• ८ वैशाख २०८१, शनिबार

विश्वकप जित्ने मेसीको सपना कायम

blog

दोहा, मङ्सिर १९ गते । लियोनेल मेसीले आफ्नो १०००औँ खेलमा गोल गरेर अर्जेन्टिनालाई विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पु¥याउनुभएको छ।

सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दै गरेका मेसीलाई विश्वको सबभन्दा ठूलो प्रतियोगिताले अहिलेसम्म लोभ्याइरहेको छ। विश्वकपको उपाधि खडेरीलाई तोड्न मेसी तयार देखिनुहुन्छ। विश्वकपको नकआउटमा पहिलो गोल गरेर मेसीले आइतबार बिहान अर्जेन्टिनालाई अस्ट्रेलियाविरुद्ध २–१ को जित दिलाउन सहयोग गर्नुभयो। खेलको ३५औँ मिनेटमा बायाँ खुट्टाको प्रहारद्वारा मेसीले बल गोलपोस्टमा छिराउनुभएको छ। अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्ड पनि विपक्षी कप्तान मेसीको प्रशंसा नगरिरहन सक्नुभएन। मेसी विशेष छन्, उहाँले भन्नुभयो।

चालू विश्वकपमा मेसीको तीन गोल भएको छ। उहाँ गोल्डेन बुटको होडको प्रमुख दाबेदारका रूपमा अगाडि आउनुभएको छ। मेसीले विश्वकपमा कुल नौ गोल गरिसक्नुभएको छ। जुन अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाभन्दा एक गोल बढी हो। विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गाब्रियल बाटिस्टुता (१० गोल)ले गर्नुभएको छ। खेलको ५७औँ मिनेटमा अस्ट्रेलियन गोलरक्षक म्याथ्यु रायनको गल्तीमा जुलियन अल्भारेजले गोल गरेपछि अर्जेन्टिनाको अग्रता दोब्बर भयो। त्यसपछि अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग भिड्ने पक्का जस्तो देखियो तर अस्ट्रेलियाले अर्जेन्टिनालाई सजिलै खेल जित्न दिएन।

अन्तिम सिट्ठी बज्दा अर्जेन्टिनाले मेसी र अल्भारेजसरह आफ्ना गोलरक्षक इमि मार्टिनेजप्रति पनि कृतज्ञ हुनुप¥यो। अस्ट्रेलियाले अन्तिम २० मिनेटमा अर्जेन्टिनालाई निकै दबाबमा राखेको थियो। खेलको ७७औँ मिनेटमा क्रेग गुडविनको प्रहारलाई बचाउने क्रममा अर्जेन्टिनाका मिडफिल्डर इनजो फर्नान्डेजले आत्मघाती गोल गर्नुभयो। त्यसपछि अस्ट्रेलियाले बराबरी गोलको खोजीमा लगातार आक्रमण गरेको थियो। अस्ट्रेलियाका गराङ कुवोलले त गोलपोस्ट नजिक गोल गर्ने खुला अवसर पाउनुभएको थियो तर उहाँको प्रहारमा फर्नान्डेज बाधक बन्नुभयो। खेलको अन्तिम सेकेन्डमा पनि मार्टिनेजले अर्को दर्शनीय बचाउ गरेपछि खेल अतिरिक्त समयमा जान पाएन।

मेसीले खेलपछि भन्नुभयो, “यसैलाई विश्वकप भनिन्छ। विश्वकपमा कुनै पनि खेल सहज हुँदैन।” 

हारपछि अस्ट्रेलियाका प्रशिक्षक आर्नोल्डले आफ्नो टिमप्रति गर्व गर्दै भन्नुभयो “यहाँ आउनुअघि सबैले हाम्रो टिमलाई फुटबल इतिहासकै कमजोर टिम भनेका थिए। उनीहरूलाई हामीले गलत साबित गरेका छौँ”  ।

नेदरल्यान्ड्स अन्तिम आठमा

नेदरल्यान्ड्सले शनिबार राति अमेरिकाको चुनौती ३–१ ले पार गर्दै विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको छ। १९ खेलको अपराजित यात्रालाई कायम राखेको नेदरल्यान्ड्सले अब अन्तिम आठमा अर्जेन्टिनाको सामना गर्नेछ।

खेलको दसौँ मिनेटमा मेम्पिस डिपेले अमेरिकी कमजोर डिफेन्सको फाइदा उठाउँदै नेदरल्यान्ड्सलाई अग्रता दिलाउनुभएको थियो। नेदरल्यान्ड्सको जर्सीमा डिपेको यो ४३औँ गोल हो। नेदरल्यान्ड्सका लागि उहाँले भन्दा बढी गोल राविन भान पर्सी (५०)ले मात्र गर्नुभएको छ।

पूर्वाद्र्धको इन्जुरी समयमा डाले ब्लाइन्डले अग्रता दोब्बर पार्नुभयो। खेलको ७६औँ मिनेटमा क्रिस्टियन पुलिसिचको प्रहार जोगाउने क्रममा हाजी राइटले आफ्नै गोलपोस्टमा बल छिराएपछि अमेरिका खेलमा फर्कियो तर ८१औँ मिनेटमा सुरुका दुई गोलमा सहयोगीको भूमिका निर्वाह गर्ने डेनजेल डम्फ्रिज आफैँले गोल गरेपछि नेदरल्यान्ड्सको जित पक्का भयो। विश्वकपमा सन् २००२ पछि अमेरिकाले युरोपेली राष्ट्रलाई हराउन सकेको छैन। विश्वकपमा अमेरिकाले सात नकआउट खेल खेलेको छ। जसमध्ये अमेरिका एउटामा मात्र विजयी भएको छ। अमेरिकाले विश्वकपको आगामी संस्करणको आयोजना गर्दैछ। एपी