• १६ चैत २०८०, शुक्रबार

फुटबल प्रशिक्षकसँग विश्वकप चर्चा

"नेपालले विश्वकप खेल्न सय वर्ष कुर्नुपर्छ"

blog

काठमाडौं, मंसिर २२ गते। विश्व फुटबलको महाकूम्भ २२औं संस्करणको फिफा विश्वकप फुटबल जारी छ।  अमेरिकामा बस्दै आउनुभएका फुटबल प्रशिक्षक प्रदीप हुमागाईं पनि अहिले नेपालमै बसेर एसियाली देश कतारमा जारी विश्वकपलाई नियाली रहनुभएको छ। 

‘‘म फुटबललाई माया गर्ने मान्छे हुँ। बच्चैदेखि विश्वकप हेर्न मरिहत्ते गरिन्थ्यो। विस्तारै फुटबलमै भविष्य खोजेँ। यही फुटबललाई आफ्नो सपना बनाएर हिँड्दै छु। विश्वकपको हरेक खेल घरमै बसेर हेरिहरेको छु। विश्वकप हामी जस्ता फुटबल कर्मीका लागि प्राविधिक रुपमा ज्ञान लिने ठूलो ‘प्लेटफर्म’ हो,’’ ३९ वर्षीय हुमागाईंले भन्नुभयो।

दुई सय ११ देशबाट छनोट भएर कतार पुगेका ३२ देशबीचको विश्वकप भिडन्त अहिले क्वाटरफाइनलमा पुगेको छ। समूह चरणदेखि क्वाटरफाइनलसम्म आइपुग्दा ठूला र सोचेकै टोलीले राम्रो प्रर्दशन गरिरहेको हुमागाईंले बताउनुभयो। 

‘‘फुटबलमा दीर्घकालीन सोच राखेर प्राविधिक रुपले ठूलो लगानी गरेका देशको वर्चस्व कायम छ। नतिजाले पनि त्यही देखाइरहेको छ। यसपटक एसियाली देशको प्रदर्शन राम्रो भयो। जापान, दक्षिण कोरिया, साउदी अरब अष्ट्रेलियाले बलियो टोलीलाई दबाब दिए। युरोप र दक्षिण अमेरिकी देशलाई फाइनलमै पुगेर टक्कर दिन एसियाली देशलाई अझै समय लाग्ने देखिन्छ। जापान र दक्षिण कोरियाले पछिल्लो समय फुटबलमा धेरै राम्रो गरिरहेका छन्,’’ हुमागाईले भन्नुभयो। 

हुमागाईंले यसपटकको विश्वकप ब्राजिलले लैजाने आफ्नो दाबी रहेको पनि बताउनुभयो। ‘‘सानैमा फुटबल हेर्न सुरु गरेदेखि म ब्राजिलको फ्यान हुँ। उसको खेल्ने शैली राम्रो छ। ब्राजिलको आक्रामक र रक्षात्मक दुवै पक्ष राम्रो छ। त्यसैले विश्वकप ब्राजिलले नै जितोस् भन्ने सुभेक्षा छ। तर, विश्वकपको क्वाटरफाइनलमा बलिया टोली आएका छन्। जर्मनी र स्पेन छिटो बाहिरिए। अफ्रिकन टोली मोरक्कोले यसपटक राम्रो गरिरहेको छ,’’ हुमागाईंले भन्नुभयो। 

अमेरिकाको फिलाडेल्फिया युनियन फुटबल क्लबको युथ टिमको प्रशिक्षक रहनुभएका हुमागाईं गत असोज महिनादेखि नेपालमै हुनुहुन्छ। उहाँ असोज ११ गते दशरथ रंगशालामा भएको नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलमा नेपालको प्रशिक्षक बन्न नेपाल आउनुभएको हो। 

हुमागाईंको प्रशिक्षणमा नेपालले घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशलाई ३-१ गोलले हराएको थियो। नेपालको जितमा अन्जन विष्टले ह्याट्रिक गर्नुभएको थियो। हुमागाईले राष्ट्रिय टोली सम्हाल्न पाउनु आफ्ना लागि भाग्यको कुरा भएको बताउनुभयो। 


अमेरिकाको पेन्सिलभेनियाको स्ट्रर्सवर्ग स्थित किस्टोन एथलेटिक्स एकेडेमीको टेक्निकल डाइरेक्टर सम्हाल्नुभएका हुमागाईंले आफ्नो प्रशिक्षणमा ललितपुरको थ्रीस्टार क्लबलाई शहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनाइसक्नुभएको छ। उहाँ गत सिजनको नेपाल सुपर लिग फ्रेन्चाइज फुटबलमा ललितपुरको प्रशिक्षक समेत हुनुहुन्थ्यो। नेपाली फुटबलमा काम गर्न आफू सँधै तयार रहेको हुमागाईंको भनाइ छ। 

नेपाली फुटबलको बारे राम्रो जानकार हुमागाईं नेपालले विश्वकप खेल्ने सपना अझै ५०, ६० देखि सय वर्ष पुरा नहुने बताउनुहुन्छ। विश्वकपमा पुग्न नेपाली फुटबलको ग्रासरुट संरचनामा ध्यान दिन आवश्यक रहेको उहाँको सुझाव छ। 

‘‘हाम्रो लागि विश्वकप धेरै टाढाको सपना हो। फुटबल विकासका लागि क्लबहरुले एकेडेमी स्थापना गरेर अगाडि बढ्नु आवश्यक छ। फुटबलमा लागेको छु भनेर दिन बिताएर मात्र काम छैन। क्लबहरुले आफैं पुँजी तयार गरेर लिग खेल्ने वातवरण बनाउनु पर्छ। अनि मात्र फुटबल व्यवसायिक बन्ने हो। त्यससँगै प्रदर्शनमा सुधार आउने उहाँको भनाइ छ। ‘‘सरकार र फुटबल संघले पनि यसमा चासो दिन आवश्यक छ। सबै पक्ष लाग्नु पर्छ’’, उहाँले थप्नुभयो।  फुटबल प्रशिक्षक प्रदीप हुमागाईंसँगको कुराकानीका आधारमा विश्वकप फुटबल र नेपाली फुटबलको अवस्था बारेमा गोरखापत्र अनलाइनका लागि गोविन्द रेग्मी र मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो अन्तवार्ताः