• ८ वैशाख २०८१, शनिबार

जनताको समस्या समाधानमा ध्यान दिन्छु : सांसद लेखी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर १९ गते । नेकपा (एमाले) का नेता तथा सप्तरी क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका राजकुमार लेखीले जनताको आधारभूत समस्या समाधानमा आफूले ध्यान दिने बताउनुभएको छ । आज सोमबार यहाँ  पत्रकारसँगको संक्षिप्त अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

सप्तरी क्षेत्र १ मा मतदाताले आफूलाई विश्वास गरी निर्वाचित गराउनुभएकोमा धन्यवाद व्यक्त गर्नुहुँदै नेता लेखीले भन्नुभयो, “नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारका विषयलाई प्राथमिकतामा राखेर काम गर्नेछु ।” आफ्नो कार्यकालमा मधेस प्रदेशमा व्याप्त भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने, राष्ट्रिय स्वाधीनता कायम तथा दैनन्दिन समस्या समाधानमा लाग्ने बताउनुभयो ।

नवनिर्वाचित सांसदहरूको अझै शपथ र जिम्मेवारीको काम व्यवस्थापनमा समय लाग्ने भन्नुहुँदै नेता लेखीले आफ्नो कार्यकालमा जनताप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । आफू निर्वाचित क्षेत्रमा शैक्षिक जागरण निकै कमजोर भएकाले त्यसलाई पहिलो प्राथमिकता दिएर स्थानीय सरकारसँगको समन्वयमा काम गर्ने उहाँको भनाइ छ । 

निर्वाचन प्रक्रियामा विकृति धेरै भएकाले त्यसलाई सुधार गरेर राजनीतिक दलहरू अघि बढ्नुपर्ने उहाँले सुझाव दिनुभयो । विभिन्न विकृतिका कारण निर्वाचन खर्च बढ्न गई सामान्य मानिसले चुनाव लड्न सक्ने वातावरण बिग्रँदै गएको उहाँले बताउनुभयो । अनावश्यक रुपियाँ खर्च हुने निर्वाचन प्रणालीमा सुधार नगरिए आगामी दिनमा सामान्य मानिस, इमानदार मानिसले निर्वाचन लड्न हिम्मत नगर्ने उहाँको भनाइ छ । 

संसदीय यात्रामा आफू नयाँ भएकाले सबै पक्षसँगको सुझाव, सहकार्य र परामर्शमार्फत अघि बढ्ने उहाँले बताउनुभयो । आफ्नो क्षेत्रमा साक्षरता प्रतिशत ५५ मात्र रहेको र त्यसमा महिलाको साक्षरता ४५ प्रतिशत रहेकाले त्यसलाई माथि उठाउन आफू लागिपर्ने नेता लेखीले बताउनुभयो । नेता लेखी नेकपा (एमाले) को तर्फबाट सप्तरी क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित हुनुभएको हो ।