• ११ वैशाख २०८१, मङ्गलबार

दमकल किन्न महोत्सव

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, मङ्सिर २० गते । सिन्धुली जिल्लामा आगलागीका घटना न्यूनीकरण गर्न महोत्सव आयोजना गरी दमकल खरिद गर्ने तयारी गरिएको छ । कमलामाई नगरपालिका र सिन्धुली उद्योग वाणिज्य सङ्घको आयोजनामा जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा पुस ८ देखि १८ गतेसम्म छैटौँ सिन्धुली महोत्सव–२०७९ आयोजना गरी दमकल खरिद गर्ने योजना बनाइएको छ । “पुस ८ देखि १० दिनसम्म छैटौँ सिन्धुली महोत्सव आयोजना गर्ने तयारी भइरहेको छ,” सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले भन्नुभयो । महोत्सवको मुख्य उद्देश्य रकम जुटाएर शक्तिशाली दमकल किन्ने योजना बनाइएको छ । दमकल खरिद गर्न एक करोड २५ लाख रुपियाँ लाग्ने पनि उहाँले सुनाउनुभयो । महोत्सवमा तीन सयवटा स्टल रहनेछन् । उहाँका अनुसार जिल्ला सदरमुकाममा कमलामाई नगरपालिकासँग कम क्षमताको एउटा मात्र दमकल छ । एउटा दमकलले बढ्दो आगालीका घटना न्यूनीकरण गर्न समस्या भएको छ । यसका कारण आगलागीका घटनाबाट जिल्लाले बर्सेनि करोडौँको क्षति सहनु परेको छ । 

गत वर्ष जिल्ला सदरमुकामस्थित रातमाटामा रहेको एक हार्डवेयर पसलमा भएको आगलागीबाट करोडौँको धनमाल जलेर नष्ट हुनुका साथै पाँचवटा भवन जलेर क्षति भएको थियो । त्यति बेला कमलामाई नगरपालिकासँग भएको दमकलले आगालागी नियन्त्रण गर्न नसकेपछि रामेछाप र दुधौली नगरपालिकाबाट थप दुईवटा दमकल झिकाई बल्ल उक्त आगालागी नियन्त्रण भएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

नौवटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा दुधौली नगरपालिकासहित दुईवटा स्थानीय तहमा मात्रै हाल दुईवटा दमकल छन् । अझै सातवटा स्थानीय तह दमकलविहीन छन् । कमलामाई नगरपालिकाका वातावरण शाखा प्रमुख सागरकुमार ढकालका अनुसार उक्त नगरपालिकाले आर्थिक वर्ष २०६९÷७० तिर दमकलको व्यवस्था गरेको हो । कमलामाई नगरपालिकामा घरघरमा ग्यास र बिजुली पुगेको छ । चट्याङको पनि प्रभावित क्षेत्र भएकाले आगलागीको अत्यन्तै जोखिम क्षेत्र हो । त्यसैले पनि यहाँ दमकलको अति आवश्यक रहेको महसुस गरिएको छ । एउटा दमकल सदरमुकाम सिन्धुलीमाढी क्षेत्र र अर्को भिमान क्षेत्रमा राख्ने योजना छ । तीनपाटन गाउँपालिकाले भने भौगोलिक विकटताका कारण दमकलको व्यवस्था गर्न नसकेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरका अनुसार पालिकाका ११ वटै वडाका सबै बस्तीमा दमकल जाने बाटो बनेको छैन । त्यसैले पनि दमकलको व्यवस्था गर्न नसकिएको हो ।