• १६ चैत २०८०, शुक्रबार

निर्माण हुँदै सुन्दरबजारको कोसेली घर

blog

लमजुङको सुन्दरबजार नगरपालिकामा निर्माण गरिएको कोसेली घर । तस्बिर: बेलिना थापा

बेलिना थापा

लमजुङ, मङ्सिर २३ गते ।  लमजुङको सुन्दरबजार नगरपालिकामा कोसेली घर निर्माण थालिएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले नगरपालिकाले कोसेली घर निर्माण थालेको जनाएको छ ।

नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार नगरपालिकाको वडा नं. ६ ठाँचीचौरस्थित प्रशासकीय भवन परिसरभित्र निर्माण सुरु गरिएको हो । कोसेली घर निर्माणपछि नगरपालिकाका ११ वटै वडाका स्थानीय उत्पादनलाई प्राथमिकताका साथ राखिने बताउनुभयो । स्थानीयले उत्पादन गरेका सामग्री राख्नका लागि घर निर्माण गरिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले अबको एक महिनाभित्र कोसेली घर निर्माण सकिने बताउनुभयो । कोसेली घर दुई तलाको हुनेछ । परम्परागत शैलीमा गोलाकार घर बनाइएको छ । माथिल्लो तलामा ढुङ्गाले छाइनेछ । अन्य पालिकाको भ्रमण गरेपछि २०७८/०७९ को जेठबाट निर्माण थालिएको हो । कोसेली घरमा ऐतिहासिक फोटोहरू झल्किने गरी रंगरोगन हुनेछ । माथिल्लो तल्लामा सङ्ग्रहालय निर्माण गरिनेछ । यसले पर्यटक प्रवर्द्धन हुने विश्वास लिइएको छ ।

नगरपालिकाका योजना अधिकृत एवं सूचना अधिकारी ऋषिराम पौडेलका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा मेड्पा कार्यक्रमले ५ लाख रुपियाँ विनियोजन गरेको थियो । २०७७/०७८ मै नगरपालिकाले ५ लाख विनियोजन गरेको थियो । नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा पनि ५ लाख विनियोजन गरेको हो । कुल १५ लाख रुपियाँमा कोसेली घर निर्माण भइरहेको बताउनुभयो ।

स्थानीय उत्पादनलाई प्रदर्शनीमा राखिने उहाँले बताउनुभयो । नगरको उद्यमलाई टेवा पुर्याउन कोसेली घर निर्माण गरिएको जनाएको छ । नगरपालिकाका अनुसार उक्त कोसेली घर सञ्चालनका लागि कुनै इच्छुक व्यवसायीलाई भाडामा दिइनेछ । त्यहाँ गाउँ गाउँमा उत्पादित वस्तु राखिनेछ । गाउँमा उत्पादन भएको गुन्द्रुक, भटमास, मह, कोदो, रक्सी, कागुनु, फापर, आलु, अन्य तरकारीहरू, हातले बुनेका सामग्री राखिनेछ । होमस्टे गाउँबाट आएको अर्ग्यानिक उत्पादनलाई नगरपालिका भ्रमण गर्न आउनेलाई कोसेली रूपमा पठाउन सकिनेछ । किनेर लान सक्नेछन् । स्थानीयले सामूहिक वा व्यक्तिगत रूपमा स्थानीय स्रोत र साधनको प्रयोग गरी उत्पादित सामग्री राखेर विक्री वितरण हुने छ । पालिकाले उद्यमशीलतालाई प्रवर्द्धन गर्न कोसेली घर निर्माण गरेको जनाएको छ ।