• १२ साउन २०८१, शनिबार

जनवरीदेखि सुरु हुँदै फाइभजी

blog

काठमाडौँ, मङ्सिर २० गते । नेपाल टेलिकमले जनवरी १ (पुस १७)देखि सर्वसाधारणका लागि फाइभजी सुविधा उपलब्ध गराउने भएको छ । परीक्षणकै रूपमा भए पनि उक्त मितिदेखि सर्वसाधारणका लागि समेत फाइभजी उपलब्ध गराउने गरी तयारी भइरहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो । “जनवरीदेखि सर्वसाधारणलाई फाइभजी सुविधा दिने पूर्वतयारीअनुसार नै काम भइरहेको छ,” उहाँले भन्नुभयो । 

टेलिकमले अहिले देशका विभिन्न चार स्थानमा आन्तरिक रूपमा फाइभजी परीक्षण गरिरहेको छ । तोकिएका ती ठाउँमा खासगरी उपकरण परीक्षणको काम भइरहेको अधिकारीले जानकारी दिनुभयो । 

मोबाइल प्रविधिको पछिल्लो प्रचलित पुस्ताका रूपमा रहेको फाइभजीको प्रयोग नेपालमा पनि अवलम्बन गर्ने उद्देश्यसहित सरकारले नेपाल टेलिकमलाई परीक्षणको सुविधा दिएको थियो । सरकारको सोही निर्णयअनुसार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले २६ सय मेगाहर्ज ब्यान्डमा टेलिकमलाई आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराएको थियो । 

प्राधिकरणले टेलिकमलाई एक वर्षसम्म फाइभजी परीक्षण गर्न पाउने समय सुविधा उपलब्ध गराएको छ । उपकरण जडान कार्य सम्पन्न भएको प्राधिकरणलाई जानकारी गराएपछि परीक्षण अवधि सुरु हुने सर्त राखिएको छ । टेलिकमले सोहीअनुसार उपकरण जडान र परीक्षणको काम गरिरहेको हो । आन्तरिक परीक्षण सफल भएपछि टेलिकमले सर्वसाधारणका लागि यो खुला गर्नेछ । 

जनवरीदेखि खुला गर्ने तयारी गरिरहेको टेलिकमले आफ्ना ग्राहकका लागि भने यो सुविधा निःशुल्क उपलब्ध गराउनुपर्नेछ । 

एक वर्षको परीक्षण अवधि समाप्त भएपछि प्राधिकरणले परीक्षणको लागि उपलब्ध गराएको फ्रिक्वेन्सी फिर्ता लिनेछ । यद्यपि टेलिकमले चाहेमा सोही ब्यान्डको फ्रिक्वेन्सीमा प्राधिकरणसँग समन्वय गरेर परीक्षण गर्न सक्नेछ । 

टेलिकमले फाइभजी परीक्षणलाई तीव्र बनाए पनि पछिल्लो समय भने यसको प्रगति केही सुस्त भएको जनाएको छ । 

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका कारण विद्यमान सेवा चुस्त राख्नुपर्ने भएकाले फाइभजी परीक्षण केही सुस्त भएको टेलिकमले जनाएको छ । यद्यपि फाइभजी परीक्षण गर्ने पूर्वतयारीअनुसार अहिलेसम्म जनवरीमै सुरु गर्ने गरी काम भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो । 

टेलिकमले २०१७ जनवरी १ देखि नेपालमा फोरजी सेवा सुरु गरेको थियो । त्यसको पाँच वर्षपछि फाइभजी सेवा सुरु गर्ने तयारीमा कम्पनी जुटेको हो । फोरजी व्यक्तिगत उपभोक्ताका लागि उपयोगी भए पनि फाइभजी भने खासगरी उपकरण–उपकरणबीचको सञ्चारका लागि उपयोगी मानिन्छ । 

फाइभजीको प्रयोगमार्फत प्रतिसेकेन्ड अधिकतम १० जीबी गतिको इन्टरनेट प्रयोग गर्न सकिन्छ । फाइभजी अवरोधविहीन प्रविधि मानिएकाले आईओटी, एमटुएम सञ्चारजस्ता काममा यसको प्रयोग हुने गरेको छ । फाइभजीको प्रयोगबाटै ड्राइभरविहीन कार, स्मार्ट सिटी, ड्रोन प्रविधि र बिग डेटाका काम सम्भव भएका छन् । 

अहिलेसम्म विश्वका करिब ७० देशले फाइभजीको प्रयोग सुरु गरिसकेका छन् । छिमेकी मुलुक भारतले पनि दुई महिनाअघिदेखि सर्वसाधारणका लागि फाइभजी खुला गरेको छ ।