• १६ चैत २०८०, शुक्रबार

स्पेनलाई टाइब्रेकरमा हराउँदै मोरोक्को क्वार्टरफाइनलमा

blog

स्पेनलाई हराएपछि मोरोक्कोका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मंसिर २१ गते । स्पेनलाई टाइब्रेकरमा स्तब्ध बनाउँदै मोरोक्को कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

एजुकेशन सिटी स्टेडियममा मंगलबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा मोरोक्कोले स्पेनलाई टाइब्रेकरमा ३-० गोलले हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा समेत गोलरहित बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेर मोरोक्कोले बाजी मारेको हो । 


टाइब्रेकरमा मोरोक्कोका अब्देलहामिद साबिरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गर्नुभयो । बदर बनोउनको प्रहार स्पेनका गोलरक्षक युनाई सिमोनले बचाउनुभयो ।

यता टाइब्रेकरमा स्पेनका कुनैपनि खेलाडीले गोल गर्न सकेनन् । पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लागेको थियो । कार्लोस सोलेर र सर्जियो बुस्केट्सको पेनाल्टी प्रहारलाई मोरोक्कोका गोलरक्षक यासिन बोनोले बचाउँदै टोलीलाई अन्तिम आठको यात्रा तय गराउनुभयो ।

जितसँगै अफ्रिकन टोली मोरोक्को पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । यसअघि मोरोक्को सन् १९८६ को विश्वकपमा अन्तिम १६ मा पुगेको थियो । त्यो नै मोरक्कोको विश्वकपमा उत्कृष्ट नतिजा थियो ।

मोरोक्को विश्वकपको क्वार्टरफाइनलमा पुग्ने चौथो अफ्रिकन देश समेत बनेको छ । यसअघि सन् १९९० मा क्यामरुन, सन् २००२ मा सेनेगल र सन् २०१० मा घानाले क्वार्टरफाइनलमा स्थान बनाएका थिए ।

क्वार्टरफाइनलमा मोरोक्कोले पोर्चुगल र स्वीट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ । पोर्चुगल र स्वीट्जरल्यान्डको खेल आजै राति हुनेछ । सन् २०१० को विजेता स्पेन लगातार दोस्रो पटक क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

अघिल्लो संस्करणमा पनि स्पेन टाइब्रेकरमा रसियासँग पराजित भएको थियो । त्यसअघि स्पेन सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । एजेन्सी