• २२ माघ २०७९, आइतबार

फुटबलमय युरोप यात्रा

blog

सन् २०१६ को अक्टोबर अन्त्यतिर छोरा वसन्तसँग युरोप भ्रमणमा निस्किएका थियौँ । प्रसङ्ग थियो– बेल्जियममा नेवारी परिकारसम्बन्धी सचित्र पुस्तकको लोकार्पणको । यही मेसोमा अमेरिका बस्दै आउनुभएका नेपाली पप गायक गायिका सञ्जीव प्रधान र नलिना चित्रकारसँग बेल्जियममा भेट भयो । बेल्जियमको एन्ट्वर्पमा त्यहाँको पासापुचः बेल्जियमले आयोजित म्ह पूजा एवं पुस्तक लोकार्पणको कार्यक्रम भ्याएर हामी स्पेनको बार्सिलोना गयौँ । त्यसो त युरोपेली क्लबस्तरीय फुटबल प्रतियोगितामा सानो छोरा प्रशान्त र म बार्का उर्पm बार्सिलोना क्लबको फ्यान हौँ । स्पेनको बार्सिलोनामा पनि नेपाल संवत् र तिहारको कार्यक्रमपछि त्यहाँका सहृदयी एनआरएन निलु अवालेको जोडीसँग बार्सिलोनाका कलात्मक एवं ऐतिहासिक गिर्जाघरहरू अनि समुद्री तटको भ्रमणपछि बार्काको घरेलु मैदान नोउ क्याम्पमा गयौँ । हामीसँगैका अन्य अतिथिलाई फुटबलप्रति त्यति धेरै रुचि नभएका कारण बार्काको सङ्ग्रहालय घुम्न पाएनौँ । केवल नोउ क्याम्प रङ्गशाला वरिपरि पोजपोजमा फोटो खिचेर एवं सोभेनिएर पसलमा घुमेर चित्त बुझायौँ । त्यही सोभेनिएर पसलबाटै रङ्गशालाभित्रको आंशिक दृश्यावलोकन गरेर चित्त बुझायौँ । मलाई मनपर्ने मेस्सीले विपक्षीलाई माछाले छलाएझैँ छलाएर एक्रोब्याटिक, आर्टिस्टिक शैलीमा गोल गर्ने मैदान यही नै हो भनेर मलाई चिच्याउन मन लाग्यो । नदी किनारसम्म पुगेर पनि प्यास मेटाउन पाइएन, थकथकी लाग्यो ।

बेल्जियम, नेदरल्यान्ड, फ्रान्सको भ्रमणपछि लक्जम्बर्गको बाटो हुँदै ११ नोभेम्बर सन् २०१६ मा स्विट्जरल्यान्डको ज्युरिचमा आयौँ । ज्युरिच आइसकेपछि यहाँ अवस्थित फिफाको मुख्यालय छुटाउने कुरै थिएन । त्यसो त सन् २०१० मा अष्ट्रियामा स्वास्थ्यसम्बन्धी थप तालिम लिन जाने क्रममा ज्युरिख र पेरिस घुम्न पाएको थिएँ । सन् २०१०, मे २१ का दिन मित्र डा. अमित अमात्य, सरिन दिदी र म ज्युरिख सहरमा रहेको ग्रसमुन्स्टर चर्च, फ्राउमुन्स्टर, विश्वकै ठूलो घडी राखिएको सेन्ट पिटर गिर्जाघर, टाउनहल, स्वीस फेडेरल इन्स्टिच्युट अफ टेक्नोलोजी अनि नेपालका तत्कालीन राजा त्रिभुवनको देहान्त भएको युनिभर्सिटी अस्पतालको भ्रमणपछि मेरै ढिपीमा फिफा स्ट्रासेस्थित फिफाको मुख्यालय घुम्न गएका थियौँ । 

फिफाको नयाँ मुख्यालय आर्किटेक्ट टिल्ला थियसद्वारा डिजाइन गरिएको हो । कुल सैतीस हजार चार सय वर्ग मिटरमा पैmलिएको मुख्य भवन भूमिगत (पाँच तला) सहित आठ तलाको छ । यसको मुख्य भाग सभास्थल रहेको तेस्रो भूमिगत तला रहेछ । सन् २००४, मे १४ मा शिलान्यास भई सन् २००७, अप्रिल २८ मा साँचो हस्तान्तरण गरिए पनि यसको औपचारिक उद्घाटन भने सन् २००७, मे २९ मा फिफा कङ्ग्रेसको ५७औँ बैठकअघि गरिएको हो । 

विश्वभरिका २११ सदस्य राष्ट्रका करोडौँ खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य सहभागीसहितको अन्तर्राष्ट्रिय फुटबल समुदायको साङ्केतिक घरको रूपमा रहेको छ– फिफाको नयाँ मुख्यालय । पूर्णतः आर्थिक एवं वातावरणमैत्री तवरले बनाइएको यस मुख्यालय वरिपरि सबै महाद्वीपको प्रतिनिधित्व हुने गरी सम्बन्धित ठाउँकै वनस्पतिसहितको बगैँचा बनाइएको छ । यसका साथै प्रशासन, तालिम, सभास्थल र स्पोर्टस सेन्टर तथा एउटा फुटबल मैदान पनि बनाइएको छ । हामी पुग्दा विश्वकप २०१० (दक्षिण अफ्रिका) आउन केवल २१ दिन मात्र बाँकी भएको कारण त्यहाँको रौनक नै अर्कै थियो । त्यसकारण पनि त्यस मुख्यालयमा विश्वकप हेर्न पाउँला तथा स्पर्श गर्न पाउँला भनेर मैले कल्पना पनि गरेको थिइनँ । 

त्यस मुख्यालय पस्ने बित्तिकै सुनौलो विश्वकप खुला तवरले राखिएको देखियो । खेलाडी एवं फुटबलप्रेमीले साँच्ने गरेको सपनाजस्तै आफ्नै हातले विश्वकप स्पर्श गर्न पाउँदा खुसीको सीमा रहेन । विश्व विजेता टोलीले प्रत्येक विश्वकप प्रतियोगिताको फाइनल खेलपछि विजेता खेलाडीहरूले ट्रफी उचाल्न पाउँदा जत्तिको खुसी, अझ त्योभन्दा बढी उत्साह सञ्चारित भएको थियो मेरो मनमा । त्यो बेला मलाई स्विट्जरल्यान्ड भ्रमणको मुख्य उपलब्धि यही नै हो भन्ने लाग्यो । त्यसो त त्यहाँ फिफा विश्वकप पुरुष एवं महिला, फिफा अन्डर २० विश्वकप पुरुष एवं महिला, फिफा अन्डर १७ विश्वकप पुरुष एवं महिला, फिफा कन्फेडेरेसन कप, फिफा क्लब विश्वकप, फिफा युवा कप, फिफाबीच सकर विश्वकप पनि सजावटमा राखिएका थिए । तर विश्वकप ट्रफी चाहिँ विशेष लाग्यो । 

प्रत्येक चार वर्षमा विश्वकप जित्ने राष्ट्रलाई दिइने ट्रफी पाँच किलो तौल, ३६.५ सेमी अग्लो, १३ सेमी व्यास (पिँध) रहेको छ । अठार क्यारेटको सुनले सजिएको यो ट्रफीमा दुईवटा मानव आकृतिले विश्व समाइरहेको प्रतीक पनि छ । इटालियन शिल्पकार सिल्भियो गाज्जानिगाको परिकल्पनामा बनाइएको हालको ट्रफी सन् १९७४ को विश्वकपदेखि प्रचलनमा आएको हो ।

सन् १९३० बाट सुरु भएको विश्वकप फुटबल जित्ने राष्ट्रले पाउने यसअघिको ट्रफीलाई सुरुमा ग्रीक देवी विजयबाट प्रभावित भएर विजय भनिए पनि सन् १९४६ मा फिफाका पहिलो अध्यक्षको सम्मानमा जुल्स रिमेट नाम राखियो । ब्राजिलले १९५८, १९६२ र १९७० मा तीन चोटि जितेर यसअघिको ट्रफीलाई आफ्नो बनायो । त्यसो भएर १९७४ देखिको विश्वकपका लागि अर्को बनाउनु परेको थियो । मालाकाइटको दुई तह भएको कारण तुलनात्मक रूपमा हलुका भएको यस ट्रफीको पिँधनेरको घेरामा फिफा विश्वकप लेखिएको हुन्छ । यसको पिँधमा जितेको साल र विजेता राष्ट्रको नाम तिनीहरूकै भाषामा लेख्ने चलन छ ।

यो ट्रफी जित्न महिनौँअघि देखि सञ्चालन हुने महादेशीय छनोट चरण पार गरेर अन्तिम चरणमा आएका ३२ राष्ट्रलाई पछार्नु पर्ने क्षमता चाहिन्छ । अहिलेको ट्रफीमा हालसम्म ब्राजिल, इटाली, अर्जेन्टिना, जर्मनी, फ्रान्स र स्पेनले आ–आफ्नो नाम लेखाइसकेको छ । उक्त पिँधमा सन् २०३८ सम्मको विश्वकपको विजेता राष्ट्रको नाम लेख्ने ठाउँ बाँकी छ । फिफाले यही विश्वपकप ट्रफीलाई पहिलो चोटि सन् २००६ मा आफ्ना प्रतिनिधि सदस्य राष्ट्रबीच घुमाउने चलन सुरु गरेको थियो । यही क्रममा सन् २०१३ मा नेपालमा पनि ल्याइएको थियो ।

फिफा मुख्यालयसँगैको मैदान छेउ अन्य राष्ट्रका झन्डासँगै नेपालको झन्डा अनि फिफाको मुख्यालय अगाडिको सिँढीमा प्रत्येक फिफा सदस्य राष्ट्रसँगै नेपालको नाम पनि देख्दा गौरवान्वित महसुुस भयो । त्यो बेला फिफा मुख्यालयको प्राङ्गणमा राखिएको विश्वकप ट्रफी आफ्नै हातले स्पर्श गर्न पाएको थिएँ । तर यो पटक (सन् २०१६) विश्वकप ट्रफीलगायत महिला विश्वकप, क्लबस्तरीय फिफा कप, विभिन्न उमेर समूहका ट्रफीहरू फिफा मुख्यालयबाट करिब अढाइ किलोमिटर टाढा फिफा वल्र्ड फुटबल म्युजियममा प्रदर्शनका लागि राखिएको थाहा पायौँ । हामी बाबुछोरा ट्राम चढेर सिस्ट्रासेस्थित उक्त म्युजियममा आयौँ र नेपाली तीन हजार रुपियाँको टिकट काटेर फिफासँग सम्बन्धित यसको इतिहास हालसम्मका विश्वकप फुटबल प्रतियोगिताका महìवपर्ण दस्ताबेज हेर्न पायौँ । सन् २०१० को भ्रमणमा आफ्नो हातैले स्पर्श गरेको विश्वकप ट्रफी यो पटक सिसाको दराजभित्र राखिएको पाउँदा मन अमिलो भयो । तैपनि हेरेर सयौँ स्न्याप फोटोहरू खिचेर चित्त बुझायौँ । त्यहाँ विश्वका सबै राष्ट्र फुटबल खेलाडीले लगाउने राष्ट्रिय जर्सीसँगै नेपालको चन्द्रसूर्य झन्डा अङ्कित रातोनीलो रङयुक्त नेपाली राष्ट्रिय टोलीको जर्सी हेर्न पाउँदा मन पुलकित भयो । कतिपय अवस्थामा ‘हिङ नभए पनि हिङ बाँधेको टालो’मै पनि गर्व महसुस हुँदोरहेछ ।

विश्वकप मुख्यालयको भ्रमणपछि नेपाल फर्किने क्रममा जर्मनीको म्युनिख आयौँ । म्युनिख बसाइको क्रममा सहृदयी भाइ सागर ढकालको मद्दतमा जर्मन क्लब वायर्न म्युनिखको आधिकारिक रङ्गशाला एलियान्जमा धक फुक्ने गरी घुम्यौँ । बार्काको म्युजियम र नोउ क्याम्प भित्रको रङ्गशालाभित्र घुम्न नपाएको प्यास, झोक अनि भोक यहीँ मेट्यौँ । घण्टौँ लगाएर म्युजियमभित्रका बायर्न म्युनिखले जितेका च्याम्पियन्स लिग, बुन्डेस लिगा अनि जर्मन सुपर कपदेखि वायर्न म्युनिखका फोटोहरू अनि वायर्नका प्रायोजक कम्पनीका विभिन्न स्मृति सङ्ग्रह हे¥यौँ । भौतिक रूपमा एलियान्जभित्रको वायर्नको म्युजियममा घुमिरहेको भए पनि मन भने भुरुर्र उडेर शायद बार्सिलोनाको नोउ क्याम्पमा पनि बार्काका खेलाडीहरू अनि उनीहरूले जितेका ट्रफीहरू होलान् भनेर कल्पियौँ । कल्पिनुको विकल्प पनि त थिएन नि । अर्को चोटि नोउ क्याम्प भ्रमण नगरेसम्म । 

यसरी त्यो पटकको युरोप भ्रमण अधिकजसो फुटबलमयी भयो भन्दामा फरक परेन । अहिले विश्वकप चलिरहेको छ । बर्सेनि च्याम्पियन्स लिग अनि अन्य युरोपेली लिगहरू, फिफाका उमेर समूहको विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण हेर्दा त्यसै त्यसै नोस्टाल्जिक हुन्छु । 

त्यसो त खेलकुदमा अझ फुटबल खेलमा अधिक रुचि भएकाले सन् २०१० मै फ्रान्स जाँदा अलिक ढिपी गरेर भए पनि फ्रान्स विश्वकप फाइनल भएको स्टाड दि फ्रान्स रङ्गशाला, सन् २०१२ मा नेदरल्यान्ड जाँदा ओलम्पिक रङ्गशाला, सन् २०१२ मा लन्डन नजिकैको वेम्बली रङ्गशाला, सन् २०१६ मै म्युनिखस्थित ओलम्पिक पार्क अनि सन् २०१७ मा दक्षिण कोरिया जाँदा सोल ओलम्पिक पार्क घुम्न छुटाइनँ ।