• १५ चैत २०८०, बिहिबार

फिफा विश्वकपको नकआउट समीकरण पूरा

blog

काठमाडौं, मंसिर १७ गते । कतारमा जारी २२औं फिफा विश्वकपको नकआउट चरणको समीकरण पूरा भएको छ । शुक्रबार राति समूह चरणको अन्तिम खेल सकिएसँगै विश्वकपमा नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको हो । 


अब अन्तिम १६ मा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । इङ्ग्ल्यान्डले सेनेगल, अर्जेन्टिनाले अष्ट्रेलिया र पोल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी क्रोएसियाले जापान, स्पेनले मोरोक्को, ब्राजिलले दक्षिण कोरिया र पोर्चुगलले स्वीट्जरल्यान्डसँग खेल्नेछ । 

नकआउट चरणका खेलहरु शनिबार रातिदेखि सुरु हुनेछन् । आजै (शनिबार) राति ८:४५ बजे नेदरल्यान्ड्स र अमेरिका तथा राति १२:४५ बजे अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । 

विश्वकपमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । यस समूहबाट इक्वेडर र आयोजक कतार बाहिरिए । समूह ‘बी’बाट इङ्ग्ल्यान्ड समूह विजेता र अमेरिका उपविजेता बन्दा इरान र वेल्स बाहिरिन बाध्य भए । समूह ‘सी’बाट अर्जेन्टिना विजेता र पोल्यान्ड उपविजेता बन्दै अगाडि बढ्यो । साउदी अरब र मेक्सिको बाहिरिए । 


यसैगरी समूह ‘डी’ बाट साबिक विजेता फ्रान्स शीर्षस्थानमा रह्यो । अष्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा पुग्दा ट्युनिसिया र डेनमार्क घर फर्किए । समूह ‘ई’ बाट जापान विजेता र स्पेनले उपविजेताको रूपमा अन्तिम १६ मा स्थान बनाए । चार पटकको विजेता जर्मनी र कोस्टारिका समूहचरणबाटै बाहिरिए । 

समूह ‘एफ’बाट मा मोरोक्को विजेता र क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा पुग्यो । बेल्जियम र क्यानाडा बाहिरिए । समूह  ‘जी’बाट विजेता र स्वीट्जरल्यान्ड उपविजेता बन्यो । क्यामरुन र सर्बिया बाहिरिए । यस्तै समूह ‘एच’बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा पुग्दा उरुग्वे र घाना घर फर्कन बाध्य भए । 

एसियाबाट तीन देशको छलाङ

कतार विश्वकपको नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्दा एसियाली देशबाट तीन टोलीले छलाङ मारेका छन् । एसियाबाट यसपटक जापान, दक्षिण कोरिया र अस्ट्रेलियाले नकआउट चरणमा स्थान बनाए । 

एसिया महादेशमै दोस्रो पटक आयोजना भएको फिफा विश्वकपमा एसियाबाट ६ टोलीले भाग लिएका थिए । कतारले आयोजक देशको हिसाबले सहभागिताको मौका पाएको थियो । यसअघि एसियाली देश जापान र कोरियाले सन् २००२ को विश्वकप संयुक्त रूपमा आयोजना गरेका थिए । 


तर, आयोजक कतारका लागि नजिताको हिसाबले विश्वकप सफल भएन । अनुभवी टोली इरान र साउदी अरबले पनि समूह चरण पार गर्न सकेनन् । विश्वकपमा एसियाबाट ६ टोली सहभागी भएको यो पहिलो पटक हो । यस्तै एउटै संस्करणमा तीन टोली नकआउट चरणमा पुगेको पनि पहिलो पटक हो ।

शुक्रबार राति समूहको अन्तिम खेलमा बलियो पोर्चुगललाई २-१ गोलले हराउँदै दक्षिण कोरियाले अन्तिम १६ मा स्थान बनाएको हो । कोरियाले इन्जुरी समयमा निर्णायक गोल गर्दै आफूलाई अब्बल साबित गरेको थियो । एजेन्सी