• १५ चैत २०८०, बिहिबार

३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो (फोटो फिचर)

blog

३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रलाई उद्घाटन गर्नुहुदै महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री उमा रेग्मी । तस्बिर : केशब गुरुङ

काठमाडौं, मंसिर १७ गते ।  शनिबार ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । समावेशी विकासका लागि रुपान्तरिक समाधान : पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान् सृजनशीलताको प्रावधान’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो ।

संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि वर्षेनि डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो ।

काठमाडौंको भृकुटी मण्डपमा राष्ट्रिय अपाङ्ग कोषले आयोजना गरेको कार्यक्रमका मुख्य अतिथि महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री उमा रेग्मीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा अपाङ्गता भएका विभिन्न व्यक्तिलाई मन्त्री रेग्मीले सेतो छडी, ह्विलचियर, शौचालय चियर, वैशाखीलगायतका सामग्री प्रदान गर्नु भएको थियो ।

अपाङ्गता भएकाहरूका लागि सहायता सामग्री नेपालमा उत्पादन नहुने हुँदा अब गैरसरकारी सङ्घसंस्थाको सहकार्यमा नेपालमा नै उत्पादन गर्ने कार्यलाई जोड दिने  मन्त्री रेग्मीले बताउनुभयो ।


यस्तै, अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग कोषले अपाङ्गता प्रतिभा पुरस्कारबाट पेमा छोक्पा गुरुङ, मदन रोक्का, सुनिल आलेमगर, डमर बहादुर दनुवार, शकुन्तला लिम्बु, भूषणराज राजभण्डारी, विद्या पौडेल, रवीन्द्र पन्त, भूमिकला पौडेल, मोहम्मद सबिर, लाली तामाङ र प्रितम विश्वकर्मालाई सम्मानित गरेको छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।