• ७ वैशाख २०८१, शुक्रबार

“दिगो विकासको लक्ष्य हासिल गर्न स्वास्थ्य स्वयंसेविकाको योगदान महत्त्वपूर्ण”

blog

काठमाडौं, मङ्सिर १९ गते । दिगो विकासको लक्ष्य हासिल गर्न महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान महत्त्वपूर्ण भएको जिकिर गरिएको छ । सोमबार १९ औँ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक प्रा. गोमा देवी निरौलाले सो जिकिर गर्नुभएको हो ।

पछिल्लो समयमा  कोभिड–१९ र डेंगुलगायतको रोकथाम तथा नियन्त्रणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू खटिँदै आएको उल्लेख निरौलाले गर्नुभयो । नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकाका अनुसार देशभर ५१ हजार ४२३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू सेवारत छन् ।

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमअन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले सामुदायिक स्वास्थ्यमा योगदान पुर्‍याउँदै आएका छन् ।

उहाँहरूको मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन स्वास्थ्य, परिवार योजना आदि विषयमा समुदायमा जनचेतना अभिवृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफलमार्फत जनस्वास्थ्य सम्बन्धी सूचना तथा सेवाहरूको पहुँचमा वृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन महत्त्वपूर्ण भूमिका रहन्छ ।

आव २०७७/७८ मा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले ५८ हजार ३८५ जना सुत्केरीलाई मायाको अँगालो सुरु गर्न सहयोग गर्नुका साथै ४७ हजार ७२१ जनालाई नाभी मलम लगाउन सघाएको छन् । तथ्याङ्क अनुसार आठ हजार ६१३ जनालाई सुत्केरी पश्चात् रक्तस्राव रोक्न मिसोप्रोस्टल चक्की वितरण गरेको तथ्याङ्क रहेको छ ।

त्यसैगरी, आव २०७७/७८ मा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले ६६ हजार ४५५ जनालाई जन्मेको १ घण्टा भित्रमा स्तनपान गराउने सल्लाह दिइएको छ भने एक लाख २८ हजार १५८ सुत्केरीलाई भिटामिन ए वितरण गरेको तथ्याङ्क रहेको छ ।

हरेक वर्ष ५ डिसेम्बरमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइने गरिन्छ । यो वर्ष पनि “महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवर्द्धनमा हाम्रो ऐक्यबद्धता भन्ने मूल नाराका साथ देशभरि मनाइएको छ ।”