• १३ वैशाख २०८१, बिहिबार

बाजुरामा पाण्डेको अग्रता कायमै, १२६९ मतले अगाडि

blog

शेरबहादुर सार्की

बाजुरा, मङ्सिर १६ गते । बाजुरा प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका सहमहामन्त्री बद्री पाण्डेको अग्रता कायमै रहेको छ । पाण्डे १ हजार २६९ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ । पाण्डेको पाँच हजार ४१९ मत छ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको ४ हजार १२९ मत रहेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका जङ्गकुमार गिरीको २२ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालको २१ मत रहेको छ । त्यसैगरी प्रदेश सभा सदस्यका लागि (क) मा एकीकृत समाजवादीका नरेशकुमार शाहीको ३ हजार ७४३ रहेको छ । एमालेका बलदेब रेग्मीले २ हजार ३८३ मत प्राप्त गर्नुभएको छ । 

नेकपा (माओवादी केन्द्र) का कर्णबहादुर विकले २४७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी प्रदेश (ख) मा एमालेका लालबहादुर थापाले ३ हजार ५२६ मत रहेको छ । काङग्रेसका पदमबहादुर शाहीले ३ हजार २७० मत रहेको छ । राजपाका हिमालबहादुर शाहीको ५२, स्वतन्त्रका जनकबहादुर रावलको ३ मत रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौड्यालले बताउनुभयो ।

बाजुरामा करिब दुई घण्टापछि पुनः मतगणना सुरु गरिएको छ । जिल्लाको हिमाली गाउँपालिका ६ र बुढीगङ्गा नगरपालिका ३ को मतपेटिकामा मुचुल्काभन्दा बढी मतपत्र भेटिएको विवादका कारण मतगणना स्थगन गरिएको अधिकृत पौड्यालले बताउनुभयो ।