• १४ वैशाख २०८१, शुक्रबार

योजनाको सम्झौता गर्न तीन दिन हिँड्नु पर्ने लिमीवासीको बाध्यता

blog

गाउँपालिकाको कार्यालयमा योजना सम्झौता गर्दै लिमीका जाङ गाउँका उपभोक्ता समितिका अध्यक्ष लामा ।तस्बिर : राजन रावत

राजन रावत

हुम्ला मङ्सिर १६ गते ।  नाम्खा गाउँपालिका – ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयलाई तीन दिन पैदल हिँडेर योजना सम्झौता गर्नु पर्ने बाध्यता रहेको छ । गाउँपालिकाले लिमीका लागि विकासे योजनाहरूको काम अगाडी बढाउन सम्झौताका लागि सूचना सार्वजनिक गरेपछि लिमीबाट सदरमुकाम सिमकोट तीन दिन पैदल हिँडेर आउनु परेको हो । 

लिमी जाङ गाउँका फुर्बु लामाले गाउँको धर्मशाला र धर्म घट्ट निर्माणका लागि योजनाको सम्झौता गर्न लिमीबाट सदरमुकाम सिमकोटमा रहेको सम्पर्क कार्यालयमा आउन तीन लगाउनु परेको बताउनुभयो । उहाँले योजनालाई समयमै सम्पन्न गर्नका लागि न्यालु लेकको हिउँ छिचोलेर सिमकोट आएर बिहीबार सम्झौता गर्ने कार्य भएको बताउनुभयो । अन्य तीन दिन उहाँहरूलाई योजनाको सम्झौताका लागि उपभोक्ता समिति दर्ता देखि अन्य आवश्यक कागजात तयार गर्न लागेको थियो । उहाँ सहित समितिका चार जना सदस्यहरू योजना सम्झौता कै लागि सदरमुकाम सिमकोटमा आई पुग्नु भएको हो । उक्त योजना नौ लाख रुपियाँको रहेको छ । 

त्यसै गरी लिमीकै हल्जी गाउँको खानेपानीको मुहान घेरवार योजनाको उपभोक्ता समितिका अध्यक्ष ख्याण्डाप तामाङले लिमीबाट सदरमुकाम सिमकोट पुगेर योजनाको सम्झौता गर्ने कार्य भएको बताउनुभयो । उहाँको समितिबाट तीन जनाको टोलीले लिमीबाट सिमकोट आई पुग्न साँढे तीन दिन लगाएको थियो । योजना भने दश लाखको रहेको छ । उहाँले विकास गर्न पनि लिमीका स्थानीयलाई कठिन भएको बताउँदै यसका लागि गाउँमै प्राविधिक पुगेर योजनाको सम्झौता गर्ने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले एउटा योजनाको सम्झौता गर्न दश दिन खर्चनु पर्ने अवस्था लिमीवासीलाई रहेको बताउनुभयो । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमीवासीलाई योजना निर्माणका लागि सदरमुकाम सिमकोट र गाउँपालिका केन्द्र याल्वाङ पुग्नु पर्ने बाध्यता रहेको बताउनुभयो । 

उहाँले यसबाट उपभोक्ता समितिलाई भौतिक कष्टका साथै आर्थिक रूपमा समेत भार पर्ने गरेको बताउनुभयो । यस वर्ष लिमीका लागि गाउँपालिकाबाट चार वटा योजना तर्जुमा भएका छन् भने अन्य कार्यालयका योजनाहरु पनि रहेका छन् । यी सबै योजनाको निर्माणको लागि लिमीका उपभोक्ता समितिले पाँच हजार मिटर अग्लो न्यालु लेकको हिउँ पार गरेर आउनु पर्नेछ । यो क्रम लिमीका बासिन्दाका लागि बर्सेनि जारी रहेको छ । अब भने हिमपात भए चैत्र भन्दा अगाडी लिमीका स्थानीय लिमी बाहिर आउजाउ गर्न सकिने छैन ।