• ८ वैशाख २०८१, शनिबार

पुल मर्मत नहुँदा आवागमनमा अप्ठ्यारो

blog

बाजुरा समाचारदाता

बाजुरा, मङ्सिर २० गते । बाढीपहिरोका कारण भत्किएका बाजुराका झन्डै नौवटा झोलुङ्गे पुल अहिलेसम्म मर्मत हुन सकेका छैनन्। ती पुल मर्मत नहुँदा स्थानीयलाई आउजाउमा निकै सास्ती परेको छ।

२०७८/०७९ को साउनमा आएको बाढीपहिरोले बाजुराका झन्डै १२५ झोलुङ्गे पुलमध्ये नौवटा पूर्ण रूपमा क्षति भएका थिए।  खप्तड छेडेदह गाउँपालिका–३, गुदुका स्थानीय पार्वती रावतले गत बर्खाको बाढीपहिरोले गुदुखोलाको झोलुङ्गे पुल भत्काएपछि  अहिले आउजाउ गर्न निकै सास्ती खेप्नुपरेको बताउनुभयो। 

उहाँले हिउँदमा त खोलामा पानीको बहाव घट्ने भएकाले तरेर आउजाउ गर्न सकिए पनि बर्खा लागेपछि पानीको बहाव पनि बढ्दै जाने गरेकाले आउजाउ गर्न समस्या भएको बताउनुभयो। गत बर्खाको बाढीपहिरोले गौमूल गाउँपालिकाको घटमुना, सिममाडी, माडी, बडिमालिका नगरपालिकाको भत्तेबगर, जडाङ्गा स्वामिकार्तिक र जगनाथ खप्तड छेडेदह गाउँपालिका गुदुगाडलगायतका स्थानमा रहेको झोलुङ्गे पुलमा क्षति पुर्‍याएको थियो। गौमूल गाउँपालिकाको अजयकोट, सिममाडी, अदरा, ओडार, जडाङ्गा त्रिवेणी नगरपालिकाको फल्ने तोला स्वामिकार्तिक र जगनाथको बालुवामा रहेको झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएको थियो।

बाजुरामा रहेका झन्डै १२५ झोलुङ्गे पुलमध्ये नौवटा पुलमा निकै क्षति भएपछि स्थानीय सरकारको पहलमा अहिले ती पुल मर्मत गर्ने तयारी भइरहेको पिसविन बाजुराका झोलुङ्गे पुलहरू टेक्निल अफिसर खडक जोशीले बताउनुभयो। उहाँले भन्नुभयो, “बाजुरामा रहेका झोलुङ्गे पुल गत बर्खाको बाढीपहिरोले कोही पूर्ण रूपमा क्षति भएका छन्। कोही आंशिक रूपमा क्षति छन्।”

बाढीपहिरोले पुल क्षति भएपछि अहिले ती पुलबाट स्थानीयलाई एक गाउँ अर्को गाउँसम्म आउजाउ गर्न निकै समस्या भएपछि स्थानीय सरकार पिसविन बाजुराको सामाजिक प्राविधिक सहयोगमा पुनः मर्मत हुन थालेको जनाइएको छ। भत्किएका अधिकांश ती झोलुङ्गे पुलको डीपीआर भइसकेको र केही पुलको काम पनि तत्काल सुरु हुनेभएका छन्।