाट प्राप्त भागफललाई क्योसेन्ट भनिन्छ । उपदफा २ मा ठूलो भागफलबाट सानो भागफलसम्म बाँडफाँट गरिने व्यवस्था छ । 

प्रदेशगत अग्रता 

प्रदेशसभाको समानुपातिकतर्फ पनि ‘प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९’ मा व्यवस्था भएबमोजिम सदस्य निर्वाचित हुनुहुनेछ । प्रदेशसभा प्रत्यक्षतर्फ ३३० सदस्य निर्वाचित हुने व्यवस्था छ । 

समानुपातिकतर्फ प्रदेश १ मा एमालेले १५, कांग्रेसले १२, राप्रपाले चार, माओवादी केन्द्रले चार, जसपाले एक र एकीकृत समाजवादीले एक सिट प्राप्त गरेको छ । 

मधेश प्रदेशमा कांग्रेसले नौ, नेकपा (एमाले) ८,  जनमत पार्टीले सात, जसपाले सात, माओवादी केन्द्रले चार, एकीकृत समाजवादीले तीन, लोेसपाले दुई, राप्रपाले एक, नेपाल संघीय समाजवादी पार्टीले एक र नागरिक उन्मुक्ति पार्टीले एक सिट सङ्ख्या प्राप्त गरेको छ ।

बागमती प्रदेशमा एमालेले १४, कांग्रेसले १२, माओवादी केन्द्रले सात, राप्रपाले ६, एकीकृत समाजवादीले दुई, नेपाल मजदुर किसान पार्टीले दुई र हाम्रो नेपाली पार्टीले एक स्थानमा विजयी भएका छन् । गण्डकी प्रदेशमा एमालेले दश, कांग्रेसले नौ, माओवादी केन्द्रले तीन, राप्रपाले दुई स्थान प्राप्त गरेको छ । 

मधेश प्रदेशमा कांग्रेसले नौ, नेकपा (एमाले) ८,  जनमत पार्टीले सात, जसपाले सात, माओवादी केन्द्रले चार, एकीकृत समाजवादीले तीन, लोेसपाले दुई, राप्रपाले एक, नेपाल संघीय समाजवादी पार्टीले एक र नागरिक उन्मुक्ति पार्टीले एक सिट सङ्ख्या प्राप्त गरेको छ ।

लुम्बिनीमा एमाले ११, कांग्रेस १०, माओवादी केन्द्रले चार, राप्रपाले दुई, नागरिक उन्मुक्ति पार्टीले दुई, जनमत पार्टीले दुई, जसपा, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले एक–एक स्थान प्राप्त गरेको छ ।

कर्णालीमा एमाले र कांग्रेसले पाँच–पाँच, माओवादी केन्द्रले चार, एकीकृत समाजवादी र राप्रपाले एक–एक स्थान प्राप्त गरेको छ । 

सुदूरपश्चिम प्रदेशमा एमाले र कांग्रेसले सात–सात, माओवादीले तीन, नागरिक उन्मुक्ति पार्टीले दुई, राप्रपा र एकीकृत समाजवादीले एक–एक सिट जित्नुभएको छ ।   

स्थानीय तह निर्वाचन  

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी जम्मा पालिका सङ्ख्या ७५३ छ । निर्वाचन आयोगका अनुसार गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कुल मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार ७२३ थियो । सो निर्वाचनमा ७०.९६ प्रतिशत मतदान भयो । एक लाख ४५ हजार १३ उम्मेदवारमध्ये निर्वाचित हुने कुल पद सङ्ख्या ३५ हजार २२१ रहेको थियो । स्थानीय तह निर्वाचनमा दलले प्राप्त गरेका परिणाम तल उल्लेख गरिएको छ । 

नेपाली कांग्रेस 

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले १३७ पुरुष र चार महिला गरी १४१ नगरप्रमुखमा जित हासिल गरी पहिलो दल बनेको थियो । निर्वाचन आयोगका अनुसार कांग्रेसले नगर प्रमुखमा २२ लाख ७९ हजार ३६३ अर्थात् ३३.५६ प्रतिशत मत प्राप्त गरेको थियो । उपप्रमुखमा २२ पुरुष र ८८ महिला गरी ११० स्थानमा १५ लाख १५ हजार ३९८ अर्थात् २४.२० प्रतिशत मत पाएको थियो ।

नेकपा (एमाले)

स्थानीय तह निर्वाचनमा दोस्रो बनेको एमालेले ७७ पुरुष र ६ महिला गरी जम्मा ८३ वटा  प्रमुख पदमा २३ लाख ४८ हजार ७०९ अर्थात् ३४.५८ प्रतिशत मत प्राप्त गरेको छ । ११ पुरुष र १०४ महिला गरी जम्मा ११५ स्थानको उपप्रमुख २२ लाख ७० हजार ३२४ अर्थात् ३६.२५ प्रतिशत मत पायो । प्रमुख पद संख्यामा कांग्रेसभन्दा एमाले पछाडि रहे पनि मतभार प्रतिशतमा एमाले पहिलो देखिएको छ ।  

नेकपा (माओवादी केन्द्र) 

स्थानीय तहमा तेस्रो स्थान प्राप्त गरेको माओवादी केन्द्रले प्रमुखमा २४ पुरुष र एक महिला गरी २५ स्थानमा छ लाख २७ हजार ६९३ अर्थात् ९.२४ प्रतिशत मत पाएको थियो । उपप्रमुखमा १८ पुरुष र १५ महिला गरी जम्मा ३३ स्थानमा नौ लाख ४९ हजार ८५८ अर्थात् १५.९८ प्रतिशत मत प्राप्त गरेको थियो ।  

नेकपा (एकीकृत समाजवादी) 

नेकपा (एकीकृत समाजवादी) ले ११ पुरुष एक महिला गरी जम्मा १२ वटा प्रमुख पदमा तीन लाख १८ हजार २६० अर्थात् ४.६९ प्रतिशत मत प्राप्त गरेको छ । चार पुरुष र सात महिला गरी ११ उपप्रमुखमा तीन लाख ८८ हजार २०५ अर्थात् छ प्रतिशत मत प्राप्त गरेको छ । 

जनता समाजवादी पार्टी 

यसैगरी, जसपाले नौ प्रमुख (सबै पुरुष) मा तीन लाख तीन हजार २६१ अर्थात् ४.४६ प्रतिशत र दुई पुरुष दश महिला गरी १२ उपप्रमुखमा तीन लाख २१ हजार ८९३ अर्थात् ५.१४ प्रतिशत मत प्राप्त गरेको थियो ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।