• १३ असोज २०८१, आइतबार

मलेसियाका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस

राजा अब्दुल्लाहको सगरमाथा हेर्ने चाहना

blog

मलेसियाका लागि नेपाली राजदूत पौडेल मलेसियाका राजासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नु हुँदै । तस्बिर : मलेसियास्थित नेपाली राजदूतावास

 क्वालालम्पुर, मंसिर १५ गते । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । 

बिहिबार क्वालालम्पुरस्थित राजदरबारमा आयोजित विशेष समारोहमा राजा सुल्तान अब्दुल्लाह समक्ष राजदूत पौडेलले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो । 

कार्यक्रममा राजा सुल्तान अब्दुल्लाहले मलेसियाका लागि राजदूत नियुक्त हुनुभएकोमा पौडेललाई बधाई दिनुभएको थियो । 

ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजा सुल्तान अब्दुल्लाहसँग पौडेलले नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी गर्नुभएको थियो । 

सो अवसरमा द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितकाबारेमा छलफल भएको थियो । राजदूत पौडेलले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउन आफु लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा राजदूत पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश व्यक्त गर्नुभयो ।  राजदूत पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति भण्डारीको तर्फबाट नेपाल भ्रमणको निमन्त्रणा गर्नुभयो । 

राजा सुल्तान अब्दुल्लाहले विश्वको सर्वोच्च शिखर सगरमाथा अवलोकनका लागि नेपाल भ्रमण गर्ने आफ्नो इच्छा रहेको बताउनुभयो । सो अवसरमा मलेलिया र नेपालमा हालै भएको आम निर्वाचनबारे समेत कुराकानी भएको जानकारी मलेसियास्थित नेपाली राजदूतावासले दिएको छ ।