• २७ वैशाख २०८१, बिहिबार

सर्वाधिक पर्यटक आगमन

blog

काठमाडौँ, मङ्सिर १९ गते । बितेको एक महिना (नोभेम्बर)मा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२२ को ११ महिनामा हवाई मार्गबाट पाँच लाख ४६ हजार २१६ जना पर्यटक नेपाल भित्रिएका छन् । विभागका अनुसार यो वर्षको नोभेम्बरमा मात्रै ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२१ को नोभेम्बर महिनाको तुलनामा झन्डै तेब्बर बढी हो । गत वर्ष नोभेम्बरमा २६ हजार १३५ जना पर्यटक नेपाल आएका थिए । 

कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार पर्यटक नेपाल आएका थिए । सन् २०२२ को सुरुवातदेखि नै पर्यटक आगमन सुधारोन्मुख देखिँदै आएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले महामारीपछि तुलनात्मक रूपमा पर्यटकको आगमनमा सुधार हुँदै गएको बताउनुभयो । 

“पछिल्लो समय भारतीय पर्यटकको आगमनमा सुधार देखिएको छ । कोरोनाका कारण लामो समय घरभित्रै सीमित बनेका पर्यटक विस्तारै भ्रमणमा निस्कन थालेकाले पर्यटन आगमनमा थप सुधार हुँदै जाने अपेक्षा गरिएको छ,” उहाँले भन्नुभयो ।

उहाँले आरोहण, ट्रेकिङलगायतका पर्यटकीय क्षेत्र चलायमान भएसँगै नेपाल घुम्न र विभिन्न सभा सम्मेलनमा सहभागी हुन आउने विदेशीको सङ्ख्या बढ्दै गएकाले पर्यटक आगमनमा सुधार देखिन थालेको बताउनुभयो ।

तथ्याङ्कअनुसार सन् २०२२ को जनवरीमा १६ हजार ९७५ जना विदेशी पाहुना भित्रिएका थिए । त्यस्तैगरी फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९, मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगस्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४, अक्टोबरमा ८८ हजार ५८२ र नोभेम्बरमा ७२ हजार ६३५ जना पर्यटक नेपाल भित्रिएका छन् । 

नोभेम्बरमा नेपाल आएका पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन् । नोभेम्बरमा भारतबाट मात्रै २० हजार ५३२ जना पर्यटक आएका थिए ।

दक्षिण एसियाली मुलुकबाट मात्रै २४ हजार ५९९ जना पर्यटक नेपाल भित्रिएका छन् । एसियाका अन्य देशबाट नौ हजार ४१५ जना पर्यटक नेपाल भित्रिएका छन् । नोभेम्बरमा युरोपबाट १७ हजार २९९ जना पर्यटक नेपाल आएका छन् । यस्तै अस्ट्रेलियाबाट तीन हजार ३७५, अमेरिकाबाट सात हजार ८३१, क्यानडाबाट एक हजार १८१ पर्यटक नेपाल आएका छन् । 

महामारीपछि नेपाल आउने चिनियाँ पर्यटकको आगमनमा समेत सुधार देखिँदै गएको छ । नोभेम्बरमा चीनबाट एक हजार ३८ जना पर्यटक नेपाल आएका थिए । जुन यो वर्षकै सर्वाधिक बढी हो । यसअघि नेपाल आउने पर्यटकमध्ये सबैभन्दा पर्यटक भारतपछि चीन हुने गरेकोमा नोभेम्बरको तथ्याङ्कले भारतपछि बेलायत, अमेरिका अगाडि देखिएको छ ।