• १६ चैत २०८०, शुक्रबार

बलिउड निर्देशक झा नेपाल आउने

blog

काठमाडौँ, मङ्सिर २० गते । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा बलिउड निर्देशक प्रकाश झा प्रमुख वक्ताका रूपमा नेपाल आउनुहुने भएको छ ।

महोत्सवमा निर्देशक झा मुख्य वक्ताका रूपमा सहभागी हुने जानकारी विज्ञप्तिमार्फत गराइएको छ । झा अभिनीत तथा एम गनी निर्देशित चलचित्र ‘मट्टो की साइकल’ किम्फमा विशेष प्रदर्शन हुँदै छ । काठमाडौँ महानगरपालिकाको सहआयोजनमा किम्फको बीसौँ संस्करण मङ्सिर २२ देखि २६ सम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको प्रेक्षालयमा हुने जनाइएको छ । 

सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिन्छ । यस पटकको संस्करणमा ३० मुलुकका ६० भन्दा बढी फिल्म प्रदर्शन गरिनेछ ।

किम्फ–२०२२ को शुभारम्भ ‘हेर्ने कथा’ शृङ्खलाअन्तर्गतको चलचित्र ‘बाघको बङ्गारा’ प्रिमियरसँगै हुनेछ । चलचित्रले जाजरकोटका बासिन्दाले गर्ने मह सिकारको कथा पेस गर्छ ।

फेस्टिभलको समापन पोलियो उन्मूलनका लागि अपाङ्गता भएका एक अस्ट्रेलियाली व्यक्तिले सगरमाथा चढ्न गरेको प्रयासबारे बनेको चलचित्र ‘फ्लाई फ्रम एभरेस्ट’सँगै हुनेछ ।