• ७ वैशाख २०८१, शुक्रबार

एसियन पेन्ट्स र आर्भिकलाई जरिवाना

जफत रङ नष्ट गर्न ढिलाइ

blog

काठमाडौँ, मङ्सिर १६ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कात्तिकको दोस्रो साता जफत गरेको ठूलो परिणामको ‘एसियन पेन्ट्स’ अहिलेसम्म नष्ट गर्न सकेको छैन । 

विभागले वातावरण विभाग र महानगरको अनुमति लिएर मात्रै नष्ट गर्नुपर्ने र अनुमति लिने प्रक्रियागत ढिलाइले गर्दा जफत गरेको पेन्ट्स एक महिनासम्म पनि नष्ट गर्न नसकेको स्वीकार गरेको छ । विभागका अनुसार म्याद गुज्रेका र रिलेबलिङ गरेका एक करोड आठ लाख ८० हजार रुपियाँ बराबरका रङ जफत गरी नियन्त्रणमा लिएको थियो ।  

विभागको अनुगमन टोलीले काठमाडौँ, सतुङ्गलस्थित एसियन पेन्ट्सको गोदामबाट म्याद गुज्रेका चार हजार ९६३ थान र रिलेबलिङ गरेका दुई हजार ६०९ थान एसियन ब्रान्डका पेन्ट्स फेला पारी जफत गरी नियन्त्रण लिएको हो । 

विभागका अनुसार म्याद गुज्रेका चार हजार ९६३ थानको मूल्य ८२ लाख ५५ हजार ५४५ रुपियाँ र रिलेबलिङ गरेका दुई हजार ६०९ थानको मूल्य २६ लाख २४ हजार ९३७ रुपियाँ गरी कुल एक करोड आठ लाख ८० हजार रुपियाँको रङ जफत गरी नियन्त्रणमा लिएको थियो ।  

विभागका निर्देशक होमनाथ भट्टराईले म्याद गुज्रेका वा रिलेबलिङ गरेका एसियन पेन्ट्सको अनुसन्धान गर्दा एसियन पेन्ट्सको कम्पनीसँग अर्को आर्भिक इन्टरनेसनल नामक कम्पनीसमेत मिलेर त्यस्तो कैफियत गरेको पाइएपछि जरिवाना गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएको व्यवस्थाअनुसार एसियन पेन्ट्स र आर्भिक कम्पनीलाई तीन/तीन लाख रुपियाँ जरिवाना गरियो । विभागले जफत गरेको पेन्ट्स नष्ट गर्दा लाग्ने खर्च निज कम्पनीबाट भराउने गरी हाललाई जरिवाना गरेर छोडिएको जनाएको छ ।

जफत गरेर विभागको परिसरमा राखिएका पेन्ट्सलाई नष्ट गर्न वातावरण विभागबाट अनुमति लिएर काठमाडौँ महानगरको सहयोग चाहिने भएकाले ढिला भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “पेन्ट्स नष्ट गर्नका लागि काठमाडौँ महानगरमा पत्रचार गरेका छौँ । जवाफ कुरेर बसेका छौँ, आएको छैन ।” 

महानगरले उचित ठाउँ र सुरक्षाकर्मी उपलब्ध गराएमा जफत गरेको पेन्ट्स तुरुन्तै नष्ट हुने निर्देशक भट्टराईको भनाइ छ । उहाँका अनुसार नष्ट गर्नुपर्ने दुई गाडी वस्तु ओगटेर राख्नुपर्दा हामीलाई पनि समस्या भएको छ । 

एसियन ब्रान्ड पेन्ट्स बहुराष्ट्रिय कम्पनी हो । विभागले यसअघि नै देशभरका ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी यस्ता म्याद गुज्रेका पेन्ट्स भएमा जफत गरी नियन्त्रणमा लिन निर्देशन दिएको तर अहिलेसम्म जिल्लाबाहिरबाट म्याद नाघेका र रिलेबलिङ गरेका पेन्ट्स फेला परेको खबर नपाएको विभागका निर्देशक भट्टराईले जानकारी दिनुभयो ।